महिलाहरूको मुक्तिका लागि कामदार वर्गका महिलाहरू नै आन्दोलित हुनुपर्ने

राजनीति विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाता

बुटवल, २८ फागुन

महिलाहरूको मुक्तिका लागि कामदार वर्गका महिलाहरू नै आन्दोलित हुनुपर्ने

नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले कामदार वर्गका महिलाहरूको मुक्तिका लागि कामदार महिलाहरू नै आन्दोलित हुनुपर्नेमा जोड दिए।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी महिला सङ्घ रूपन्देहीद्वारा तिलोत्तमामा आयोजित महिला कार्यकर्ता भेलामा अध्यक्ष थापामगरले पुँजीपतिवर्गका महिलाहरूले नारी दिवसको नाममा महँगा होटलहरूमा जाँड–रक्सी पार्टी गरेर महिला सङ्घर्षकै अपमान गरिरहेको चर्चा गर्दै कामदारवर्गका महिलाहरूलाई सङ्गठित गर्न नेक्रामसङ्घ जुझारू भएर लागिरहेको बताए।

‘भोकाएकाहरूले खोलावारि खाउँ अघाएकाहरूले खोला पारि’को भनेजस्तै महिलाहरूबिचमै वर्गीय आधार विचार र दृष्टिकोण फरक हुनु स्वाभाविक छ भन्दै अध्यक्ष थापामगरले समाजवादी व्यवस्थाले मात्र नेपाली जनताको इच्छा आकाङ्क्षा पूरा गर्नसक्ने बताए।

नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुपर्ने ऐतिहासिक पक्षबारे चर्चा गर्दै महिला आन्दोलनकै कारण अठार घण्टासम्म काम गर्न बाध्य कामदारहरूले कामको अवधि आठ घण्टामा सीमित गरिएको स्पष्ट पारे।

नेपाल मजदुर किसान पार्टीले कामदार महिलाहरूको व्यावहारिक जीवनमै परिवर्तन ल्याउन सङ्घर्ष गरिरहेको बताउँदै अन्तराष्ट्रिय श्रमिक महिला नेतृहरूको जीवनी अध्ययनबाट नेपाली महिलाहरूलाई पनि आन्दोलित हुन उत्साह दिने बताए।

नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले दलाल पुँजीवादी शासक दलहरूको अकर्मण्यताकै कारण देशमा आर्थिक समस्या बढेको उल्लेख गर्दै बैङ्कहरूमा विदेशी पुँजीको प्रभावकै कारण साना व्यवसायीहरूले धमाधम सटर बन्द गर्न बाध्य भए पनि बैङ्कहरूले नाफा कमाइरहेको स्पष्ट पारे ।

नेक्रामसङ्घ रूपन्देहीका अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले सुशीला पौडेलकै अध्यक्षतामा नेक्रामसङ्घ रूपन्देही पुनःगठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *