सङ्घर्षका ४८ वर्ष

राजनीति विशेष समाचार समाचार

करभिका

भक्तपुर, १० माघ

४८ वर्ष अर्थात् झन्डै आधा शताब्दी । व्यक्तिको जीवनमा आधा शताब्दी लामो अवधि भए पनि इतिहासमा यो त्यत्ति लामो समय होइन । तथापि, ४८ वर्षमा इतिहास र समयले पनि धेरै आरोह–अवरोह, सफलता–असफलताको सामना गरिसकेको हुन्छ । एक जना व्यक्तिको जीवनलाई नियाल्दा एक जना व्यक्ति ४८ वर्षको हुँदा उसले जीवनका धेरै रङ देखिसकेको हुन्छ, धेरै थरी रस चाखिसकेको हुन्छ । शिशु अवस्थाको अबोधपनादेखि किशोरवयको उत्सुकता र युवावस्थाको जाँगर हुँदै बिस्तारै प्रौढताको उकालो उक्लिंँदै गरेको हुन्छ, एक जना ४८ वर्षको व्यक्तिले । उसले सामाजिक र प्राकृतिक रीतिअनुसार पनि धेरै चरण पार गरिसकेको हुन्छ । व्यक्तिलाई छोडेर नेपाली राजनीतिक इतिहासलाई नै फर्केर हेर्दा पनि बितेका ४८ वर्षमा देशले धेरै रङ देखिसकेको छ, धेरै राजनीतिक रस चाखिसकेको छ । पञ्चायतकालीन निर्दलीयता, राजनीतिमा राजतन्त्रको हालिमुहालीदेखि बहुदलीय प्रजातन्त्र हुँदै सशस्त्र गृहयुद्ध र गणतन्त्रसम्मको राजनीतिक यात्रा कम उथलपुथलमय होइन । परिवर्तनशीलता प्रकृति, राजनीतिक समाज, सामाजिक व्यवस्था, मानिसको जीवन सबैको अपरिहार्य र शाश्वत नियम हो । सबै कुरा परिवर्तन हुने नियमबाहेक सबै कुरा परिवर्तनशील हुन्छ भन्ने त चर्चित भनाइ नै छ । परिवर्तन नभएपछि कुनै पनि कुरा विनाशतिर जान्छ भन्ने नियम बुझ्न धेरै विद्वान् बन्नुपर्दैन ।

आज माघ १० गते । नेपाल मजदुर किसान पार्टीले हरेक वर्ष माघ १० मा स्थापना दिवस मनाउँदै आएको छ । माघ १० वरपर नेमकिपाका सबै तहका नेता, कार्यकर्ता र समर्थकहरू पार्टी गतिविधिमा अझ व्यस्त हुन्छन् । जरा तहका सङ्गठनदेखि केन्द्रीय तहसम्म, जनवर्गीय सङ्गठनदेखि पेशागत क्षेत्रसम्म, सबै पार्टी स्थापना दिवसमा केही न केही गर्न अग्रसर हुन्छन् । नेता–कार्यकर्ताहरू पार्टीका प्रकाशन र विचार बोकेर जनताको घरदैलो र चोटा बैठक–भेलामा पुगेका हुन्छन् । नेमकिपाका सङ्गठन भएका ठाउँमा पार्टी समर्थकहरू भेला हुन्छन् र समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गर्छन्, कक्षा सञ्चालन हुन्छ । नेमकिपाको सङ्गठन भएको ठाउँमा पार्टी कार्यकर्ताले त्यहाँका जनतालाई नेमकिपाको इतिहास, सिद्धान्त, कार्यक्रम र विचारबारे सुनाउँछन्, अन्तरक्रिया गर्छन् । अनि, यही बेला पार्टी संरचनामा नभएका, फरक राजनीतिक विचारका बुद्धिजीवीहरूबीच पार्टीका प्रकाशनमाथि अन्तरक्रिया र बहस हुन्छन् । त्यस्ता अन्तरक्रिया खासमा पार्टीलाई बाहिरबाट हेर्ने कोणको परख गर्ने मेलो बन्छ । मानिसले आफ्नो अनुहार हेर्न ऐना हेरेजस्तै फरक विचारप्रति आस्था राख्ने बुद्धिजीवीहरूसँगको अन्तरक्रियाले नेमकिपालाई समाजको सोच्ने तप्काले कसरी हेर्दै छ भन्ने कुरा बुझ्ने मेसो बन्छ । कोरोना महामारीले अहिले त्यसरी भेटेरै सुन्ने र बहस गर्ने समय छैन । तर, प्रविधिले विकल्प दिएको छ । त्यही विकल्पको प्रयोग गरी स्थापना दिवस मनाउने क्रम रोकिएको छैन ।

हो, ४८ वर्ष लामो समय पक्कै होइन । तर, यिनै ४८ वर्षमा नेमकिपाले धेरै विषयमा, धेरै कोण र अर्थमा धेरै थरी सङ्घर्ष गरिसकेको छ । आलोचना वा विरोधमा मात्र सीमित छैन, नेमकिपाको राजनीति । बोल्नुलाई नै आफ्नो कर्तव्य पूरा भएको बुझाइ नेमकिपाले पालेको छैन । बरु नेमकिपा सिद्धान्तलाई जनतासँग एकाकार गर्न पनि जान्दछ । ‘ठुला’, ‘मूलधार’ भनाउँदाले लछारपाटो लगाउन नसकेको परिवर्तन नेमकिपाले आफ्नै खुट्टामा उभिएर गरेर देखाएको छ ।

४८ वर्षअघि नेपालको कम्युनिस्ट आन्दोलन जुन अवस्थामा थियो, आजको परिस्थिति निकै फरक भइसकेको छ । ४८ वर्षअघि कम्युनिस्ट पार्टीमात्र होइनन्, अन्य राजनीतिक दल र समूह पनि प्रतिबन्धित अवस्थामा थिए । कोही प्रवासमा बसेर, कोही देशभित्र भूमिगत भएर, कोही जनताको घर चोटामा बसेर पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक सङ्घर्ष गरिरहेका थिए । लेनिनको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्तिले जग हालेको सोभियत समाजवाद संशोधनवादको दलदलमा फसिसकेको थियो । सोभियत सङ्घको संशोधनवादी नेतृत्वले सोभियत समाजवादलाई नै साम्राज्यवादको बाटोमा डोर्‍याइरहेको थियो । साम्राज्यवादविरुद्ध लड्दै बनेको समाजवाद नै साम्राज्यवादी बनेपछि फसाद ¤ त्यसको प्रभाव नेपालमा पनि पर्नु स्वाभाविक हो । डा. केशरजङ रायमाझी नेतृत्वको कम्युनिस्ट पार्टी त्यही सोभियत संशोधनवादको मतियार बनेका थिए । संशोधनवादको समर्थन गरेर उसले गरेको सैद्धान्तिक गल्तीको अन्तिम परिणाम भनेका पञ्चायती व्यवस्थाको समर्थनमा गएर टुङ्गियो । कम्युनिस्ट पार्टीको नेतृत्व नै निरङ्कुश राजतन्त्रको मतियार बन्यो ।

ग्रीस साहित्यमा एउटा अचम्मको मिथक छ – फिनिक्स चराको । त्यो मिथकीय चरा जलेर मर्छ र खरानीबाट नयाँ जीवन पाउँछ । हँसिया र हथौडा बोकेर राजदरबारमा पसेका डा. माझीले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी र परिवर्तनकामी धारलाई भुत्ते बनाउन खोजे । तर, त्यही खरानीबाट क्रान्तिकारी धारको जन्म भयो । कम्युनिस्ट आन्दोलनलाई परिवर्तनकारी बाटोमा डो¥याउने समर्पित कार्यकर्ताहरू जन्म भयो । उनीहरूले हँसिया–हथौडाको क्रान्तिकारी झन्डालाई अझ अघि बढाए ।


हेगेलको द्वन्द्ववादमा एउटा नियम छ – निषेधको निषेध । यो नियमबारे व्याख्या गर्ने व्याख्याताहरू यसबारे व्यवहारिक उदाहरण दिंदै भन्छन् – किसानले आलु रोप्दा आलुको टुक्रा जमिनमा गाड्छ । आलु फल्दा गाडेको त्यो आलुको टुक्रा कुहिसकेको हुन्छ । तर, नयाँ आलु फलेको हुन्छ । परिवर्तनशीलता र प्रगतिशीलताको यो नियम राजनीतिक र समाज व्यवस्थामा पनि लागु हुन्छ । खासमा मार्क्सले हेगेलका यी दार्शनिक सिद्धान्तलाई समाज विकासको सन्दर्भमा लागु गरेर ‘दुई खुट्टा’ ले टेक्ने बनाएका थिए । नेपालको तत्कालीन कम्युनिस्ट आन्दोलनमा पनि त्यही भयो । माझीको संशोधनवादविरुद्ध लडेको नेतृत्वमा पनि कम्युनिस्ट आन्दोलनलाई गतिरोधमा अल्झाउने ‘खोटा विचार’ अघि सारे । ती खोटा विचारले कम्युनिस्ट आन्दोलनलाई घुमाइफिराइ फेरि पनि माझीकै बाटोमा डोर्‍याउने थियो । वर्गसङ्घर्षको मूल आत्माको चिरहरण गरेर उनीहरू फेरि पनि वर्गशत्रुसँग ‘घाँटी जोड्ने’ बाटोमा लागेका थिए । किसान आन्दोलनको उभारमाथि चिसो पानी खन्याएर कम्युनिस्ट आन्दोलनलाई चिसो खरानी बनाउन खोजेका थिए ।
एकथरी मानिसहरू भारतको नक्सलवारीमा भएको सशस्त्र विद्रोहको अन्ध नक्कल गर्दै नेपालमा पनि व्यक्तिहत्याको हिंसात्मक राजनीतिलाई क्रान्तिको जलप लगाउन खोज्दै थिए । ‘वर्गशत्रुको रगतले हात रङ्ग्याउने’ नाममा उनीहरू ‘विरूपन’ पथमा लागेका थिए । त्यो बाटो नै क्रान्तिको बाटो भएजस्तो गरी उनीहरूलाई खास क्रान्तिलाई पछाडि धकेल्ने उद्यममा लागेका थिए । केही हजार बुद्धिजीवी र साक्षरता दर निकै कम भएको नेपालमा त्यो क्रान्तिको बाटो होइन है भन्ने पाइहाल्न मुस्किल थियो ।

समाजवादी रुसलाई संशोधनवादी भनेर बोल्ने कसले ? लेनिनजस्ता महान् नेताले जग बसालेको, स्तालिनजस्ता स्पातका मानिसले इँटा थपेको त्यो समाजवादलाई संशोधनवादी, साम्राज्यवादी भन्ने साहस कसको ? अझ सोभियत संशोधनवादको तर मार्दै गरेका कम्युनिस्ट पार्टीकै नेता कार्यकर्तामध्ये मस्कोतिर हेरेर आलोचनाको तीर चलाउने कसले ?

कम्युनिस्ट आन्दोलनभित्र कोही राजतन्त्रलाई वैरी ठान्दै थियो । कोही भारतीय विस्तारवादलाई शत्रु मान्दै थियो । एकै पटक दुई शत्रु हुनसक्छ र दुवैतिर लडाइँ लड्नुपर्छ भनेर बोलिदिने कसले ? किसान सङ्घर्षलाई निस्तेज बनाउनुहुन्न । अरूको बुइँमा बसेर गरिएको सङ्घर्ष दीगो हुँदैन । आफ्नै बलबुत्तामा गरिएको सङ्घर्षले मात्र बलियो बनाउने सङ्घर्षको विज्ञानको वकालत गर्ने कसले ? तर, यी कुराको वकालत नगर्दा कम्युनिस्ट आन्दोलन गम्भीर दीर्घरोगले थला पर्ने थियो । त्यसकारण, समयले त्यस्तो नेतृत्व जन्माउनु नै थियो, जसले यी सही विचारलाई बोकेर अगाडिको समर यात्रा थाल्ने साहस गर्छ । सैद्धान्तिक सङ्घर्षको काँडाघारीको यात्रा गर्ने नेतृत्व जन्मनु नै थियो । नभए कम्युनिस्ट आन्दोलनमा नेपालका किसान र मजदुरले बगाएको रगत, युवा–विद्यार्थीको बलिदान बाग्मतीमा बग्न सक्थ्यो ।

हो, यस्तै समयले जन्माएको थियो – नेपाल मजदुर किसान पार्टी । तत्कालीन कम्युनिस्ट आन्दोलनमा वैचारिक अन्योल र अस्पष्टता, स्खलन र विचलन उन्मुखता रोक्न २०३१ को मलिलो राजनीतिक माटोमा नेमकिपाको जन्म भएको थियो ।

‘लुई बोर्नापार्टको आठौँ बु्रमेर’ (१८५२) को भूमिकामा कार्ल माक्र्सले लेखेका छन्, “मानिसले आफ्नो इतिहास आफैले बनाउँछ । तर, मानिसले आफूखुसी इतिहास बनाउन पाउँदैन । मानिसले आफूले चाहेकै अवस्थामा इतिहास बनाउन पाउँदैन । बरु विद्यमान परिस्थिति र विगतको सिलसिला जोडिएको अवस्थामा आधारित भएरमात्र उसले त्यो काम गर्नसक्छ । बितिसकेको पुस्ताका सबै परम्परा जीवितहरूको दिमागमा अवशेष बनेर बसेकै हुन्छ ।”

नेमकिपाको स्थापना नेतृत्वले अवश्य गर्‍यो । तर, त्यो उनीहरूले ‘आफूखुसी’ चालेको कदम थिएन । बरु तत्कालीन परिस्थितिको जगमा पार्टी स्थापनाको निर्णय भएको थियो । अर्थात, कम्युनिस्ट आन्दोलन जोगाउने र नेपालमा समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यलाई सेलाउन नदिन इतिहासले दिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा नेमकिपाको स्थापना भयो । त्यो कुनै सत्तासुख वा नेतृत्वको भोक थिएन । बरु क्रान्तिप्रतिको उत्कट भावना हो, सिद्धान्त र आदर्शप्रतिको इमानदारिता थियो ।

समयसँगै राजनीतिका बान्की पनि बदलिंदै गयो–मानिसको जीवनमा जस्तै । नेमकिपासहित विभिन्न राजनीतिक दलको सङ्घर्ष र नेपाली जनताको जोडबलमा पञ्चायती व्यवस्था ढल्यो ।

पुँजीवादको जरा उखेल्न जन्मेको दलले पुँजीवादी प्रजातन्त्रकै हिस्साको रूपमा हुने चुनावमा भाग लिने वा नलिने प्रश्न नयाँ थिएन । पञ्चायतकालमा पनि कम्युनिस्ट आन्दोलनमा यो विषयमा गहन विमर्श भएको थियो । नेमकिपा स्पष्ट थियो – क्रान्तिकारी परिस्थिति तयार नहुँदासम्म पुँजीवादी व्यवस्थाभित्रै गएर पनि पुँजीवादको जरा काट्ने हो । सन् १९०५ को क्रान्तिपछि लेनिनहरूले केही वर्ष चुनाव बहिष्कारको नीति लिए । तर, क्रान्तिकारी परिस्थिति उस्तै रहेन । क्रान्तिकारी परिस्थिति नहुँदै चुनावको बहिष्कार गल्ती भयो । जनताको पार्टी जनताबाट अलग भयो । त्यही भएर वोल्शेविकहरू ‘क्रान्तिको तयारी गर्न’ संसद्को चुनावमा सहभागी बने । नेमकिपाले त्यही सिद्धान्त अनुशरण ग¥यो र पञ्चायतकालमा परिवर्तनको परिस्थिति नबन्दासम्म पञ्चायती निकायभित्रै गएर पनि जनताको पक्षमा लडे । बहुदलीय व्यवस्था स्थापनापछि बहुदलीय प्रजातन्त्रभित्रै गएर पनि ‘क्रान्तिको तयार’ गर्नु थियो । संसद्को चुनावमा भाग लियो । तर, पुँजीवादी संसद्वादको विरोध ग¥यो । क्रान्तिकारी संसद्वादको पक्षमा लड्यो । पुँजीवादी संसद्भित्र गएर समाजवादी क्रान्ति तयारी गर्ने विचार नै क्रान्तिकारी संसद्वाद हो ।

संसद् नेमकिपाको लागि सत्तामा जाने भ¥याङ होइन । नेमकिपाको लागि सडक र संसद्मा कुनै अन्तर छैन, दुवै सङ्घर्षको मैदान । संसद् कानुनमा बसेर लड्ने रणभूमि हो भने सडक कानुनबाहिर गएर पनि लड्ने लडाइँको मैदान । पुँजीवादी व्यवस्थामा जनताका सबै माग कानुनभित्र बसेर मात्र पूरा गर्न सम्भव हुँदैन । कतिबेला कानुनमाथि टेकेर पनि पुँजीवादमाथि प्रहार गर्नुपर्ने हुन्छ । नेमकिपाले दुवै मोर्चालाई समान महत्व दिँदै आएको छ । देशको हित र श्रमिक जनताको मुक्तिको लागि, साम्राज्यवादले संसारको कुनै पनि कुनाका श्रमिक जनतालाई दिएको दुःखको विरोध र विस्तारवादले देशको सार्वभौमिकता र भूमिमाथि गरेको थिचोमिचोको विरोधमा नेमकिपाले सडकमा जति खरो लडाइँ लडेको छ, संसद्भित्र पनि उत्तिकै चर्को सङ्घर्ष गरेको छ ।

बहुदलीय प्रजातन्त्रमा आएर देशले हँसिया हथौडा अङ्कित झन्डा बोकेको अर्को एउटा ‘काङ्ग्रेस पार्टी’ पायो । कम्युनिस्ट नाम बोकेको एमाले नामको दलले नेपालमा कम्युनिस्ट को हो र होइन ? भन्ने अन्योल जन्मायो । कामले काङ्ग्रेस तर नामले कम्युनिस्ट एमालेजस्तो दलको कारण जनताबीच कम्युनिस्ट पार्टीबारे धेरै भ्रम छर्‍यो । कम्युनिस्ट आन्दोलनको यो रोगको चिरफार गर्ने नैतिक साहस र जिम्मेवारी पनि नेमकिपाको काँधमा थियो । ‘जबज’ को नाममा कम्युनिस्ट आन्दोलनमा भ्रष्टीकरणविरुद्ध नेमकिपाले नै लड्यो, त्यसको मूल्य चाहे जतिसुकै होस् ।

इतिहासको त्यही कालखण्डमा माओवादी विद्रोह सुरु भयो । क्रान्तिको नाममा भएको त्यो उग्रवामपन्थ अराजकतावादी विचलन थियो । संसारको कम्युनिस्ट इतिहासले त्यस्ता विद्रोह या त निरर्थक बलिदानमा समाप्त भएको र नभए दक्षिणपन्थ बिसर्जनमा टुङ्गिएको छ । नेमकिपालाई रतिभर शङ्का थिएन । माओवादीको बन्दुकसामु ‘ठुला र बलिया’ भनिएकाहरू भागाभाग भए । तर, नेमकिपाले माओवादको नाममा सुरु भएको अराजकताको विरोधमा जनताबीच बसेर लडिरह्यो । चर्को मूल्य चुकाएर पनि नेमकिपाले आफ्नो अडानबाट पछि हटेन । नेमकिपाले माओवादी विद्रोहबारे लिएको अडान समयले आज पुस्टि गरेको छ । माओवादी आन्दोलन आज कहाँ छ, नेपाली जनतालाई थाहा छ ।

एमाले आज कहाँ छ, नेपाली जनतालाई थाहा छ । काङ्ग्रेसले देशलाई कुन रसातलमा पुर्‍यायो, नेपाली जनता साक्षी छन् । खासमा ती हरेक पुस्ट्याइँ नेमकिपाको सैद्धान्तिक र वैचारिक विशिष्टताका प्रमाण हुन् । समयले बारम्बार नेमकिपाको वैचारिक विशिष्टता प्रमाणित गर्दै आएको छ । यसले नेमकिपा स्थापनाका ४८ वर्षका हरेक वर्ष र कदमलाई थप विशिष्ट बनाएको छ । नेपालको आधा शताब्दीको इतिहासमा नेमकिपालाई एकक्षणलाई ‘माइनस’ गर्ने हो भने कुल योगफलमा ठुलो अन्तर आउनेछ । विचलनलाई विचलन भन्ने शक्ति हुने थिएन, नेमकिपा नभएको भए । देशघातलाई देशघात भन्ने दल हुने थिएन, नेमकिपा नभएको भए । हिंसालाई नै क्रान्तिको भ्रम पालेर बस्ने थियो, नेमकिपा नभएको भए । संसद्मा भाग लिनु संसद्वादी हुनु भन्ने राजनीतिक अपरिपक्वता पालेर बस्ने थियो नेपाली राजनीति, नेमकिपा नभएको भए । ‘महामानव’–‘जननेता’हरूका खुस्केका तुना देखाइदिने शक्ति हुने थिएन, नेमकिपा नभएको भए । यस्ता धेरै ‘नभएको भए’ छन्, ४८ वर्षको इतिहास पल्टाएर हेर्ने हो भने ।

हो, ४८ वर्ष लामो समय पक्कै होइन । तर, यिनै ४८ वर्षमा नेमकिपाले धेरै विषयमा, धेरै कोण र अर्थमा धेरै थरी सङ्घर्ष गरिसकेको छ । आलोचना वा विरोधमा मात्र सीमित छैन, नेमकिपाको राजनीति । बोल्नुलाई नै आफ्नो कर्तव्य पूरा भएको बुझाइ नेमकिपाले पालेको छैन । बरु नेमकिपा सिद्धान्तलाई जनतासँग एकाकार गर्न पनि जान्दछ । ‘ठुला’, ‘मूलधार’ भनाउँदाले लछारपाटो लगाउन नसकेको परिवर्तन नेमकिपाले आफ्नै खुट्टामा उभिएर गरेर देखाएको छ ।

रोम एक रातमा बनेको थिएन । नेमकिपा पनि एकै रात बनेको थिएन । नेमकिपालाई नेमकिपा बनाउन कैयौँ इमानदार मानिसको निधारमा पसिना खलखलती झरेको छ, कैयौँ कार्यकर्ताको रगत बगेको छ । जीवनका अमूल्य समय सिचेर हजारौँ हजार योद्धाहरूले नेमकिपा बनेको हो । वैचारिक स्पष्टता, सिद्धान्तको लागि सम्झौता सङ्घर्षको आलोकमा नेमकिपाको यात्रा अझ उज्यालो बन्दै गएको छ । सङ्घर्षको ४८ वर्ष गुलाबले ओछ्याएको बाटोको यात्रा थिएन – तरबारको धार र काँडाघारीको यात्रा थियो । यो यात्रामा अथक र अनवरत लागेका नेमकिपाका नेता, कार्यकर्ता र समर्थकले कहिल्यै पनि पार्टीको कारण शिर झुकाउनुपरेको छैन, जनतासामु ।

४८ वर्षको नेमकिपाको यात्राको योभन्दा ठुलो उपलब्धि के हुनसक्छ र !
                     (सन्दर्भः ४८ औँ नेमकिपा स्थापना दिवस)

स्रोतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *