‘फेरि लकडाउनको स्थिति आउन नदिन हामी आफैं सचेत बनौं’

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, १६ चैत

नेपालमा कोरोना संक्रमणको दर र संख्या विस्तारै उकालो लाग्दैछ। तर मानिसहरु अझै पनि निस्फिक्री भएर हिड्न छाडेका छैनन्।

मास्क तथा सेनिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड कोरोनाबाट बचाउने मूल मन्त्र हो, तर यसलाई आत्मसात गर्ने कमै भेटिन्छन्। पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण दर दैनिक बढ्दो छ। यसले पनि नेपालमा कोरोनाको जोखिम झनै बढाएको छ।

भारतमा संक्रमणको दर बढ्न थालेपछि भारतका विभिन्न प्रान्त तथा केही सहरहरुमा लकडाउन तथा रात्रीकालीन कफ्र्यु लगाउन थालिएको छ। तर ती प्रान्तमा रहेका नेपालीहरु स्वदेश फर्किदा उनीहरुसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जोखिम पनि उत्तिकै छ।

सरकारले आवश्यक सतर्कता र तयारी नबढाए लकडाउन गर्नुपर्ने स्थिति आउन सक्ने विज्ञहरुले बताउन थालेका छन्। भाइरोलोजिस्ट डा लुना भट्ट सबैले जनस्वास्थ्यको मापदण्डहरु पालना नगर्दा जोखिम बढेको गएको बताउँछिन्।

भन्छिन्, ‘मानिसहरुले अहिले कुनै सतर्कता अपनाएको देखिदैन। सबै जना सामान्य दिनचर्यामा फर्किसकेका छन्। यसले जोखिम झनै बढाएको छ।’

सबैले सावधानी अपनाएर सचेत भए मात्र लकडाउन गर्नुपर्ने स्थिति आउनबाट रोक्न सकिने उनी बताउँछिन्।

‘सबैले लकडाउन नगरोस् मात्र भन्छन्। तर लकडाउनको अवस्था आउन नदिन त अहिलेदेखि सबैले सावधानी अपनाउनु पर्‍यो,’ उनले भनिन्।

भारत लगायत अन्य राष्ट्रमा संक्रमण दर बढ्दै गएकाले नेपालमा पनि पुनः महामारीको अवस्था नआउला भन्न नसकिने उनी बताउँछिन्। उनका अनुसार अन्य राष्ट्रको अवस्था देखेर सतर्कता र तयारी अघि बढाउनु नै बुद्दिमानी हुन्छ।

उनले भनिन्, ‘अहिलेको अवस्था यस्तै रहिरह्यो भने नेपालमा पनि भारतको जस्तो अवस्था नहोला भन्न सकिन्न। अरुको देखेर आफूले सतर्कता अपनाउनु बुद्दिमानी हुन्छ।’

कोरोना संक्रमणपछि आफूखुशी घरमै जथाभावी रुपमा बेसार पानी खाने, गुर्जो खाने लगायतको व्यवहार नगर्न पनि उनको सुझाव छ। सबै जना सावधान भई जनस्वास्थ्यका मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके अझै पनि महामारीलाई नियन्त्रण गर्न सकिने उनले बताइन्।

‘हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्नुपर्छ। भीडभाड गर्ने काम भएन। यी सबै मापदण्डलाई अपनाउने हो भने अझै पनि महामारीलाई नियन्त्रण गर्न सकिन्छ। लकडाउन गर्ने अवस्थालाई रोक्न पनि सकिन्छ।’ उनले भनिन्।

सरकारले सबैलाई सचेत गराउन अझै पनि आवश्यक रहेकोमा उनको जोड छ। व्यक्ति आफैँले मनन् नगरेसम्म सरकारले जति गरेपनि प्रभावकारी हुन नसक्ने उनको भनाई छ।

यसो भन्दै सरकारले भूमिका महत्वपूर्ण छैन भन्न खोजिएको हैन। महामारी नियन्त्रणमा सरकारको सबैभन्दा महत्वपूर्ण भूमिका छ। यद्यपि व्यक्ति आफैँले सावधानी अपनाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सके लकडाउनको स्थिति सिर्जना नहुने उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *