संस्थागत विद्यालयहका प्रधानाध्यापकहरूसँगको बैठक सम्पन्न

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, २६ पुस


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरूको बैठक आइतबार भएको छ ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू वैकल्पिक सिकाईलाई निरन्तरता दिंदै अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई मात्र २०७७ माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रमुख प्रजापतिले गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नखुल्दा विद्यार्थीको शैक्षिक भविष्य नै अन्योलमा रहेको अवगत गराउँदै विद्यालय सञ्चालन सबैको साझा सरोकारको विषय भएकोले भक्तपुर नगरपालिकाले सम्बन्धित सरोकारवालाहरूको चरणबद्ध छलफलपश्चात २०७७ माघ १ गतेदेखि कक्षाहरू सञ्चालन गर्ने निर्णयमा पुगेको बताए । उनले भने — तर यो बाध्यकारी होइन विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर विद्यालयहरुले निर्णय गर्न सक्छन् । नगरपालिकाले सहज बनाइदिएको मात्र हो ।

उनले आवश्यक सचेतता अपनाई विद्यालय सञ्चालन गर्नु आजको आवश्यकता भएको औंल्याउँदै कतिपय सामुदायिक विद्यालयका विद्यार्थीहरूमा अनलाइन कक्षाको पहुँच नभएको हुँदा भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १, २ र ३ मा वर्क सिट वितरण गरेको बताए । उनले अभिभावक र विद्यार्थीहरूको भावना बुझेर सुरक्षित ढंगले कक्षा सञ्चालन अगाडि बढाउन अनुरोध गर्दै कक्षा सञ्चालनको लागि भक्तपुर नपाले सामुदायिक विद्यालयको लागि साबुन, क्लोरिन र फेसशिल्ड पनि वितरण गरिसकेको बताए ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कोभिड १९ का कारण धेरैको जीवनशैली र सोचाइमा परिवर्तन आएको बताउँदै कोभिडले जीवनउपयोगी शिक्षा पनि प्रदान गरेको बताए । कोभिड नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा विभिन्न संघ संस्थाहरूबाट सहयोग प्राप्त भएको बताउँदै उपप्रमुख जोशीले २५ शैय्याको एचडीयु सञ्चालनको तयारी भइरहेको बताइन् ।

कार्यक्रममा उपस्थित भएका प्रधानाध्यापकहरूले विद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको र सोको लागि अभिभावकहरूसँग पनि छलफल गरेको, शैक्षिक सत्र शुरु ढिलाई हुँदा विद्यार्थीहरूको विवरण भर्ने विषयमा अन्योल देखिएको, स्थानीय पाठ्यक्रम अगाडि बढाउन सन्दर्भ सामग्रीको अभाव भएकोलगायतका राय—सुझाव प्रस्तुत भएको थियो ।
कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाले विद्यालय सञ्चालनका क्रममा आवश्यक स्वास्थ्य सुरक्षाका विधि पूर्ण रुपमा पालना गर्न अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *