अन्तर नगर बुद्धिचाल तथा भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता- २०७७ उद्घाटन

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, २९ फागुन

भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले गरे ।

भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भयो । सहिद दिवसको अवसरमा आयोजित उक्त खेलकुद प्रतियोगिता कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले बुद्धिचाल खेल एक प्रकारको लडाईं भएकाे बताउँदै राजनीतिक कार्यकर्तामा भएको नागरिक भावनाको कमीले उनीहरुको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको र यसमा शासक दल जिम्मेवार रहेको उल्लेख गरे ।

भक्तपुर नपाद्वारा विद्यालयस्तरमा लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठहरु समावेश गर्नुपर्ने बताउँदै उनले खेलाडीहरुले खेलकुदको माध्यमबाट देशलाई चिनाउने अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

बुद्धिचाल खेल बौद्धिक खेल भएको र यसले खेलाडीहरुको मानसिक विकासमा समेत टेवा पुर्‍याउने बताउँदै अध्यक्ष रोहितले खेलकुद मित्रताको लागि खेलिनुपर्ने र शारीरिक स्वस्थताको निम्ति पनि खेलकुद अपरिहार्य रहेको उल्लेख गरे।

भक्तपुर नपाले आयोजना गरेको नगरस्तरीय र विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई खेलकुद महोत्सवको रुपमा व्याख्या गर्दै खेलाडीहरुलाई आत्मकेन्द्रित भई खेल–खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति पनि हो — उनले भने ।

कार्यक्रमका सभापति एवं नगर प्रमुख सुनिल प्रजापतिले भक्तप्र नगर चार दिनसम्म खेलकुदमय हुने बताउँदै प्रतियोगिता व्यवस्थित र अनुशासित ढंगले सम्पन्न हुने आशा व्यक्त गरे। भक्तपुर नपाले प्रतिकूल अवस्थालाई पनि अनुकूलतामा परिणत गरी यो वर्ष अन्तर नगर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न लागिरहेको बताउँदै भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्फत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन यो खेल प्रतियोगिता आयोजना गरेको उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई भक्तपुरका अग्रज व्यक्तित्व र सहिदहरुको योगदानबारे यथार्थ जानकारी दिनु हाम्रो कर्तव्य भएकाे बताए। तीस वर्षमा शासक दलहरुले नेपालीहरुको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उनले दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या ज्यूँका त्यूँ रहेको जिकिर गरे ।

सभासद गोसाईले युवा विद्यार्थीले देशको राजनीतिलाई अलग्ग राख्न नहुने बताउँदै देशमा अहिले शासक दलका नेताहरुमा नैतिकताको चरम अभाव रहेको बताए। उनले खेलाडीहरुलाई मित्रवत् एवं अनुशासित ढंगले खेलमा सहभागी हुन सम्पूर्ण खेलाडीहरुलाई प्रोत्साहित गरे ।

भनपाका उपप्रमुख रजनी जोशीले भनपाद्वारा आयोजित खेल प्रतियोगिताले नगरबासी फूर्तिलो र उत्साहित हुनेमा आशा व्यक्त गर्दै भक्तपुर बुद्धिचाल खेलमा अग्रपंक्तिमा रहेको बताए। खेलकुद प्रतियोगिता हारजीत भन्दा पनि भाइचारा र सहिष्णुताको लागि खेलिनुपर्ने उनले बताए ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खेलकुद प्रतियोगिता र खेलाडी सम्मानले खेलाडीहरुमा उत्साह थप्ने र खेल विकासमा टेवा पुग्ने बताउँदै खेलकुद प्रतियोगिताले विद्यार्थीको शारीरिक र मानसिक विकासमा मद्दत पुग्नुका साथै देशको गौरव पनि बढाउने उल्लेख गरे ।

नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले कोभिडको महामारी कम हुँदै गएको अवस्थामा नेपाल बुद्धिचाल संघले विभिन्न खेल प्रतियोगिताको शुभारम्भ गरिसकेको बताउँदै खेलाडीहरुमा बौद्धिकता विकासको निम्ति बुद्धिचाल खेलमा संलग्नता आवश्यक भएकाे धारणा राखे। बुद्धिचाल खेल शारिरीक र बौद्धिक खेल भएको बताउँदै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक सहभागिता हुने लोकप्रिय खेलको रुपमा बुद्धिचाल रहेको बताए।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले खेलकुद मानव जीवनको अङ्ग हो र व्यक्तित्व विकाससँग पनि खेलकुद जोडिएको हुँदा खेलकुदले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलकुदमा लागेका युवाहरु विग्रिन्छ भन्ने कथन गलत सावित हुँदै गएका छ भन्दै  बौद्धिक खेलमा युवाहरुलाई उत्साहित गनुपर्नेमा जोड दिए।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले शुभकामना मन्तव्य दिँदै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको व्यक्तित्व विकासमा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न मद्दत पुर्‍याउने बताए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै प्रतियोगितालाई मित्रताको हिसाबमा लिई खेलमा सहभागी हुन प्रेरित गरे । खेलकुद विकासले युवाहरुको सर्वाड्डिण विकासमा मद्दत पुर्‍याउने बताउँदै उनले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै खेलकुदमा पनि अगाडि बढाउनु आवश्यक भएकाे तर्क राखे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेको थियो भने रेफ्रीको तर्फबाट निरन्जन प्रजापति र खेलाडीको तर्फबाट सुमन सुवालले खेललाई अनुशासित र निष्पक्ष ढंगले सञ्चालन गर्ने प्रतिबद्धता सहित सपथ ग्रहण गरेको थियो ।

अन्तर नगर खेलकुद प्रतियोगिताको उद्घाटन र्‍याली भक्तपुर नगरपालिका वडा नं. १ वडा कार्यालय अगाडिबाट शुरु भई भार्वाचो, वंशागोपाल, नासमना, टौमढी, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय, सूर्यमढी, च्याम्हासिंह हुँदै माहेश्वरी बैंक्वेटमा सभास्थलसम्म पुगी टुंगिएको थियो । र्‍यालीमा मूल ब्यानर सहित जनप्रतिनिधिहरु, पूर्व जनप्रनिधिहरु, प्लेकार्डसहित सहभागी नगरपालिकाका पदाधिकारी तथा खेलाडीहरु, भनपाका प्रशिक्षार्थीहरु, महिला स्वास्थ्य स्वयम्‌सेविकाहरु, आत्मरक्षाका प्रशिक्षक, बक्सिड्डका प्रशिक्षक र प्रशिक्षार्थीहरु, विभिन्न बाजा समूहहरु तथा भनपाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

२२ वटा नगरपालिकाहरुको सहभागिता रहेको अन्तरनगर बुद्धिचाल प्रतियोगिता आज दिनको १ः०० बजेदेखि माहेश्वरी बैंक्वेटको हलमा शुरु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *