त्वचा पाटी, बाटोमा इँटा छपाइ र गरुडकुण्ड पर्खाल निर्माणको संयुक्त उद्घाटन

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ पुस

तस्विरः प्रेम प्रजापति

भक्तपुर नगरपालिकाको पूर्ण सहयोगमा निर्माण भएको त्वचा पाटी, बाटोमा इँटा छपाइ र गरुड कुण्डको पर्खाल निर्माणको संयुक्त रुपमा शनिवार उद्घाठन भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले हालसम्म पुनर्निर्माण भएका ११६ वटा सम्पदा उपभोक्ता समितिमार्फत बनिसकेको बताए । उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सदैव लागिरहने बताए । त्यसक्रममा जनताको सम्पत्तिको सुरक्षा र संरक्षण गर्न सरकारसँग निरन्तर संघर्ष गरिरहेको जानकारी दिए । उनले पुनर्निर्माण गर्दा पुरानो वस्तुको पनि प्रयोग भएमा कति वर्ष पुरानो हो भनी अनुसन्धान गर्न सजिलो हुने बताए । गरिव र निम्नवर्गको सेवा गर्नु नै पार्टीको मुख्य कर्तब्य भएकाले नेमकिपा देश र जनताको हितमा राजनीति गर्ने बताए । ठेकेदारी प्रणालीले हरेक निर्माणका वस्तु कमसल राखी नाफा बढी हेर्ने भएकाले हरेक सम्पदाको निर्माण भक्तपुरमा उपभोक्ता समितिमार्फत नै बनाइरहेको बताउँदै ठेक्का दिँदा बढी लागत लाग्ने, गुणस्तर कम हुने र स्थानीयबासीको अपनत्व कम हुने स्पष्ट पारे । अनियमित तरिकाले घर निर्माण गर्दा नियमानुसार जनतालाई नै जरिवाना गराउनुपर्ने भएकाले त्यसतर्फ आफै सचेत र सतर्क हुनुपर्ने उनको तर्क छ । जनताको सेवा गरेकै कारण नगरपालिकाको कामलाई सही मूल्यांकन जनताले गरेकै कारण ख्वप अस्पतालको अक्सिजन प्लान्ट तयार गर्न साढे ६ करोड रुपैयाँ जनसहयोग उठेको उनले स्पष्ट पारे । उनले शिक्षा, स्वास्थ्य, कला संस्कृतिलगायतका क्षेत्रमा भक्तपुर नमूना सावित भइरहेको यो अवस्थामा अन्य जिल्ला भ्रष्टाचार, कमिशनतन्त्रमा जकडिएको बताए ।
शिक्षासेवी एवं पूर्व वडाध्यक्ष ज्ञानसागर प्रजापतिले यस वडाका कालिगढहरु देशभर नै छरिरहेको र हरेक मठमन्दिर, पाटी, पौवालगायतका सम्पदा निर्माणमा ठूलो योगदान गरिरहेको बताए । उनले सरकारसँग उपभोक्ता समितिमार्फत नै विकास निर्माण गर्नुपर्ने भनी सैद्धान्तिक संघर्ष गरिरहेको बताए । साथै यहाँ भइरहने हरेक काम नेपाल मजदुर किसान पार्टीको समाजवादी नीति अनुसार नै भइरहेको स्पष्ट पारे ।

नेमकिपा, सूर्यमढी एकाइ समितिका अध्यक्ष दिलभक्त कोजूले पार्टीको चुनावी घोषणापत्रको ८० प्रतिशतभन्दा बढी काम उपभोक्ता समितिमार्फत नै भैसकेको बताए । उनले भक्तपुरमा विश्वविद्यालय स्थापना गरी १० लाख रुपैयाँमा डाक्टर पढाउन खोज्दा सत्तासिन पार्टीका नेताहरुको कलेजमा नाफा कमी हुने भनी स्वीकृति नदिएको स्पष्ट पारे । देश विकासको विपक्षमा सत्तारुढ दल रहेको स्पष्ट पार्दै उनले भ्रष्टाचारको मुख्य जरो पूँजीवादी पार्टी रहेको बताए ।

भक्तपुर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले निर्माण भएका सम्पदाको समीक्षात्मक विश्लेषण गरे । उनले सम्पदा जोगाउन सबै अघि बढ्नुपर्ने औल्याए ।
९ वडा अध्यक्ष एवं नेमकिपा, केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले सभापतिको आसनबाट बोल्दै भौतिक, आर्थिक, नैतिक रुपमा स्वयम्स्फूर्त रुपमा गरेको जनश्रमदानबाटै भक्तपुरका विभिन्न सम्पदाको निर्माण पूरा गरेको बताए । उनले १८ वर्ष उमेर पुगेका नेपालीले मताधिकार सुनिश्चित गर्न पुस १९ भित्रमा नाम दर्ता गराउनुपर्ने र १६ वर्ष पुगेकाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाई विवरण दिनुपर्ने बताए । वडाका विभिन्न गतिविधिबारे जानकारी गरिएको उक्त कार्यक्रममा उनले भएका स्रोतसाधनको सही सदुपयोग गर्नुपर्ने बताए ।
दिपेन्द्र प्रजापतिले सञ्चालन गरेको उक्त कार्यक्रममा तुल्सीराम प्रजापतिले स्वागत गरेको थियो ।

कार्यक्रममा त्वचा पाटी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष बाबुकाजी प्रजापतिले लागत इस्टमेट १४ लाख २२ हजार आठ सय ८६ रहेकोमा १४ लाख ५० हजार सात सय सन्ताउन्न रुपैयाँ खर्च भएको आयव्यय प्रस्तुत गरे । त्यस्तै त्वचादेखि सूर्यमढीसम्मको बाटोमा इँटा छपाई उपभोक्ता समितिका अध्यक्ष जित बहादुर खयरगोलीले १२ लाख १४ हजार नौ सय ३७ लागत रहेकोमा ५ लाख १५ हजार नौ सय तेइस रुपैयाँमा कार्य सम्पन्न गरेको बताए । त्यस्तै गरुडकुण्डल पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष भिम प्रसाद प्रजापतिले ५ लाख रुपैयामा ४ लाख ७ हजार रुपैयाँ मात्र खर्च भएको स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *