समाजवाद हुँदै साम्यवाद पुग्ने नेमकिपाको लक्ष्य

राजनीति विशेष समाचार समाचार

बिगोल

भक्तपुर, १० माघ

मार्क्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादको लागि जनताको सङ्गठन विस्तार गर्ने पार्टीको लक्ष्य हो । सामन्तवाद, पुँजीवाद, फासीवाद, संशोधनवाद, अराजकतावाद, नवउदारवाद, विस्तारवाद र साम्राज्यवादजस्ता स्वदेशी विदेशी प्रतिक्रियावादीहरूविरुद्ध सर्वहारा अन्तर्राष्ट्रवादी विचारलाई आत्मसात गरेर आन्दोलन र सङ्घर्षमार्फत जनताको प्रजातन्त्र स्थापना गर्नु नेमकिपाको तत्कालको उद्देश्य हो । जनतालाई राजनीतिक, वैचारिक, सैद्धान्तिकरूपले सचेत र सङ्गठित गरी देशका मुख्य मुख्य उत्पादनका साधन र सेवा सामाजिकीकरण गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्नु पार्टीको दीर्घकालीन लक्ष्य हो ।
देशका मजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, उद्योगी, पत्रकार, पेशाकर्मी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, श्रमजीवी वर्गको हक हितको निम्ति लड्ने पार्टीको उद्देश्य हो । विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेका देश र जनताको पक्षमा ऐक्यबद्धता जनाउने, साथ र सहयोग गर्ने पनि पार्टीको उद्देश्य हो । बाँकी रहेको सामन्त्तवादका अवशेष र पुँजीवादी व्यवस्थालाई फाल्न देशको कुना काप्चामा समाजवादी प्रचार अभियान गर्नु पनि पार्टीको उद्देश्य हो ।

मार्क्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई देशको परिस्थितिअनुसार लागु गर्न मजदुर, किसान तथा श्रमजीवी वर्गको आन्दोलनलाई अगाडि बढाउनु प्रत्येक कम्युनिस्ट नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको कर्तव्य हो । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्टको सिद्धान्त र विचार उल्लङ्घन गरे या तोडफोड गरे त्यसलाई खबरदारी गर्ने या आलोचना गरेर सच्याउने, पार्टीको सिद्धान्त र विचारको नाउँमा पार्टीको बदनाम गर्ने, वर्ग शत्रुलाई खुसी पार्ने कामको निन्दा, भर्त्सना र विरोध गर्नु प्रत्येक कम्युनिस्ट पार्टीका सदस्यहरूको काम हो । पार्टी अनुशासनमा रहेर काम गर्ने, काम गर्न जनतामाझ पुग्ने, जातीय र क्षेत्रीय राजनीति छोडेर वर्गीय राजनीति गर्ने, वर्ग समन्वय होइन वर्गसङ्घर्षको भावना जनतामाझ पुर्‍याउने काम पार्टी सदस्यहरूको कर्तव्यभित्र पर्दछ ।

निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने, देश र जनताप्रति समर्पित भएर काम गर्ने, शोषित पीडित जनताको आन्दोलन र सङ्घर्षमा ऐक्यबद्धता जनाउने, साथ र समर्थन गर्ने काम पनि प्रत्येक कम्युनिस्ट पार्टी सदस्यको जिम्मेवारी हो । अन्धविश्वास, कुरीति, कुसंस्कार अन्त्य गर्ने सुधारमूलक कार्यक्रम गर्ने, रचनात्मक कार्यक्रम गरेर विकृति र विसङ्गति अन्त्य गर्न प्रचारात्मक अभियान सञ्चालन गर्ने, जनताको सांस्कृतिक स्तर उठाउन नागरिक भावना जगाउनु पनि पार्टी सदस्यहरूको कर्तव्य हो । जातीय, क्षेत्रीय राजनीति र साम्प्रदायिक भावनालाई हतोत्साही पार्ने, पदअनुसार आचरण गर्ने, उच्च विचार र साधारण जीवनलाई आत्मसात गर्ने, उच्छृङ्खल क्रियाकलाप र हो हल्ला रोक्ने र समाजको लागि उदाहरणीय काम गरेर सबैको समानयोग्य, कदरयोग्य बन्ने र बनाउने काम पनि पार्टी सदस्यहरूको कर्तव्यभित्र पर्दछ ।

पार्टीको विधानमा उल्लेखित यी र यस्तै अन्य जल्दोबल्दो देश र जनताको समस्या निराकण गर्ने काममा प्रत्येक पार्टी सदस्यहरूले पार्टी स्थापनाको अवसरमा समीक्षा गर्नुपर्ने देखिन्छ । सङ्गठन विस्तार गर्न, नयाँ ठाउँमा नयाँ सङ्गठन बनाउन, सङ्गठनका पुराना या अग्रज कार्यकर्ताहरूको सम्मान गर्दै पहिलेको अनुभवबाट शिक्षा लिएर अघि बढ्नु पनि कार्यकर्ताको कर्तव्य हो । नयाँ पुस्तामाझ सङ्गठन गर्नुको साथै अग्रजहरूबाट सिक्ने, अनुभव लिने र उनीहरूलाई पनि जागरुक बनाइराख्न या निरास हुनबाट जोगाउने गतिविधिहरू गरिरहनुपर्छ ।

खोटो सिद्धान्त र विचारको खण्डन गरेर जनतालाई सुसूचित पार्नु पनि कम्युनिस्ट सदस्यको जिम्मेवारी हो । गलत काम, गलत विचार र गलत प्रवृतिको विरोध गर्ने, सो सच्याउन खबरदारी या आलोचना गर्ने र आफ्नो कमी कमजोरी सच्याएर अघि बढेमा पार्टी चलाउन सजिलो हुन्छ । यसले पार्टी र पार्टी सदस्यहरूको हित गर्छ । यसले देश र जनताको फाइदा गर्छ । विशाल हृदयका, दूरदर्शी, योग्य, सक्षम, अनुशासित, देशभक्त, शिष्ट व्यवहार गर्ने पार्टी सदस्यप्रति पार्टीको मात्र होइन सर्वसाधारण जनताको पनि त्यतिकै आस्था र विश्वास हुन्छ । विश्वास जगाउनुपर्छ । त्यस्ता पार्टी सदस्यहरू पार्टीको पुँजीमात्र होइन देशकै पुँजी हुन्छ, जनताको पुँजी हुन्छ । त्यस्ता कार्यकर्ताहरू जनताका प्रिय बन्छन् र पछि पछिसम्म जनतामाझ स्मरणीय भइरहनेछ । समग्रमा देश र जनताको सेवा गर्न, देश र जनताको सेवा गर्ने सरकार बनाउन नै नेमकिपा २०३१ माघ १० गते स्थापना भएको हो । नेमकिपाको स्थापना दिवसको सन्दर्भमा हरेक पार्टी सदस्यले पार्टीको निर्देशक सिद्धान्त, पार्टीको लक्ष्य र पार्टी सदस्यहरूको काम र कर्तव्यबारे थाहा पाउनैपर्छ । हरेक पार्टी सदस्यले आफ्नो कर्तव्य या जिम्मेवारीबारे सुझबुझ हुनुपर्छ ।

स्राोतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *