२ करोडको लगानीमा मुसीकोटमा डेरी उद्योग स्थापना हुँदै

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
रुकुम, ३० जेठ


रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२ मा डेरी उद्योग निर्माण हुँदै छ । कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २ करोड लागतमा वडाको चिसापानीमा डेरी निर्माणको काम चलिरहेको छ । अहिले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेका छन् । डेरी उद्योग प्रवद्र्धन कार्यक्रम अन्तरगत २ करोड बजेट आएको छ । निर्माण उपभोक्ता समितिले पूर्वाधार निर्माण गरिरहेको छ ।

खोलामा तटबन्ध निर्माणको काम भइसकेको छ । अहिले कम्पाउण्डिङ वाल निर्माणको काम चलिरहेको छ । त्यस्तै जमिन सम्याउने र २ लाख लिटर क्षमताको अण्डरग्राउण्ड पानी ट्यांकी निर्माणको काम पनि जारी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशमान ओलीले जानकारी दिएका छन् । उनका अनुसार असार मसान्तसम्ममा भवन बाहेक अन्य संरचना निर्माणको काम हुने छ ।

लहुँ खोला नजिकै रहेका कारण उक्त खोलामा तटबन्ध निर्माणका साथै कम्पाउण्डिङ वाल, २ लाख लिटर क्षमताको अण्डरगाउण्ड पानी ट्यांकी र ९८ फिट चौडाई, १ सय ४५ फिट लम्बाई तथा ४ फिट उचाइ भएको भवनको फाउण्डेशन निर्माण गरिने छ । त्यस्तै ट्रस्ट भवन निर्माणका लागि सामग्रीहरु पनि यसै वर्षमा ल्याइने छ । तर भवन निर्माण भने अर्को असार पछि अर्थात अर्को आर्थिक वर्षमा हुने उद्योग संचालन गर्न लागेको नागरिक दुग्ध सहकारी संस्थाका अध्यक्ष धिरन शिर्पालीले जानकारी दिएका छन् । उद्योगका लागि सहकारीले गत पुसमै साढे १५ रोपनी जग्गा खरिद गरेको थियो । अहिलेसम्म उद्योग निर्माणको ४० प्रतिशत काम सकिएको बताइएको छ ।

दैनिक ४० हजार लिटर दूधको कारोबार गर्ने लक्ष्य

उद्योगमा दूध प्रशोधन हुने छ । गाउँ गाउँबाट संकलन भएको दूधलाई प्रशोधन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गरिने छ । दैनिक ४० हजार लिटर दूधको कारोबार गर्ने लक्ष राखिएको अध्यक्ष शिर्पालीले बताए । उद्योग संचालनमा आएपछि जिल्लाको दूध जिल्लामै खपत हुने छ । अहिले नागरिक दुग्ध सहकारीले दूध संकलन गरेर नेपालगञ्ज पठाइरहेको छ ।

अव भने उक्त दूध उद्योगमै खपत हुने र आवश्यक परेमा जिल्ला बाहिर पनि दूध पठाइने अध्यक्ष शिर्पालीको भनाइ छ । नागरिक दुग्ध सहकारी संस्थाले केहि वर्ष देखि जिल्लाको दूध नेपालगञ्ज पठाउन थालेपछि जिल्लाको दूधले बजार पाएको थियो । अव जिल्लामै उद्योग स्थापना भएपछि थप दूधले पनि बजार पाउने र दूध उत्पादनमा बृद्धि हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *