न्यूज अपडेट
भक्तपुर, १३ चैत
शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदुषण भएको हो ।पानी पर्नका लागि न्युन चाप भएको हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए । ‘अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको छ, भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ’ उनले भने ।हिजोआज ४०० भन्दा बढी वन डढेलोको घटना भएको र त्यहाँबाट उडाएको धुवाँले गर्दा वायु प्रदुषण भएको दाहालले बताए ।वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले पनि डढेलो र अरु प्रदुषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए । ‘डढलो लागेर हो कि भन्ने अनुमान छ’ उनले भने, ‘अहिले हावा पनि चलेको छैन, हावा चलेमा प्रदुषण कम हुनसक्छ ।’काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना गर्यौं भने यसबाट बच्न सक्छौं’ उनले भने ।मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । ‘धुलोका कणहरु त केही दिनदेखि वायुमण्डलमा थिए, अहिले डढेलोका कारण भिजिविलिटी कम भएको अनुमान गरेका छौं,’ मौसमविद राजु प्रधानांगले भने ‘यसबारे हमी कन्फर्म हुन सकेका छैनौं ।