ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने अभियानको सुखद् शुरुवात भएको छ: प्रमुख प्रजापति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
भक्तपुर, १४ जेठ

कोभिड १९ रोगको दोस्रो लहरको संक्रमण तीब्र गतिमा फैलिएसंगै संक्रमितहरुको उपचारका लागि भक्तपुर नगरपालिकाले संचालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयुलगायतका स्वास्थ्य उपकरण खरिदका लागि जनस्तरबाट आर्थिक एवं भौतिक सहयोग संकलन भइरहेको छ ।

जेठ ५ गतेदेखि १३ गतेसम्ममा विभिन्न सहकारी संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा संघसंस्था र व्यक्तिहरुबाट १ करोड ३४ लाख ६९ हजार ६ सय २५ रुपैयाँ संकलन भएको छ । जेठ १३ गते एक दिनमा मात्र ७१ लाख ३१ हजार ९ सय २७ रुपैयाँ संकलन भएको थियो ।

सहयोग संकलन अभियानको हप्तादिनमा जनस्तरबाट यति धेरै सहयोग रकम संकलन हुनुमा कोभिड रोग संक्रमणको जोखिम न्यूनीकरण एवं संक्रमितहरुको उपचारका लागि नगरपालिकाले गरिरहेको कार्यप्रति जनताको उच्च मूल्यांकन रहेको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

उनले भने, ‘ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने अभियानको सुखद् शुरुवात हो यो । यसलाई ख्वप अस्पतालमा जनताको अपनत्व कायम भएको एक उदाहरणको रुपमा पनि लिन सकिन्छ ।’

कोभिडको दोस्रो लहरको संक्रमण फैलिएसंगै संक्रमितहरुले अस्पतालमा सामान्य बेड, आइसीयू र भेन्टिलेटर पाउन मुश्किल हुन थालेको र उपचारको निम्ति आधारभूत आवश्यकताको रुपमा रहेको अक्सिजनसमेतको अभावमा कैयौं विरामीहरु अकालमै मृत्युवरण गर्न वाध्य भएको अवस्थामा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने तयारी थालेको हो ।

प्रमुख प्रजापतिले प्लान्ट जडान तथा आइसीयु र भेन्टिलेटरको निम्ति संघीय सरकार र प्रदेश सरकारसंग पटक पटक सहयोग माग गरेको उल्लेख गर्दै अहिलेसम्म दुवै सरकारले वास्ता नगरेको बताए । उनले नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रले विरामीको उपचारवापत वीमामार्फत आउनुपर्ने करिब साढे ५ करोड रुपैया समेत संघीय सरकारले अहिलेसम्म निकासा नदिएको बताए ।
‘सरकारबाट पैसा आएन भनेर विरामीको उपचार गर्न रोक्दैनौं’, उनले भने, ‘स्थानीय जनतालाई नगरपालिकाको सबै आयव्यय पारदर्शी गरेपछि जनताको अस्पताल निर्माणमा जनता आफैं जागेको उदाहरण हो सहयोग संकलन अभियान ।’
प्रमुख प्रजापतिले जनताबाट प्राप्त एक एक पैसाको सही सदुपयोग हुने प्रष्ट पार्दै अगाडि भने, ‘जनताले स्वेच्छाले दिएको पैसाबाट नै हामी अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसीयु स्थापना गर्छौं ।’

भक्तपुरका कामदार जनताले आफ्नो गाँस काटेर ख्वप अस्पतालका लागि हार्दिकता पूर्वक सहयोग गरेको उनको कथन थियो । उनले नगरपालिकाले सहयोगको लागि आह्वान नगर्दै जनताले आर्थिक सहयोग गर्न थालेको बताए ।
भक्तपुर नगरपालिकाले हाल ब्रम्हायणीस्थित आफ्नै भवनमा २५ शैय्याको हाइ डिपेन्डेन्सी यूनिट (एचडीयू) र ५० शैय्याको आइसोलेसनसहित ख्वप अस्पताल कोभिड यूनिट संचालन गरेको छ । हालसम्म उक्त यूनिटले १५६ जना विरामीको उपचार गरिसकेको छ । कोभिड संक्रमित भई गृह एकान्तवासमा बस्न नमिल्ने तथा अक्सिजन आवश्यकता हुने विरामीहरुको त्यहाँ उपचार भइरहेको छ । यूनिटमा २ जना एमबीबीएस डाक्टरसहित ६ जना स्टाफ नर्सले चौविसै घण्टा उपचार सेवा दिन्छन् भने एक जना जनरल फिजिसियन दिनभरि र एक जना एनेस्थेसियोलोजिस्टले पनि सेवा दिइरहेको छ । उक्त अस्पतालमा सम्पूर्ण उपचार खर्च निःशुल्क भइरहेको प्रमुख प्रजापतिले जानकारी दिए ।

‘हामीले अस्पतालमा दैनिक उपचार गरिरहेका विरामीहरुको विस्तृत विवरण केन्द्र सरकारलाई पठाइरहेका छौं । सरकारले उपचार खर्च पठाउने कुरा गरेको छ तर निश्चित छैन ।’ उनले भने, ‘केन्द्र सरकारले खर्च नपठाउँदा पनि नगरपालिकाले आफ्नै विकास बजेट कटाएर भए पनि स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकता दिन्छ ।’

ख्वप अस्पताल संचालनका लागि दैनिक रुपमा जनस्तरबाट आर्थिक सहयोग आइरहँदा साँच्चै नेपाल मजदुर किसान पार्टी र यसका कार्यकर्ताहरुले जनताको निःस्वार्थ सेवा गरिरहेको जनताको मूल्यांकन रहेको उप प्रमुख रजनी जोशीले अनुभव गरे । ‘हामी इमान्दारितापूर्वक जनताको सेवा गरिरहेको जनताले मूल्यांकन गरिरहेका रहेछन् । नभए आफ्नो छाक काटेर अस्पतालको निम्ति सहयोग गर्न किन आउँथे र ?’ उप प्रमुख हरेक दिन विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग ग्रहण गर्दै सबैलाई नगरपालिकाको तर्फबाट धन्यवाद पत्र प्रदान गर्नमा व्यस्त हुनुहुन्छ ।

कोभिड संक्रमणको जोखिममा समेत अस्पतालको स्वास्थ्य सामग्री खरिदका लागि स्थानीय जनताले सहृदयतापूर्वक नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरिरहेको देखेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ दंग परेको छ । ‘स्थानीय तह र स्थानीय निकायमा लामो समय जागीर खाइयो, तर भक्तपुर नगरपालिकामा जस्तो जनप्रतिनिधि र स्थानीय जनताको एकतावद्ध भावना कहीं देख्न पाइएको थिएन । नगरपालिकाले सहयोगको आह्वान नगर्दै अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसीयू स्थापनाको लागि जनस्तरबाट करोडौं सहयोग संकलन हुनु चानचुने पक्कै होइन ।’ उनले भक्तपुर मोडेल सबैका लागि अनुकरणीय हुने विश्वास व्यक्त गरे ।

भक्तपुर नगरपालिकाले १०० शैय्या क्षमताको ख्वप अस्पताल संचालनका लागि भनपा ९ च्याम्हासिंहमा भवन निर्माण कार्यलाई तीब्रता दिएको छ । नगरपालिकाको आफ्नै लगानीमा निर्माण भइरहेको उक्त भवनमा चाँडै नै सुविधासम्पन्न अस्पताल संचालनको तयारी भइरहेको बताइएको छ ।

उक्त भवनसंगै नगरपालिकाको जनस्वास्थ्य केन्द्र संचालन भइरहेको छ । केन्द्रमा विभिन्न रोगका विशेषज्ञहरुबाट नियमित ओपीडी सेवा, इमरजेन्सी सेवा, ल्याव सेवा, एक्स रे र अल्ट्रासाउण्ड सेवा, फिजियोथेरापी सेवा, खोप सेवा र फार्मेसी सेवा संचालन भइरहेको छ । कोभिड संक्रमणका बीच पनि गत वर्ष ९ हजार ६ सय भन्दा बढी विरामीहरुलाई उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको नगरपालिका स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *