शुभदीप बचतको चौधौं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

 संस्था स्थापना दिवसकाे अवसरमा फागुन २१ गते रक्तदान कार्यक्रम

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ पुस

तस्विरः प्रेम प्रजापति

भक्तपुर देगईनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको चौधौ वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रम्हायणी पीठमा सम्पन्न भयो ।
प्रमुख अतिथि एवं शिक्षासेवी ज्ञानसागर प्रजापतिले उद्घाटन गरेको उक्त कार्यक्रममा अरुले नगरेको काम यस संस्थाले गरी समुदाय र समाजको हितमा विविध क्रियाकलाप गरेमा संस्था अघि बढ्ने बताए । उनले हामी र हाम्रो सामुदायिक भावना बचाए पैसाले गर्नेभन्दा ठूलो काम हुने बताउँदै निहित स्वार्थका निम्ति गरिने एमसीसी नामक अमेरिकी सहयोगले हाम्रो स्वाभिमान गुम्ने औल्याए । यस संस्थाले बचत र ऋण कारोवार मात्र नगरी सामाजिक सामुदायिक रुपमा समाजलाई अगाडि बढाउन संकलित पैसाको परिचालन गर्न सकिने उनले स्पष्ट पारे । विभिन्न देशका मानिसहरुले वागीश्वरी मा.वि.लाई सहयोग गर्ने नाउँमा आफ्नो नियन्त्रणमा लिन खोजेको भन्दै उनले सत्तासिन पार्टीका नेताहरु विदेशीको चाकरी गरेकै कारण देशको स्वाभिमान खतरामा परेको संकेत गरे । संस्थाको विकास, प्रगति र दीर्घकालसम्म स्थिर हुन संस्थाले सदस्यता वृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने अन्यथा सरकारले ल्याउने विभिन्न नीतिका कारण संस्था अरुसँग गाभिन बाध्य हुनुपर्ने बताए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि काजीबहादुर पंचले स्थानीय निकायमा दर्ता नगरी चलाएका बहुउद्देश्यीय सहकारी संस्थाबाट सचेत हुन सुझाव दिँदै उनले समुदायमा आधारित सहकारी संस्था भएकै कारण समुदायबीच हरेक हिसाव विवरण पारदर्शी गरिएको बताए । संघले विभिन्न सहकारीका लागि आवश्यक ऋण प्रदान गरिरहेको र विभिन्न तालिम दिइरहेको जानकारी दिए ।

संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सचिव ज्ञानेन्द्र प्रसाद मगजूद्वारा प्रस्तुत आ.व. २०७७।०७८ को सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष कमल व्याञ्जूद्वारा प्रस्तुत आ.व. २०७७।०७८ को कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक राजकुमार प्रजापतिले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८।०७९ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण र विधान संशोधन तथा नीतिगत प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।

आ.व. २०७७।०७८ मा संस्थाको बचत संकलन तथा निक्षेप १ करोड ८४ लाख ७३ हजार ६ सय २१ रुपैयाँ रहेको उक्त संस्थामा ऋण लगानी १ करोड ५७ लाख १५ हजार रुपैयाँ रहेको संस्थाले जानकारी दिएको छ । साथै संस्था स्थापना दिवसको अवसरमा फागुन २१ गते कार्यालय परिसरमा खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा श्रीजना प्रजापति, राजेश्वर गाईजूलगायतले बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *