न्यूज अपडेट संवाददाता
काठमाडौं, १६ पुस

देशघाटी एमसीसीविरुद्ध पुस १६ गते काठमाडौंमा वृहत प्रदर्शनी
देशघाटी एमसीसी विरुद्ध नेपाल मजदुर किसान पार्टीको आयोजनामा पुस १६ गते शुक्रवार काठमाडौंमा वृहत प्रदर्शनी गर्ने जानकारी दिएको छ । उक्त कार्यक्रममा सम्पूर्ण देशभक्त नेपालीलाई देश बचाउन सहभागीताको लागि आह्वान गरेको छ ।
३३ जिल्लाका ८५ स्थानमा एमसीसी विरुद्ध जनचेतनामूलक अभियान चलाएका नेमकिपाले जब जब नेपालमा शासक दलहरुले देशघाटी सम्झौता गर्छ, तब देशभक्त जनतालाई त्यसविरुद्ध लाग्न संसद र सदनमार्फत आन्दोलन गर्दै आएको छ । एमसीसी विरुद्ध निरन्तर संघर्ष गरिरहेका नेमकिपाले सत्ता स्वार्थ र आर्थिक मामलामा बिकेका शासक दलहरुलाई खबरदारी गर्नका लागि हुने शुक्रबारको प्रदर्शनी देशभक्तिपूर्ण आन्दोलनको एउटा चरण भएको ठम्याउँदै नेपाली जनताको हकहित र देश बचाउने अभियानमा लागेको एउटै मात्र पार्टी नेपाल मजदुर किसान पार्टी रहेको स्पष्ट पारेको छ ।
उक्त प्रदर्शनीमा वृहत सहभागीताका लागि देशका विभिन्न स्थानमा बिहीबार भेला तथा सभाहरु भएका छन् । सोही क्रममा नेमकिपा सूर्यमढी एकाइ समितिको आयोजनामा भएको भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले समाजवादी व्यवस्थाले विश्वमा राम्रो प्रभाव पारेकै कारण चीन विरुद्ध गतिविधि गर्नकै लागि नेपालमा एमसीसी पारित गर्न खोजेको बताए । यसमा साथ दिनेहरु वास्तविक कम्युनिष्ट नहुने स्पष्ट पारे । उनले अमेरिकी स्वार्थ लुकेको एमसीसीमा कुनै पनि योजना सञ्चालन गर्न भारतसँग स्वीकृति लिनुपर्ने बनाएबाट नेपाल भारतको प्रान्तसावित गर्न खोजेको तर्क राखे । यसले नेपालको असंलग्न पराराष्ट्र नीति समेत खतरामा पर्ने, स्वतन्त्र र सार्वभौम अधिकार सम्पन्न नेपालको संविधान धरापमा पर्ने, चीन र भारतबीचको युद्धको रणभूमि बन्ने समेत उनले जिकीर गरे । नेपाली कांग्रेसले देश चलाउँदा प्रत्येक प्रधानमन्त्रीले देशघाटी सम्झौता गरेको स्पष्ट पार्दै उनले बीपी कोइरालाले गण्डक सम्झौता, मातृका प्रसाद कोइरालाले कोशी सम्झौता, गिरीजा प्रसाद कोइरालाले टनकपुर सम्झौता र शेर बहादुर देउवाले महाकाली सन्धी गरेको र अहिले फेरि एमसीसी सम्झौता गरी देश नै भारत र अमेरिकालाई हस्तान्तरण गर्न खोजेको बताए ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य रबीन्द्र ज्याख्वले एमसीसी हिन्द प्रशान्त सैन्य रणनीति अन्तर्गतको लगानी भएकोले चीनविरुद्ध नेपाललाई प्रयोग गर्न खोजेको जिकिर गरे । उनले नेपाली शासक दल र त्यसका नेताहरु पैसामा बिक्ने भएकाले त्यसको फाइदा लिँदै अमेरिकाले चीनलाई हरेक पक्षबाट कमजोर बनाउन नेपालको प्रयोग गर्न खोजेको आरोप लगाए । चीनलाई प्रत्यक्ष हमला गर्न अमेरिकाले वरपरका २१ स्थानमा सैन्य अखडा राखेको बताउँदै उनले हिजोसम्म एमसीसी विरुद्ध बोल्ने नेताहरुलाई आज पार्टीले ह्विप जारी गर्दा बोल्न नसकेको बताए । पुस १८ गतेको संसदको बैठकमा ह्विप लगाएरै भएपनि एमसीसी पास गर्नसक्ने कुरालाई ध्यानमा राखी गरिएको १६ गतेको आन्दोलन सशक्त पार्न बढीभन्दा बढी सहभागी हुन देशभक्त नेपालीलाई उनले आह्वान गरे । सरकार जहिले पनि निरंकुश नै हुने भएकाले सरकारका हरेक कदमप्रति जनता सचेत र संगठित हुनुपर्ने उनको तर्क छ । आयोजक समितिका अध्यक्ष दिलभक्त कोजूले आफू कम्युनिष्ट भएर एमसीसी पास गर्नु आत्महत्या सावित हुने भएकोले एमाले, माओवादी केन्द्र लगायतका पार्टी कम्युनिष्ट वा पूजीवादी पार्टी के हो ? यसबाट अग्निपरीक्षा लिने स्पष्ट पारे । उपाध्यक्ष काशिलाल प्रजापति, सचिव लक्ष्मी प्रसाद कुसी लगायतले १६ गतेको आन्दोलन सफल पार्न देशभक्त नेपालीको उपस्थिति अनिवार्य भएको स्पष्ट पारे ।
पुस १६ गते माइतीघर, पुरानो बानेश्वर र कोटेश्वरबाट दिउँसो १ बजे वृहत जुलुस गरी देशघाटी एमसीसी सम्झौता खारेज गराउन, सरकार र सांसदहरुलाई होशियारी गराउन संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको आयोजक पार्टीले जानकारी दिएको छ ।