टिचिङमा ९ महिना रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः शुरु, आमाले छोरीलाई दिइन् मिर्गौला

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १ माघ

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा पुनः शुरु भएको छ।

नेपालमा कोरोना संक्रमण देखिन थालेपछि गत चैतदेखि बन्द अवस्थामा रहेको अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा ९ महिनापछि  बुधबारबाट शुरु भएको हो।

चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं  शिक्षण अस्पतालका नेफ्रोलोजी विभागकी प्रमुख डा दिव्यासिंह शाहले बुधबार एक युवतीमा मिर्गौला प्रत्यारोपण गरी सेवा पुनः शुरु गरेको जानकारी दिइन्। ती युवतीलाई उनकी आमाले मिर्गौला दिएको बताइएको छ।

‘कोरोना संक्रमणको कारण टिचिङमा बन्द भएको मिर्गौला प्रत्यारोपण सेवा बुधबारदेखि पुनः शुरु गरेका छौं,’ डा शाहले स्वास्थ्यखबरसँग भनिन्, ‘अब प्रत्यारोपण सेवा नियमित हुन्छ।’

डा शाहका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मिर्गौला प्रत्यारोपण गर्ने बिरामी र मिर्गौला दाता दुवै जनाको दुई पटक पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र मिर्गौला प्रत्यारोपण गरिएको हो।

मिर्गौला लिने र दिने दुवै जनालाई मिर्गौला प्रत्यारोपणको तयारी गर्नुअघि र प्रत्यारोपण गर्नुअघि दुई पटक पिसिआर परीक्षण गरिएको डा शाहको भनाई छ।

त्रिवि शिक्षण अस्पतालमा यसअघि हरेक बुधबार दुई जनासम्मको मिर्गौला प्रत्यारोपण गरिदै आएको थियो। लामो समय सेवा बन्द अवस्थामा रहेर पुनः सुरु गरेकाले पहिलो पटक भने एकजनाको मात्र प्रत्यारोपण गरिएको डा शाहको भनाइ छ। कोरोना संक्रमणको चाप कम हुँदै गएमा सातामा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिने डा शाहले बताइन्।

‘कोरोना देखिनुअघि हरेक बुधबार दुई जनाको मिर्गौला प्रत्यारोपण गरिन्थ्यो, यो पटक लामो समय सेवा बन्द भएर पुनः सुरु गर्दा एक जनाको मात्र प्रत्यारोपण गरेका छौं,’ डा शाहले भनिन्, ‘कोरोना संक्रमण अझै कम भएर सहज अवस्था हुँदै गएमा हरेक बुधबार दुई जनाको मिर्गौला प्रत्यारोपण गर्नेछौं।’

नेपालमा कोरोना संक्रमण देखिन थालेपछि गत चैतमा स्वास्थ्य मन्त्रालयले नै इलेक्टिभ सर्जरी सेवा तत्काललाई बन्द गर्न निर्देशन दिएको थियो। त्रिवि शिक्षण अस्पतालमा गत चैतमा एक जनाको मात्र मिर्गौला प्रत्यारोपण भएको थियो। त्यसपछि ९ महिनासम्म मिर्गौला प्रत्यारोपण सेवा बन्द थियो।

यसअघि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्र र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि मिर्गौला प्रत्यारोपण सेवा पुन शुरु गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *