करिब डेढ अर्बको बजेट बनाउँदै धरान, कोभिड नियन्त्रण पहिलो प्राथमिकतामा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
धरान, २१ जेठ


कोरोना महामारीले आन्तरिक आय प्रभावित भए पछि पुरानै योजनालाई निरन्तरता दिँदै कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि करिब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ ।

असार १० गतेसम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवस्था रहेकाले राजस्व परामर्श समितीले बजेटको तयारी गरिसकेको छ । समितिकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय एकदम न्यून रहेकाले पुरानै योजनालाई निरन्तरता दिँदै कोभिड नियन्त्रणलाई प्राथमिकता दिएर बजेट आउने बताइन् । उनका अनुसार चालू वर्ष ५४ करोडको अनुमानित आयमा १४ करोड मात्रै संकलन भएको छ । करिब ३४ करोड घाटामा रहेको उनले बताइन् ।

अघिल्लो वर्षको घाटा पूर्ति गर्दै चालू वर्षको योजना नै निरन्तर दिँदै कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर बजेट आउने उनले बताइन् । उनले भनिन्, ‘राजस्व परामर्श समितिको काम सकिएको छ, सिलिङ वितरण गर्ने छौं, अघिल्लो आ.व. को व्ययभारलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरिरहेका छौं ।’ कोभिड नियन्त्रणका लागि आइसोलेसन, अक्सिजन सिलिण्डर, स्वास्थ्य उपचारलाई प्राथमिकता दिएर बजेटको तयारी गरिएको उनले बताइन् ।

धरानको बजेटका लागि संघीय सरकारबाट ५० करोड ४५ लाख ८६ हजार र प्रदेशबाट ३ करोड ८४ लाख २२ हजार ९ सय ५० रुपैयाको सिलिङ प्राप्त गरेको छ । संघीय सरकारले समानीकरणतर्फ ३३ करोड ९२ लाख, राजस्वबाट ८ करोड २६ लाख ९३ हजार र अन्तशुल्क वापत पनि ८ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ । त्यसै गरी प्रदेश सरकारबाट समानीकरणतर्फ २ करोड १ लाख ४७ हजार र सवारी कर वापत १ करोड ८२ लाख ७५ हजार ९ सय ५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ ।

संघीय र प्रदेश सरकारबाट आएको बजेटको आधारमा धरानको बजेट बनाउने तयारीमा रहेको मेयर तिलक राईले बताए । उनका अनुसार करिब डेढ अर्बको नजिकमा बजेट बन्ने भएको छ । उनले भने, ‘अघिल्लो वर्ष अनुदानबाट आउने रकमहरु पनि आएन, त्यसले पनि प्रभाव पार्‍यो, यो वर्ष पनि आउँछ भन्ने आशा गर्ने पर्नेछ, त्यसैलाई पनि आधार बनाएर बजेट बनाउने छौं ।’ बजेटलाई यथार्थपरक बनाउँदै अघिल्लो वर्षको भन्दा सानो आकारको बजेट बनाउने उनले बताए ।

चालू वर्ष धरान उपमहानगरपालिकाको बजेट एक अर्ब ७७ करोड ९१ लाख रुपैयाँ रहेको थियो । कोरोनाको महामारीले करिब ४० प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *