सुरुङमार्गको प्राबिधिक अध्ययनमा प्रदेश सरकार

अर्थ/वाणिज्य विशेष समाचार समाचार

हेटौंडा, २४ फागुन


निजी क्षेत्रले निर्माण गर्ने भनेर लामो समयदेखि अलपत्र पारेको भीमफेदी–कुलेखानी सुरुङमार्गको प्राबिधिक अध्ययन गर्न प्रदेश सरकारले टोली परिचालन गरेको छ । नेपाल पूर्बाधार विकास कम्पनी लि. ले निर्माण गर्ने भन्दै होल्ड गरेको सुरुङमार्गको डीपीआर तयार गर्ने क्रममा प्रदेश सरकारले काम सुरु गरेको हो । सम्भाब्यता अध्ययन गरी डीपीआरको काम गरिने बताइएको छ ।
पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणस्थल पुगेर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । बागमती प्रदेशको गौरवको योजना हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामको बारेमा जानकारी लिन मन्त्री फुँयाल निर्माणस्थल पुगेका हुन् ।
सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्वार भीमफेदीको कोलडाँडा पुगेर मन्त्री फुयालले प्राविधिक अध्ययन गरिरहेको टोलीसँग कामका बारेमा जानकारी लिएका छन् । टोलीका इन्जिनियरिङ भूगर्भशास्त्री इश्वर दाहालले मन्त्री फुयाललाई सुरुङमार्गको डीपीआर तयार गर्नको लागि भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराए । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको पहिलो चरणको ५० प्रतिशत प्राविधिक अध्ययन सकिएको जानकारी दिए ।
करिब दुई महिनाभित्र सुरुङमार्गको डीपीआरको सर्भे सम्पन्न हुने जानकारी दिंदै भूगर्भशास्त्री दाहालले टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको बताए । सुरुङमार्गको प्राविधिक अध्ययनको लागि ४५ जनाको टोली कार्यस्थलमा खटिएका छन् । १० जनाले डिजाइनिङ, २० जनाले सोयल इन्भेष्टीगेशन, ५ जनाले टापोग्राफिक सर्वे, ५ जनाले जियोफिजिकल सर्वे र ५ जनाले ड्रोन सर्वे गर्ने काममा खटिएको भूगर्भशास्त्री दाहालले बताए ।
प्राविधिक अध्ययन सकिएलगत्तै प्रदेश सरकारलाई डीपीआर रिपोर्ट बुझाउने भूगर्भशास्त्री दाहालले बताए । प्राविधिक टोलीले जमिनबाट ५० मिटरभित्र ‘भर्टिकल’ सर्वे सकाएको बताइएको छ । प्रारम्भिक सर्वेबाट सुरुङ सुरक्षित रहने निश्चित देखिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय किलोमिटर सुरुङ निर्माण हुनेछ । सुरुङमार्गको चौढाई ११ मिटरको हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
दुई लेनको सडक रहने सुरुङमार्गभित्र पेट्रोलियमपदार्थ, ग्यास, खानेपानीको पाईपलाईन समेत रहने बताइएको छ । आपत्तकालीन अवस्थामा सवारी पार्किङ गरी राख्न छुट्टै लेन निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ । बागमती प्रदेश सरकारले २०७७ बैशाखभित्रै सुरुङमार्गको ग्लोबल टेण्डर आह्वान गर्ने गरी काम अगाडि बढाएको बताउँदै आएको छ । सुरुङमार्ग बन्नेमा विश्वस्त हुन प्रदेश सरकारले आग्रह गरेको छ ।
यो प्रदेशकै गौरव योजना भएकोले कुनै हालतमा प्रदेश सरकारले सुरुङमार्ग बनाएर छाड्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । अवलोकनका क्रममा संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला विकास समितिका पूर्बसभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *