उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने, सार्वजनिक यातायातमा ‘वैज्ञानिक प्रणाली’ लागू गरिने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १३ असार

काठमाडौं उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने भएको छ। निषेधाज्ञा थप्ने विषयमा भने सोमबार बस्ने ३ जिल्लाका सीडीओहरुको बैठकले निर्णय गर्ने छ।

आइतबार अपराह्न बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सीडीओहरुको बैठकमा निषेधाज्ञा अझै १ हप्ता थप्ने समझदारी बनेको हो। तर, सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा अझै अध्ययन गर्नुपर्ने भएकाले सोमबार बिहान १० बजे बैठक बसेर निर्णय लिने समझदारी बनेको लतिलपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाज निरौलाले जानकारी दिए।

‘आज (आइतबार) साँझ बसेको बैठकमा निषेधाज्ञा १ हप्ता थप्ने भन्ने समझदारी बनेको छ। तर, सार्वजनिक यातायातका साधन सञ्चालन गर्न विषयमा थप अध्ययन गर्नुपर्ने भएकाले भोलि (सोमबार) बिहान बैठक बसेर निर्णय गर्ने भन्ने भयो,’ प्रजिअ निरौलाले भने।

प्रजिअ निरौलाका अनुसार आइतबारको बैठकमा ठूला सार्वजनिक बसहरु ५० प्रतिशत सिट क्षमतामा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। तर, ठूला मात्रै सञ्चालन गर्न दिँदा साना गाडी सञ्चालकहरुले विरोध गर्ने विषयलाई पनि ख्याल राख्दै थप छलफल र अध्ययनको आवश्यकता महसुस गरिएको उनले जानकारी दिए।

आइतबारको बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले २० सिट क्षमताभन्दा बढी सिट क्षमताका बसहरुलाई सिट क्षमताको ५० प्रतिशत यात्रु बोक्न पाउने गरी व्यवस्था मिलाउनुपर्ने प्रस्ताव राखेका थिए।

भट्टराईको प्रस्तावमा काठमाडौं र ललितपुरका प्रजिअहरु पनि सकारात्मक भएपनि साना गाडी सञ्चालकहरुको समस्या समाधानका विषयमा थप अध्ययन आवश्यक रहेको निष्कर्ष निकालिएको हो।

‘सार्वजनिक यातायातलाई वैज्ञानिक तरिकाले सञ्चालन गर्न सकिने विषयमा छलफल भएको हो। तर, सार्वजनिक यातायात खोल्दा हुने जोखिमको पूर्वानुमान गरी त्यसमा लागू गर्न सकिने मापदण्डको विषयमा अध्ययन गर्नुपर्ने देखियो,’ ललितपुरका प्रजिअ निरौलाले भने, ‘निजी सवारी साधन जोरबिजोर नम्बर प्रणालीमा चल्न दिँदा पनि अहिले सडकमा भिडभाड बढेको छ, जाम भइरहेको छ। बसहरु खोल्यो भने झन् भिडभाड बढ्ने कुरालाई पनि मध्यनजर गर्नुपर्ने भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *