नेमकिपा सूर्यमढी एकाइले मनायो माओ र स्टालिनको जन्म दिवस

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २५ पुस

नेपाल मजदुर किसान पार्टी सूर्यमढी एकाइ समितिको आयोजनामा आइतबार स्तालिनको १४४औं र माओको १२९ औं जन्म दिवस मनाएको छ ।
उक्त कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले देशका विभिन्न जिल्लामा जान सक्ने योग्य कार्यकर्ता तयार गर्न मजदुर र श्रमिकको अन्तरक्रिया नियमित गर्नुपर्ने बताए । उनले पार्टी कार्यकर्ताहरु हरेक पलमा बैचारिक र सैद्धान्तिक रुपमा परिपक्व पार्टी प्रकाशनहरुको अध्ययन गर्नुपर्ने औल्याए । साथै निर्वाचन अघिजस्तै नै वाह्य जिल्लामा अहिले पनि संगठनात्मक गतिविधि तीव्र रुपमा पुग्नसक्नुले राम्रो प्रतिक्रिया पाएको स्पष्ट पारे ।

त्यस्तै नेमकिपा केन्द्रीय समितिका सदस्य एवं भक्तपुर न.पा. ९ वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले माओत्सेतुङको समाजवादी विचारकै कारण शक्ति, उत्पादन र विज्ञान प्रविधिमा विश्वकै सर्वशक्तिमान हुन सफल भएको बताए । उनले एकै समयमा चीन र नेपाल स्वतन्त्र भएपनि नेपालमा सामन्तवादी र पूँजीवादी सोच र शैलीकै कारण जनताले दुःख पाएको औंल्याए । साथै उनले विचार र सिद्धान्तले निर्देशित नगरिएका पार्टीको भविष्य अनिश्चित भएको बताउँदै नेमकिपाले लिएको अडान र विचार सही भएको बताए । उनले नेमकिपाको ३४औं परिषद्को सन्देश दिँदै नयाँ पुस्ताबीच पार्टी र पार्टीका विचार पु¥याउनुपर्नेमा जोड दिए ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले विश्व सर्वहारा वर्गको महान गुरु माओत्सेतुङले गरेको योगदानलाई ध्यानमा राखी नेपालीहरुले पनि माओका ३ नियम र ध्यान दिनुपर्ने ८ कुराको व्यवहारिक प्रयोग गर्नुपर्ने बताए ।
नेपाल क्रान्तिकारी किसान संघका गंगाराम ज्याख्वले कामदार वर्ग पूँजीपति वर्गका विरुद्ध संघर्ष नगरेसम्म शोषण र उत्पीदनमा परिरहने बताए । चीनमा जस्तै नेपालमा पनि किसान आन्दोलन अपरिहार्य भएको बताउँदै उनले नेपालको कम्युनिष्ट पार्टीभित्रको खोटा विचारको खण्डन गर्दै नेमकिपा प्रकाशस्तम्भका रुपमा अघि बढिरहेको स्पष्ट पारे । उनले यही माघ २० र २१ मा हुने नेक्राकिसंघको भक्तपुर जिल्ला सम्मेलन र माघ २८ र २९ गते बाँकेको कलैयामा हुने राष्ट्रिय सम्मेलनमा हरेक पक्षबाट सहयोगको लागि आह्वान गरे ।
आयोजक समितिका अध्यक्ष दिलभक्त कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष काशिलाल प्रजापति, प्रेम प्रजापतिलगायतले विश्व कम्युनिष्ट समाजवादी आन्दोलनमा स्तालिन र माओको योगदानको चर्चा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *