सापारु औपचारिकतामा सीमित गरी मनाउन अनुरोध

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट, संवाददाता

भक्तपुर, ३ भदाै

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७८ सामान्य औपचारिकतामा सीमित गर्नेबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठक सम्पन्न भयो ।
बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोग काठमाडौं उपत्यकालगायत देशैभरी दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको संक्रमणको कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको वर्तमान विषम परिस्थितिमा समेत मृत्यु संस्कारको रुपमा ऐतिहासिक कालदेखि मनाउंदै आएको गाईजात्रा पर्व यस वर्ष २०७८ को सापारु र गाईजात्रा अवधिभर घिन्ताङ्घिसि र अन्य साँस्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा सीमित गरेर मनाउन दाफा भजन, साँस्कृतिक समूह, मृतक परिवारलगायत सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गर्ने निर्णय गर्याे ।
बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले कोभिड जोखिमका कारण नजिकिँदै गरेको सापारु पर्व र गुन्हीपुन्हीलाई शान्तिपूर्ण र सुरक्षित ढंगले औपचारिकतामा सीमित गर्न सरोकारवाला पक्ष, वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरूसँग चरणबद्ध रुपमा छलफलमा रहेको बताए ।
कोभिड नियन्त्रणको उपाय भनेकै खोप अभियान प्रभावकारी सञ्चालन गर्नु रहेको हुँदा भक्तपुर नपाले नगरका सबै वडाहरूमा व्यवस्थित ढंगले खोप अभियान सञ्चालन गरिरहेको बताए । साथै जनतालाई कोभिडबारे सचेतना जगाउन नियमित रुपमा माइकिङ, गाईजात्रा प्रदक्षिणा मार्गमा निर्माण सामाग्री हटाउन र सापारुको दिन भीड नहुने गरी पर्व मनाउन जनतालाई आग्रह गरिरहेको उनले बताए ।
भक्तपुर नपाले समाजलाई कोभिड संक्रमणबाट मुक्त गर्ने प्रयासरत रहेको बताउदै प्रमुख प्रजापतिले आफ्नो स्वास्थ्यको सुरक्षाको निम्ति जनता स्वयम् सजग हुनुपर्ने बताए ।
बैठकमा भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जनताको जीवनरक्षा नै पहिलो प्राथमिकतामा रहेको हुँदा कोभिड महामारीका कारण नजिकिँदै गरेको गाईजात्रा पर्व भीडभाड नहुने गरी औपचारिकतामा सीमित गरी मनाउनुपर्नेमा जोड दिए । नगरका विभिन्न ठाउँहरूमा हेल्थ डेस्क सञ्चालन, अडियो भिडियो मार्फत सचेतना अभिवृद्धि गर्ने, सम्भावित अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा टोली परिचालन आदि विषयलाई प्राथमिकतामा राखेको उनले बताए ।
गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले हाम्रो संस्कृति बचाउन जात्रालाई औपचारिकतामा सीमित गरी मनाउनु आजको आवश्यकता भएको बताए ।
बैठकमा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, काठमाडांै उपत्यका खानेपानी लि., नेपाल विद्युत प्राधिकरण, विभिन्न केबल नेटवर्कका प्रतिनिधि तथा अन्य निकायहरुले जात्रा अवधिभर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, खानेपानीको व्यवस्थापन गर्न, विद्युत कटौती नगर्न, अव्यवस्थित तार र केबुलहरूको व्यवस्थापन गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।
सरोकारवालाहरूसँग बसेको सो बैठकले सापारुको दिन भक्तपुर नगरपालिकाले प्रदक्षिणा मार्गको ठाउँ ठाउँमा प्राथमिक स्वास्थ्य उपचार केन्द्रको व्यवस्था, निर्माण सामाग्रीलगायत अन्य सामाग्रीहरू व्यवस्थापन, माक्स, श्यानिटाइजर वितरण, साबुनपानीले हात धुने व्यवस्था, सरसफाईलगायत प्रचार प्रसारको लागि माइकिङ गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।
जनैपूर्णिमा (गुन्हिपुन्हि) र गाईजात्रा अवधिभर आवश्यक शान्ति सुरक्षाको सम्पूर्ण व्यवस्था जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर, अव्यवस्थित तार र केबुलहरू नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत सम्बन्धित सेवा प्रदायकले २०७८ भाद्र ५ गतेभित्र व्यवस्थित गर्ने निर्णय गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *