भर्चुअल प्रक्रियाबाट भक्तपुर काण्ड र समसामयिक विषयबारे प्रशिक्षण

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १८ भदौ


नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा बुधवार भर्चुअल प्रक्रियाबाट भक्तपुर काण्ड र समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम भएको छ ।

कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.नारायणमान विजुक्छेँ(रोहित)ले जसले बढी प्रशंसा गर्छ, उसँग सतर्क रहनुपर्ने बताए । उनले विभिन्न लोभलालच देखाएर मजदुर किसानका छोराछोरीहरुलाई भड्काएर शत्रुले बिगारिराखेको जिकिर गरे । भक्तपुर काण्डमा नेपाली भाषा नजाँदा नबुझ्दा र शत्रुमित्र नचिँदा पार्टी कार्यकर्ताहरुले दुःख पाएको उनले प्रष्ट्याए । साथै उनले वर्तमान अवस्थामा विद्यार्थीहरु औपचारिक शिक्षा पुगेर पनि देशविदेशको वास्तविक राजनीतिक परिदृश्य नबुझेकाले जनताको सेवाभन्दा विदेशीको सेवा गर्नपुगेको बताए । पार्टीका लागि मर्न मार्न तयार भएका व्यक्तिको खाँचो औल्याउँदै उनले अनावश्यक भोज भतेर र मोजमस्तीलाई कम गरी देश र जनताको सेवाका निम्ति निरन्तर लागिरहनुपर्ने बताए ।

दुःखको बेला सहयोग गर्ने मात्रै आफ्नो सच्चा साथी हुने औल्याउँदै उनले भक्तपुर काण्डमा पुरुषहरु जेलमा बस्दा पनि परिवारको समस्यालाई बुझेर सहयोग गर्नेहरु वास्तविक मित्र भएको बताए । साथै उनले पूजा पाठ मात्र गरेर त्यसभित्रको राजनीति नबुझ्ने हो भने त्यसको कुनै अर्थ नभएको बताउँदै राजनीति पनि जनताको सेवा गर्ने हो, धर्म नै भएको बताए ।

कार्यक्रममा भक्तपुर काण्डको स्मरण गर्दै त्यसबेलाको आफ्नो अनुभव सुनाउँदै नेपाल क्रान्तिकारी महिला संघका सीता प्रजापतिले विगतको कुराबाट नयाँ पुस्ताका मान्छेले धेरै कुरा सिक्नुपर्ने बताइन् । त्यस्तै सभापतिको आसनबाट आयोजक समितिका अध्यक्ष नारायण बहादुर दुवालले भक्तपुर काण्डको स्मरण गरे । कार्यक्रममा उपेन्द्र सुवालले पनि भक्तपुर काण्डबारे आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *