बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारीस्वरूप तटबन्ध निर्माण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
रौतहट, ३० जेठ

बाढी, डुवान, कटान र क्षतिबाट न्यूनीकरणका लागि बागमती तथा लालबकैया नदीमा तटबन्धको निर्माण भइरहेको छ । उच्च जोखिममा रहेका रौतहटका विभिन्न स्थानहरुमा मनसुन शुरु हुनु अघि नै स्पर तथा बाँध मर्मत तथा निर्माण कार्य थालिएको हो । लाल बकैया र वागमती नदीबाट करिव २६ स्थानमा उच्च जोखिम रहेको छ ।

बागमती नदीबाट नेपाल भारत सीमा क्षेत्रको उत्तरसम्म साढे १७ किलोमिटर बाँध उच्च जोखिममा रहेको बागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताए । उनका अनुसार ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा लगायतका स्थान उच्च जोखिममा पर्छ । नदीको बाँध निर्माण तथा मर्मतका लागि भने बजेट अभाव रहेको उनले बताए । बाँध निर्माणका लागि ४१ करोड ४९ लाख रकम आवश्यक पर्ने भन्दै मन्त्रालय र विभागमा पत्रचार गरिएको उनको भनाइ छ । अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाइएको भएपनि अहिलेसम्म बजेट निकासा नभएका उनको गुनासो छ । वागमतीको १२ र बकैयाको १६ गरी २८ स्थानमा बाँध निर्माणको लागि उक्त रकम आवश्यक पर्ने उनले बताए ।

यस बर्ष साविकको भन्दा दोब्बर वर्षा हुने सम्भावना रहेकाले पूर्व तयारी थालिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । पूर्व तयारी अन्तर्गत सुरक्षा निकायका टोलीलाई उद्धार तथा राहत लगायतका कार्यको अभ्यास गराइएको उनले बताए । गौर नगरपालिका ५ स्थित बरहवा ताल किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको एकीकृत गरी अभ्यास गराइएको हो । बाढीको उच्च जोखिममा रौतहट रहेकाले जिल्ला विपत व्यवस्थापन समितिले पूर्व तयारीका लागि अभ्यास गरेको हो । विपत भन्दा पहिलेको पूर्व तयारीको अभ्यासले समस्या परेका बेला तत्काल समन्वय गरेर जनधनको क्षति कम गर्न सकिने प्रजिअ यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *