देशघाती एमसीसी सम्झौता खारेज गराउन देशभर खबरदारी जुलुस तथा विरोध सभा

राजनीति विशेष समाचार समाचार

न्यू ज अपडेट संवाददाता

काठमाडाैं, १७ पुस

नेपाल मजदुर किसान पार्टीले शुक्रबार देशघाती एमसीसी सम्झौता खारेज गराउन राजधानी काठमाडौँमा जुलुस प्रदर्शन तथा सभा गरी सङ्घीय संसद घेराउ तथा देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्‍याे ।
सङ्घीय संसद घेराउ गर्न नेमकिपाले काठमाडौंको माइतीघर, पुरानो बानेश्वर र कोटेश्वर गरी तीन स्थानबाट छुट्टाछुट्टै जुलुस प्रदर्शन गरी जनसभा सम्पन्न गरेको हो ।

विरोध जुलुसमा सहभागी धिमे बाजा टोली

माइतीघरबाट सुरु भएको जुलुस बानेश्वरको एभरेस्ट होटलअगाडि पुगेर सभामा परिणत भएको थियो । सभामा नेमकिपाका सचिव एवं सङ्घीय प्रतिनिधिसभा सदस्य प्रेम सुवालले एमसीसी सम्झौता गम्भीरतापूर्वक अध्ययन गर्ने हो भने जो कसैले पनि सम्झौता देशघाती रहेको देख्ने बताउँदै एमसीसी सम्झौताका दफा ४.२, ६.८, ७.१ र अनुसूची ५ (क) को व्यवस्थाबाट यो सम्झौता देशघाती सावित हुन्छ भने।
अमेरिकी रक्षा विभागको दस्तावेज र अमेरिकी अधिकारीहरूको भनाइले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन बनाउन सहयोग गर्ने निकाय एमसीसी नै भएको पुष्टि हुने चर्चा गर्दै उहाँले प्रम देउवाले एमसीसी सम्झौतामा ‘राष्ट्रघात कहीँ छैन’ भन्नु झूटा हो भने ।
उनले अगाडि भने, “अमेरिकाले एसियाका दुई ठूला देश भारत र चीनलाई युद्ध गराउने र त्यही बहानामा हतियार बेच्ने नै एमसीसी सम्झौता हो । यो सम्झौता लागु भए अमेरिकी र भारतीय सेना चारैतिरबाट नेपाल पस्नेछन् । अमेरिकी सेना कमान्डरको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरी सञ्चालित हुनुपर्नेछ । यो सम्झौता सुरु गर्ने र समर्थन गर्नेहरू सबै देशघाती र देशद्रोही नै हुन् ।”
एमसीसी सम्झौता खारेज नभएसम्म नेपाली जनतासँग मिलेर नेमकिपाले सङ्घर्ष चालु राख्ने चेतावनी दिँदै केन्द्रीय सचिव सुवालले भने, पुस ४ गतेको सर्वदलीय बैठकमा प्रम देउवाले अर्कै कागज देखाएर ‘खोइ कहाँ छ देशघात ?’ भनी प्रश्न गरेको हुँदा प्रम देउवाले नै यो सम्झौता गहिराइसम्म अध्ययन नगरेको पुस्टि गर्छ । शासक दल र तिनका नेताहरूले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सहयोगमा निर्वाचन जित्ने र सिंहदरबार कब्जा गर्ने काम अब छोड्नु जरुरी छ । पटक–पटक सिंहदरबार कब्जा गरेका ती दलहरूले राणा र पञ्चायती शैलीमा जनतालाई शोषण गर्दै छन् ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले एमसीसी सम्झौताले देशको विकासमा कुनै सहयोग नपुग्ने बरू त्यसले देशको सार्वभौमिकता गुम्ने र नेपाल संरा अमेरिका र भारतको मातहत रहन जाने स्पष्ट पारे ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सृजना सैंजूले नेपालको बिजुुली भारत हुँदै सिङ्गापुरसम्म लैजाने एमसीसी सम्झौता नेपाललाई अँध्यारोमा राख्ने र भारतको महँगो ग्यास नेपाल भित्र्याएर व्यापार घाटा बढाउने नै भएको प्रस्ट पार्दै नेपाललाई अमेरिकाको नवउपनिवेश बनाउने र भारतको प्रदेशजस्तो बनाउने सम्झौता भएकाे बताए।
सभामा नेक्राविसङ्घका केन्द्रीय सहसंयोजक सुरेश परियारले देशघाती एमसीसी सम्झौता कुनै हालतमा पनि संसदबाट पारित गर्न नहुने बताउँदै युवा–विद्यार्थीहरूले सम्झौताविरुद्धको आन्दोलनलाई निरन्तर अगाडि बढाउने बताए ।
जुलुस सुरु गर्नु अगाडि माइतीघरमा भएको कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनले सांसदहरूलाई एमसीसी सम्झौता राम्ररी अध्ययन गर्न आग्रह गर्दै देशको सार्वभौमिकताको विरुद्धमा रहेको सम्झौता पारित गर्न नहुने र सर्तसहितको अमेरिकी सहायता फिर्ता पठाउनुपर्नेमा जोड दिए ।
पानी ट्याङ्की, बानेश्वर
काठमाडौँको पुरानो बानेश्वरबाट सुरु भएको हजारौँ देशभक्त जनता सम्मिलित जुलुस बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि पुगेर सभामा परिणत भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपालले कुनै पनि मित्रराष्ट्रबाट अनेकौं अनुदान सहयोग प्राप्त गरेको तर ती कुनै पनि सहायता लिन संसदबाट सम्झौता पारित गर्न आवश्यक नभएको उल्लेख गर्दै आपत्तिजनक बुँदासहितको सम्झौता पारित गर्नुपर्ने प्रावधानले यो सम्झौतामा अमेरिकी सरकारको स्वार्थ लुकेको प्रस्ट पारे ।
नेपालको लागि पाँच वर्षमा ५५ अर्ब रूपैयाँको बजेट ठूलो नभएको चर्चा गर्दै उनले त्यति रकम प्राप्त गर्न देशको सार्वभौमिकता संरा अमेरिका र भारतलाई बुझाउनुपर्ने प्रावधान कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य नहुने स्पष्ट पारे।
अहिले स्वार्थवस एमसीसी सम्झौता मैले गरेर आएको र मैले सुरुवात गरेको भनी जस लिन तम्सिरहेका नेताहरूको नाम कालो इतिहासमा अङ्कित हुने बताउँदै जनताले देशघाती नेताहरूलाई राम्ररी चिन्नुपर्ने उहाँले औँल्याए ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको लागि सधैँ अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै आएको चर्चा गर्दै शासक दलहरूको राष्ट्रघातकै कारण देश पछौटेपन र सङ्कटको अवस्थामा रहिरहेको बताए ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले एमसीसी सम्झौता संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीति कार्यान्वयन गर्न अघि बढाइएको र सम्झौता पारित गरेपछि नेपाल अमेरिकी सैनिक सङ्गठनमा संलग्न भएको सावित हुने बताए ।
कार्यक्रममा नेमकिपाका मिनबहादुर बाटा र मीना डङ्गोलले पनि देशघाती एमसीसी सम्झौताबारे चर्चा गरेको थियो ।
जुलुस सुरु हु्नुअघिको कोणसभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य राजवीर डङ्गोलले संरा अमेरिका र पश्चिमा साम्राज्यवादीहरूले तेस्रो विश्वयुद्ध एसियामा केन्द्रित गर्ने नियतले नै समाजवादी देश चीनलाई घेराबन्दी गर्न खोजिरहेको र अमेरिकी सेना नेपालमा रहनसक्ने प्रावधानसहितको एमसीसी सम्झौता त्यही कुत्सित नियतका लागि भएको बताए।
मीनभवन
संसद् भवनको पूर्वतिर आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एमसीसी सम्झौता नेपालमा नयाँ उपनिवेशको जालो फिजाउने षड्यन्त्र भएको हुँदा देशभक्त जनताको साथ र सहयोगमा सङ्घर्ष गरिरहेको बताए।
साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारतको गठजोडबाट नेपाललाई उपनिवेश बनाउने खालको कुनै सर्त र सम्झौता देशभक्त नेपाली जनताको निम्ति स्वीकार्य नहुने औँल्याउँदै उनले भने, “विगतमा सत्तारुढ दलकै अदूरदर्शिता र गैरजिम्मेवारीका कारण नेपालको नदीनाला गुम्यो, अहिले देशको अखण्डता र सम्प्रभुतामै खतरामा पर्ने सम्भावना छ ।”
श्रीलङ्का र अफ्रिकी मुलुकले झैँ नेपालले पनि समयमै बुद्धि पु¥याएर एमसीसी सम्झौता खारेज गर्न सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले एमसीसी र अन्य सन्धि सम्झौता खारेज नभएसम्म आन्दोलनले निरन्तरता पाउने बताए ।

????????????????????????????????????

नेमकिपाका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले अमेरिकी सरकारलाई खुसी पार्न देशभक्तिपूर्ण आन्दोलन दबाउने सरकारको निन्दा गर्दै देशले देशघाती शासक र नेताहरूको रगत र बलिदान मागिरहेको बताए ।
देशघाती शासक र नेताहरूले एमसीसी सम्झौताको यथार्थ लुकाउने र भ्रम फैलाउने कार्य गरिरहेको चर्चा गर्दै उनले साम्राज्यवादी अमेरिकी प्रशासनले संसारका विभिन्न मुलुकमा अशान्ति मच्चाइरहेको, स्वाधीनता र सार्वभौम देशमा आक्रमण गरेर ध्वंसात्मक गतिविधि गरिरहेको बताए ।
अमेरिका एसियाका दुई ठूला देश भारत र चीनलाई युद्धमा फसाएर हतियार बेच्न चाहन्छ, शान्ति, प्रजातन्त्र र स्वतन्त्रताको बखान गरेर हतियार निर्यात गर्ने मुलुक अमेरिका हो, उनले भने।
देशघाती शासक र नेताहरूलाई जनतामाझ उदाङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउँदै उनले एमसीसी सम्झौताबाट पाउने पैसामात्र होइन सम्झौतामा हस्ताक्षर गर्ने र समर्थन गर्ने शासक र नेताहरूलाई पनि फिर्ता लानुपर्नेमा जोड दिए ।
देशमा देशघाती र देशभक्त को को छन्, अहिले छानबिन गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, “देश सभ्य नागरिकले चलाउने हो, मनस्थिति ठीक नभएकाले होइन ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं सभाका सभापति कृष्णकुमार वैद्यले नेपालको संविधान र कानुन निस्तेज पार्न एमसीसी सम्झौताको विरोधमा नेमकिपाले सदन र सडकमा सङ्घर्ष गरिरहेको बताए ।
नेपाल सरकारले पेश गर्ने योजनामा भारत सरकारको समर्थन लिनुपर्ने सर्त राख्नु नेपाललाई भारतको प्रदेशजस्तो ठान्नु हो, यो योजना अमेरिकी सैन्य सङ्गठनअन्तर्गत रहेको कुरा अमेरिकी अधिकारीहरूले नै भनिरहेका छन्, उनले भने।
देशी विदेशी शक्तिहरू लागेर एमसीसी सम्झौता पारित गर्न लागेकै कारण सरकार र सांसदहरूलाई खबरदारी गर्न सभाको आयोजना गरेको उल्लेख गर्दै उनले सार्वभौमिकतामा आँच पुर्‍याउने खालको सन्धि सम्झौता गर्ने दल देशभक्त हुनैसक्दैन भने ।

????????????????????????????????????

सो सभामा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले देशघाती एमसीसी सम्झौता खारेज गराउन नेमकिपाले काठमाडौँस्थित राजदूतावासमार्फत तत्कालीन अमेरिकी राष्ट्रपतिलाई विरोध पत्र बुझाएको प्रसङ्ग उल्लेख गर्दै एमसीसी सम्झौताविरुद्ध नेपालका ३३ भन्दा बढी जिल्लाका ८५ भन्दा बढी ठाउँमा आन्दोलन गरेर जनतालाई सुसूचित र सरकारलाई खबरदारी गरेको बताए ।
नेकाका शेरबहादुर देउवाले नेपाललाई दीर्घकालीन असर पार्ने खालको एमसीसी सम्झौता गरेर नेपालमा विदेशी सेना पस्ने जाल बुनिरहेको उनले बताए ।
जुलुस सुरु हुनुअघि कोटेश्वरमा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले एमसीसी सम्झौता सार्वजनिक भएलगत्तै नेमकिपाले सोको विरोधमा आन्दोलन थालेको बताए।
नेपाली भूमिको माया गर्ने कुनै पनि नेपाली नागरिकले एमसीसी सम्झौतालाई कहिल्यै आत्मसात गर्न नसक्ने विचार व्यक्त गर्दै उनले यो सम्झौताको विरोधमा सम्पूर्ण देशभक्त जनताको ऐक्यबद्धता आवश्यक भएकाे  बताए ।
उनले भने, “सम्झौताबाट पाउने रकम जति अरबको भए पनि देशको सार्वभौमिकतासित कुनै देशको सहयोग तुलना हुनसक्दैन । यो सम्झौता पारित भएमा भारतीय र अमेरिकी सेना नेपाल पस्ने बाटो खुल्नेछ ।”
नेक्राविसङ्घका पूर्वअध्यक्ष सविन ख्याजुले खबरदारी जुलुस र सभाको औचित्यबारे प्रकाश पारे ।

जुलुसमा देशघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीका मतियारहरू खबरदार, सरकार र सांसदहरू होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, अमेरिकी सैन्य गठबन्धन चाहिँदैन, एसियालाई युद्धभूमि बनाउन दिँदैनौँ, भारतीय विस्तारवाद मुर्दावाद, सम्पूर्ण देशभक्त जनता एक होऔँ, नेपाल मजदुर किसान पार्टी जिन्दावाद आदि नारा लगाइएको थियो ।

कालीकोट
एमसीसी सम्झौताको विरोधमा नेमकिपा कालीकोट जिल्ला समितिको आयोजनामा शुक्रबार सदरमुकाम मान्म बजारमा विरोध प्रदर्शन र सभा भयो । मान्म बजारको जिरोप्वाइन्टबाट सुरु भएको जुलुस प्रतिमाचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले एमसीसी सम्झौतामार्फत नेपाललाई संरा अमेरिकी साम्राज्यवादको कठपुतली बनाउन नेपालकै शासक दलहरू लागिपरेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई मुर्ख बनाउन खोजेको भन्दै उनले देशको प्रधानमन्त्री हुँदैमा सबै प्रधानमन्त्रीले देशको हित सोच्छ भन्ने कुरा गलत भएको बताए ।
“सिक्किममा प्रधानमन्त्री लेन्डुप डोर्जेले देश नै बेचेका थिए । यो इतिहासबाट नेपाली जनताले सिक्न जरुरी छ”, शाहीले भने।


“एमसीसी सम्झौतामा उल्लेखित विभिन्न प्रावधान, संरा अमेरिकी साम्राज्यवादले विभिन्न देशमा मच्चाएको युद्ध, विश्वमा अहिले सघन बन्दै गएको भूराजनीतिक प्रतिस्पर्धाको कारण यो सम्झौताले नेपालको हित गर्दैन”,केन्द्रीय सदस्य शाहीले भने।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले एमसीसी सम्झौताअन्तर्गत नै नेपालमा प्रजग कोरियाली व्यवसायीहरूको लगानीमाथि प्रतिबन्ध लगाइएको बताए । नेपालका बुद्धिजीवी र जानेबुझेका विद्वान्हरूले एमसीसी सम्झौताको समर्थनमा उभिएर देशको सार्वभौमिकतामा आँच पुर्‍याउने काम गरेको उनले बताए।
नेमकिपा कालीकोटका अध्यक्ष खड्गराज शाहीले एमसीसी सम्झौता कुनै पनि हालतमा पारित नगर्न नेपाली जनताले सांसद्हरूलाई खबरदारी गरिरहेको बताए ।
सभामा नेमकिपा कालीकोट जिल्ला समितिका सचिव धनञ्जय अधिकारीले पनि बोलेको थियो ।

कैलाली
देशघाती एमसीसी सम्झौताको विरोध गर्दै नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा जुलुस तथा विरोधसभा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले अमेरिकाले आफ्नो प्रभुत्व र हैकम कायम गर्न एमसीसीमार्फत नेपाललाई रणमैदान बनाउन खोजेको बताए ।
उनले भने, “रू. ५५ अर्बको स्वार्थ देखाएर संरा अमेरिकाले नेपालमा भएका प्राकृतिक स्रोत–साधन कब्जा गर्न खोजेको छ । नेपाललाई लिविया, इराक र अफगानिस्तानलाई जस्तै युद्ध मैदान बनाउन खोज्दै छ । एमसीसीले नेपालको सार्वभौमिकता गुम्ने खतरा भएकोले खारेज गर्नुपर्छ ।”

नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले एमसीसी सम्झौता देशघाती भएकोले सरकार र सांसदहरूलाई खबरदारी गर्नुपरेको बताए ।
एमसीसी साम्राज्यवादीहरूको सैन्य गठबन्धन भएको स्पष्ट पार्दै उनले भने, “संरा अमेरिका एसियामा युद्ध थोपर्न चाहन्छ, युद्ध भड्काएर हतियार व्यापार गर्ने उसको स्वार्थ हो ।”
किसानको धानबाली नोक्सान हुँदा वास्तविक पीडितको तथ्याङ्कमा नाम नहुनुले सरकार आसेपासेको दबदबामा रहेको प्रस्ट हुन्छ, उनले भने ।
कार्यक्रममा लक्ष्मी पुन, धनबहादुर थापामगर, गगनबहादुर थापामगर, जनक माझी र सविन पण्डितले पनि बोलेको थियो ।
लम्कीचुहाबाट सुरू भएको विरोध जुलुस लम्की चौराहामा पुगी सभामा परिणत भएको थियो ।

सप्तरी
देशघाती एमसीसी सम्झौता खारेज गराउन नेपाल क्रान्तिकारी किसान सङ्घ सप्तरी जिल्ला समितिले पनि खबरदारी जुलुस तथा सभाको आयोजना गर्‍यो ।
शिव मन्दिरबाट सुरू भएको जुलुस त्रिभुवन चोकमा पुगी सभामा परिणत भएको थियो ।
उक्त सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले यो सम्झौता नेपाल र नेपाली जनताको हितमा नभएको स्पष्ट पारे ।

एमसीसी सम्झौताको सहयोग सित्तैमा होइन नेपाललाई हिन्द प्रशान्त रणनीतिअन्तर्गत सैन्य गठबन्धनमा तान्ने षड्यन्त्र हो, यो नेपाललाई रणभूमि बनाउने खेल हो, उनले भने ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले प्रम देउवाले सम्झौताको सर्तबारे वास्ता नगरी पारित गराउनतर्फ लाग्नु भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादलाई खुसी पार्नु हो भने ।
सभामा सङ्घका केन्द्रीय सदस्य डिगम्बर यादवले पनि देशघाती सम्झौताको विरोधमा आम नेपाली जनता एकजुट हुनुपर्छ भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *