
काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ।
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।
निषेधाज्ञाको असरस्वरुप कोरोना संक्रमण दर केही कम भएपनि अपेक्षित नतिजा नआएको भन्दै पुनः जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले जानकारी दिए।
थपिएको अवधिमा निषेधका प्रावधानहरु थप कडाइका साथ लागू गरिने जनाइएको छ। अब बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ।
तर, अब किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका ती अधिकारीले जानकारी दिए।