शिक्षण पेशासँगै कुखुरापालनमा व्यस्त मामा भाञ्जा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, २१ जेठ


विभिन्न पेशासंँगै अन्य व्यवसायमा हात हाल्नु नौलो बिषय होइन । विभिन्न सरकारी निकाय तथा निजी संस्थामा काम गरेर पनि यसको अतिरिक्त कतिपयले अलग्गै व्यवसाय पनि अंगाल्दै आएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १० का दुई शिक्षकले अध्यापनको साथै कुखुरापालन व्यवसाय पनि अंगालेका छन् । यी हुन् स्थानीय नगेन्द्रराज पाण्डे र विष्णुबाबु जोशी । उनीहरुले नाताले मामाभान्जा हुन् । उनीहरुले रत्ननगरकै कलेजमा पढाउँछन् । शिक्षण पेसाले आर्थिक अवस्थामा सुधार नआएपछि उनीहरुले रत्ननगर–११ मा व्यावसायिक रुपमा कृषि फार्म शुरू गरेका हुन् । ‘के गर्नु पढाएर मात्र परिवार पाल्न सकिएन । त्यसैले यो व्यवसायलाई सँगै लगेका हौं ।’ उनीहरुले एकै स्वरमा भने । उनीहरुको कुखुरापालन गर्ने तरीका अन्य किसानको भन्दा फरक छ । अधिकांश कुखुरापालक किसानले व्यवस्थित खोर सहित कुखुरापालन गर्दै आएपनि उनीहरुले खुल्ला आकाशमा कुखुरा पाल्न शुरु गरेका हुन् ।

फार्ममा उनीहरुले चारवटा सामान्य प्रकारका खोेर बनाएका छन् । खोर कुखुरा राख्न बनाइएको होइन । खुल्ला चौरमा रमाइरहेका कुखुरालाई पानी पर्दा ओत लाग्न मात्र खोर बनाइएको हो । कुखुरालाई चौरमै दाना हालिन्छ । चोरमै चर्न छाडिन्छ । उनीहरु कलेजको अध्यापनको काम सकिएपछि पाण्डे र जोशीको आफ्नै नमस्ते एकीकृत कृषि फार्ममा कुखुरा रमाउने गरेका छन् । तारजालीले कम्पाउन्ड गरिएको फार्ममा लोकल र कडकनाथ प्रजातिका कुखुरा रहेका छन् । लोकलमा साकिनी, घाँटीखुइले, उल्टे, लोकल मिक्स प्रजातिका कुखुराहरु व्यावसायिक रुपमा पालिएका छन् ।

उनीहरुले केही महिनाअघिदेखि कुखुरापालन शुरू गरेका हुन् । पहिलो लटमा ५०० लोकल र ५०० कडकनाथका चल्ला हालेका उनीहरुले पहिलो आम्दानी लिइसकेका छन् । ‘स्थानीय जातको कुखुरामा माग पनि बढी छ, मूल्य पनि राम्रै छ । पाल्न पनि सजिलो लाग्यो ।’ कृषक नगेन्द्रराज पाण्डे भन्छन् ।
एक बिघा जग्गा भाडामा लिएर शुरू गरेको एकीकृत कृषि फार्ममा अहिले लोकल र कडकनाथ गरी एक हजार ५०० कुखुरा रहेका छन् । लोकल र कडकनाथ जातका कुखुरा ५ महिनामा खानका लागि तयार हुन्छ । पाँच महिनाको अवधिमा एउटा कुखुरा भाले २ किलो र पोथी डेढ किलो हुन्छ । लोकल भाले प्रतिकिलो ७००, पोथी ६००, कडकनाथ प्रतिगोटा २ हजार ५०० रूपैयाँमा बिक्री हुँदै आएको छ । हाल बजारको समस्या नभएको भन्दै फार्मबाटै कुखुरा बिक्री हुने गरेको जोशीले बताए ।

‘फोनमार्फत नै कुखुराको माग हुने गरेको छ,’ उनले भने, ‘अधिकांश मान्छेहरु फार्ममै कुखुरा लिन आउँछन् ।’ यी दुई प्रजातिको कुखुरा बिक्रीका लागि बजारीकरणको समस्या नहुने जोशीको अनुभव छ । यसका लागि शुरुमा २० लाख लगानीबाट शुरु गरिएको र विस्तार गर्दै लैजाने उनीहरुको योजना छ ।
‘यी जातको कुखुरामा रोगको संक्रमण पनि कम हुने र दाना, औषधी पनि त्यति खर्च हँुदैन ।’ अर्का कृषक पाण्डेले भने । मासिक तलब बुझेको पैसाले गुजारा चले पनि आर्थिक उन्नति नहुने भएकोले यसतर्फ आफ्नो आकर्षण रहेको उनीहरुको भनाइ छ । कुखुरासँगै फार्ममा बाख्रापालन, चरा प्रजातिका कालिज र लौकट व्यावसायिक रुपमा पाल्ने योजना रहेको पाण्डेले बताए ।

कृषि फार्म शुरू गरे पनि पाण्डे र जोशीले शिक्षण पेसा भने छाडेका छैनन् । बिहान कलेज पढाउने र अधिकांश समय कुखुरापालनमा खर्चिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *