आज राष्ट्रिय एकता दिवस मनाइँदै, सार्वजनिक बिदा

विशेष समाचार समाचार

न्यूज अपडेट  संवाददाता

काठमाडाैं, २७ पुस

प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास छ ।

इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ ।

यसैबीच पृथ्वीजयन्तीको अवसरमा गोरखाबाट काठमाडौं आएको एकीकरण पदयात्रासहितको ¥यालीलाई आज हनुमानढोकास्थित शार्दूल जंग गणले बाजागाजासहित नगर परिक्रमा गराउँदैछ । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *