प्रगति सामुदायिक सिकाइ केन्द्रको अर्धवार्षिक समीक्षा

कला/साहित्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, १७ माघ


प्रगति पुस्तकालयको अभिन्न अंग प्रगति सामुदायिक सिकाइ केन्द्रको शनिवार वागीश्वरी कलेज कमलविनायकमा अर्धवार्षिक समीक्षा कार्यक्रम भएको छ ।


नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका नगर शिक्षा समितिका संयोजक वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उनले शैक्षिक र सामाजिक रुपमा समाजलाई सचेतना दिने मूल उद्देश्यले भक्तपुरमा स्थापित तीन वटा सामुदायिक सिकाइ केन्द्रमध्ये प्रगति सामुदायिक सिकाइ केन्द्र सक्रियतापूर्वक कार्य भैरहेको बताए । उनले यो नगर शिक्षा समितिकै निगरानीमा चल्ने भएकाले यसले पनि औपचारिक विद्यालय चलाएजस्तै नै अनौपचारिक रुपमा विविध जनचेतनामूलक कार्यक्रम राख्न सकिने बताए । समाजलाई सकारात्मक दृष्टिकोणबाट अगाडि बढाउन नगरपालिकाले साथ दिने भएकाले सामाजिक, सांस्कृतिक, शैक्षिक तथा राजनीतिक कार्यक्रम गर्दै जानुपर्नेमा जोड दिए । उनले व्यक्ति र पैसा केन्द्रीत समाजमा व्याप्त विकृति विसंगति हटाउन कानुनी साक्षरता कार्यक्रम अति आवश्यक भएको बताए । साथै नयाँ पुस्तामा नेपाल र नेपालीप्रतिको सम्मानका विषयमा सानोबेलादेखि नै चेतना दिनु आवश्यक रहेको बताए । सूचना प्रविधिको व्यापक प्रयोग भैरहेको हाम्रो समाजमा बालबालिका लक्षित त्यसबारेमा कक्षा चलाउँदै त्यसको सदुपयोग गर्नुपर्ने बताए ।


विशेष अतिथि वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले प्रगति सामुदायिक सिकाइ केन्द्रले समाजका महिला, विद्यार्थी, खेलकूद, सांस्कृतिक, कृषक लगायतका सबै पक्षसँग जोड्नुपर्ने बताए । प्रगति पुस्तकालयका संस्थापक अध्यक्ष विष्णु गोपाल कुसीले संस्थाका जिम्मेवार पदाधिकारीले संस्थालाई निरन्तरता दिन सक्रियता दिनुपर्ने बताए । प्रगति पुस्तकालयको स्थापनाकालका उद्देश्यलाई स्पष्ट पार्दै उनले विकृति, विसंगति र अपराधलाई हटाउने जिम्मेवारी संस्थाले लिनुपर्ने र समय र परिस्थिति अनुसारका कार्यक्रम संस्थाले चलाउँदै लानुपर्नेमा जोड दिए । उनले जीवनको एक भाग सामाजिक कार्यमा छोड्नुपर्ने बताउँदै सामूहगत झगडा मन्द विष भएकाले यसको नियन्त्रणका लागि यस संस्थाले विविध गतिविधि गर्दै जानुपर्नेमा जोड दिए । साथै आपतविपद्मा साथ दिने संस्थाको रुपमा विकास गर्नुपर्ने उनको धारणा छ ।

पुस्तकालयका पूर्व पदाधिकारी एवं पूर्व वडाध्यक्ष लक्ष्मी प्रसाद कुसीले प्रतिवेदनमा आर्थिक पक्षलाई पनि समेत्नुपर्ने बताए । प्रगति पुस्तकालयका पूर्व अध्यक्षहरु विश्वराम प्रजापति, सुदिल साखकर्मी, विकल प्रजापति, प्रेम प्रजापति, काशिलाल प्रजापति, दीपेन्द्र प्रजापतिले संस्थाको प्रगतिका लागि मार्गनिर्देश गर्दै विभिन्न सुझावहरु व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष रविन्द्र प्रसाद कुसीको सभापतित्वमा भएको कार्यक्रममा सदस्य जयराम कोजूले न्हूदँया भिन्तुना, रक्तदान कार्यक्रम र विद्यालय तथा समुदाय सचेतना कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका सदस्य श्रीराम कासिछ्वाले ब्रम्हायणी परिसरमा गरेको सरसफाइ कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा गोपाल सुन्दर गोसाईले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *