राजविराज, ५ कार्तिक
सिमानाका क्षेत्रमा चोरी पैठारी बढेसँगै सप्तरी प्रहरीले कडाईकासाथ निगरानी थालेको भएपछि ३ महिनाको अवधिमा ५० लाख भन्दा बढीको अबैध सरसामान सहित प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । नाका क्षेत्रमा प्रहरीले निगरानी तथा कडाई गरेपछि भंसार छली चोरी तस्करी गरी ल्याइएको ५० लाख ८६ हजार ८ सय ९९ रुपैया मुल्य बराबरको विभिन्न सरसामान बरामद गर्नुका साथै चोरी तस्करीमा संलग्न एक महिला सहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आर्थिक वर्ष २०७६ र ०७७ को श्रावण, भाद्र र असोज गरी ३ महिनाको अवधिमा भंसार छली अवैध रुपमा भारतबाट नेपाल भित्राईएको भंसार चोरी पैठारी विवरण अनुसार यस अवधिमा सबभन्दा बढी सवारी तथा मोटरपार्टस तर्फ २८ लाख ६ हजार ५ सय मुल्य बराबरको सरसामान नियन्त्रणमा लिइएको छ ।
छली ल्याउन लागिएको १३ लाख २७ हजार ७५ रुपैयाको किराना सामग्री तथा ३ लाख १६ हजार ५ सय ८४ रुपैया मुल्य बराबरको लत्ताकपडा बरामद गरिएको छ ।
पशु चौपाया चोरी तस्करी तर्फ ४ लाख ५० हजार र मोबाईल तथा विद्युती उपकरण तर्फ १ लाख १० हजार मुल्य बराबरको सरसामान जफत गरी भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उल्लेखित अवैध सरसामान जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, खडक नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतका क्षेत्रबाट बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए । उनका अनुसार सिमा क्षेत्रमा गरिएको कडाईले राजश्व असुलीमा समेत बृद्घि भएको बताए ।