घ्याम्पेडाँडामा बागीश्वरी मावि र बागीश्वरी कलेज परिवारको भेटघाट

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ पुस

भक्तपुर नगरपालिकाका प्रमुख एवम् बागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बागीश्वरी मावि र बागीश्वरी कलेज परिवारको भेटघाट कार्यक्रम शनिबार घ्याम्पेडाँडाँमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको निर्देशनअनुरुप भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालित ख्वप सर्कलले आज देशकै नमुना कलेजको स्थान पाएको र उत्कृष्ट विद्यार्थी उत्पादन गर्न सफल भएको बताए ।


भक्तपुरका जनप्रतिनिधि र जनताबीचको एकता तथा नेमकिपाको सिद्धान्त र व्यवहारमा एकरुपता भएकै कारण भक्तपुरले शैक्षिक विकासमा सफलता हासिल गरेको बताउँदै प्रमुख प्रजापतिले नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयले हासिल गरेको सफलता प्रशंसनीय रहेको बताए ।
बागीश्वरीको प्रगति र उन्नतिबाट नयाँ पुस्ता र सिंगो समाज लाभान्वित भएको बताउँदै उनले योग्य र सक्षम नेतृत्वका कारण बागीश्वरीले आज सिंगो नगरलाई नै शैक्षिक केन्द्रको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
सामुदायिक संस्था राम्रा र स्तरीय भए जनताका छोराछोरीले पनि गुणस्तरीय शिक्षा पाउने थिए, उनले भन्ने, बागीश्वरी मावि र कलेज आज सिंगो समाजलाई ज्ञान दिने थलोको रुपमा विकास भइरहेको छ ।

वर्तमान राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दै प्रमुख प्रजापतिले देशको राजनीति संकटपूर्ण अवस्थामा रहेको बताउँदै शासक दलले अहिले पनि भारतको दलाली गरेकै कारण देश आर्थिक, राजनीतिक, सामाजिक रुपमा पछाडि परिरहेको औल्याए ।
कार्यक्रमका विशेष अतिथि नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले विगत सात दशकदेखि अनवरत रुपमा जनस्तरबाट निर्मित बागीश्वरी कलेज नेपालकै नमुना कलेजको रुपमा विकास भइरहनु देशकै लागि गौरवको विषय भएको बताए ।
कलेजले हासिल गरेको प्रगति र उन्नतिसँगै थप चुनौतीहरु पनि थपिँदै जाने बताउँदै सांसद गोसाइँले उन्नत समाजको निर्माण गर्न बागीश्वरीले आगामी दिनहरुमा जनताको माग र आवश्यकताअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सांसद गोसाइँले बागमती प्रदेश लथालिङ अवस्थामा रहेको चित्रण गर्दै गलत ढंगबाट निर्वाचित भएर आज जनप्रतिनिधिले जनताको हित र सेवालाई भन्दा पद र व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर काम गर्नेबारे प्रष्ट पारे ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाबाट सञ्चालित विविध गतिविधिहरुबारे अवगत गराउँदै भक्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन बागीश्वरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । ख्वप विश्वविद्यालय स्थापना गर्न यहाँका शैक्षिक संस्थाहरु अझ सबल बनाउँदै लानुपर्ने आवश्यकता रहेको बताउँदै भक्तपुरको ख्वप मोडल आज देशभरि चर्चाको विषय बनेको बताए ।
कार्यक्रमका सभापति एवम् बागीश्वरी मावि सञ्चालक समितिका अध्यक्ष रबिन्द्र ज्याख्वले बागीश्वरी कलेज स्थापनादेखि यहाँका अग्रजहरुले खेल्नुभएको भूमिका उल्लेखनीय रहेको बताउँदै स्थानीय जनताको अपनत्व भएकै कारण शैक्षिक विकासमा टेवा पुगेको बताए । बागीश्वरीले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै समाजप्रति उत्तरदायी हुन प्रेरित गरिरहेको र सकारात्मक प्रतिस्पर्धामा विद्यार्थीहरुलाई हौसला पनि दिँदै आएको बताए ।


बागीश्वरी माविका पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले बागीश्वरीले विद्यार्थीहरुको माग र आवश्यकताअनुरुप नयाँ नयाँ विषयको सम्बन्धत लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै कलेजले प्राविधिक शिक्षा सञ्चालनको लागि आवश्यक तयारीमा पनि जुटिरहेको विचार राखे ।
सोही कार्यक्रममा बागीश्वरी मावि र कलेजका संयोजक ज्ञानसागर प्रजापति, बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र सहायक प्रअ कृष्णप्रसाद कर्माचार्यले पनि कलेज स्थापनाको उद्देश्य र वर्तमान अवस्थाबारे आफ्नो धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *