विपन्न परिवारलाई बीउ पूँजी

समाचार

बलेवा, १८ मङ्सिर


विपन्न परिवारको जीवनस्तर सुधारका लागि यहाँको एक गाउँपालिकाले पशुपक्षीको बीउ पूँजी उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ ।

बागलुङको ताराखोला गाउँपालिकाले अति विपन्न, एकल महिला तथा द्वन्द्वपीडित परिवारका सदस्यको लागि बीउ पूँजीको रुपमा पशुपक्षी निःशुल्क उपलब्ध गराउने भएको हो । गाउँपालिकाले पशु सेवा शाखामार्फत यसवर्ष रु १५ लाख बराबरको बीउ पूँजी किसानलाई उपलब्ध गराउने पशु सेवा शाखाका प्रमुख होमबहादुर थापा मगरले जानकारी दिए।

‘‘हामीले किसानसँग निवेदन माग गरेका छौं, निवेदनका आधारमा अनुगमन गरेर विपन्न भएको प्रमाणित भएमा बीउ पूँजीको व्यवस्था गाउँपालिकाले गर्नेछ’’ थापाले भने ।

विपन्न किसानलाई प्रतिपरिवार एक÷एकवटाका दरले पशु चौपाया उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाले चार समूहमा विभाजन गरेर निःशुल्क बीउ पूँजी पशुपक्षी वितरण गर्ने जनाएको छ । गरीब तथा विपन्न किसानलाई स्थानीय र उन्नत जातका गाई, भैसीपालन र कोरली पालनका लागि बीउ पूँजी उपलव्ध गराइने छ ।

गोठ सुधार गर्न चाहनेको लागि समेत अनुदान उपलब्ध गराइने छ । तीनजना सहभागी हुन पाउने यस कार्यक्रमको लागि आफैँ लगानी गर्न नसक्ने र अनुदानमा आएको पशु चौपायबाट उत्पादन गर्नसक्ने योजना बनाएका किसानलाई मात्र यो कार्यक्रममा सहभागी गराइने थापाले बताए।

त्यस्तै १० जनाका किसानलाई स्थानीय तथा उन्नत जातका बाख्रापालनका लागि बीउ पूँजी उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ । स्थानीय जातका कुखुरा संरक्षण गर्दै आयमूलक हिसाबले उन्नत जातका कुखुरापालन गर्ने किसानलाई पनि बीउ पूँजी उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ ।

गरीब तथा विपन्न किसानलाई सहयोग गर्ने कार्यक्रमअन्तर्गत २० जना किसानले कुखुरापालनको लागि बीउ पूँजी पाउने थापाले जानकारी दिए। गरीब तथा अति गरीब विपन्न परिवारका किसानका लागि स्थानीय जातका बाख्रापालन गर्न १० जना र स्थानीय तथा उन्नत जातका कुखुरापालन गर्न १२ जनालाई बीउ पूँजी उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ ।

एकल महिलालाई आयआर्जनसँग जोडेर जीवन गुजारा गर्ने माध्यम बनाउनका लागि भन्दै १५ जनालाई भेडाबाख्रापालन र १५ जनालाई कुखुरापालनको लागि बीउ पूँजी उपलब्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जनाकारी दिए ।

गाउँपालिकाले द्वन्द्वपीडितलाई पनि समावेश गरेर बीउँ पूँजी वितरणको कार्यक्रम बनाएको छ । द्वन्द्वपीडित परिवारका २० जना किसानलाई भेडा बाख्रापालन र २० जना किसानलाई कुखुरा पालनको लागि बीउ पूँजी अनुदान उपलव्ध गराइने घर्तीले बताए। यो वर्ष पशु तथा पशुपक्षीपालनका लागि १२५ जना किसान लाभान्वित हुने गरी कार्यक्रम तयार पारिएको घर्तीले बताए।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफू विपन्न भएको प्रमाण र पशु तथा पक्षीपालन गरेर आर्थिक उन्नति गर्ने योजनासहित अनुदानका लागि निवेदन माग गरेको छ । बीउ पूँजीको रुपमा उपलब्ध गराइएका पशुपक्षीको औषधि उपचार गाउँपालिकाले गर्ने जनाएको छ ।

किसानले उत्पादनमूलक हिसाबले पालेका पशुपक्षीमा कुनै रोगको सङ्क्रमण भए गाउँपालिकाको प्राविधिक टोलीले निःशुल्क उपचार गर्ने शाखा प्रमुख थापाले बताए । पहिलो चरणमा शुरु गर्न थालिएको बीउ पूँजी वितरण कार्यक्रमलाई सफल बनाउनका लागि गाउँपालिकाले किसानलाई आग्रह समेत गरेको छ ।

बजारमा भाउअनुसार पशुपक्षी खरीद गर्न नसकेका कारण व्यावसायिक पशुपक्षी पालन गर्न नसकेका किसानलाई आकर्षित गर्दै व्यावसायिक उत्पादनमा प्रेरित गर्न कार्यक्रम शुरु गरिएको अध्यक्ष घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *