काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने तयारी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ भदाै

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् ।

उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ ।

तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा छलफल भएको छ ।

‘केही सम्भावनाबारे छलफल भएको छ, निष्कर्ष आइसकेको छैन’, ललितपुरका सीडीओ भट्टले भनेका छन् । अर्का एक प्रमुख जिल्ला अधिकारीले भने मोडालिटी तय गरेर गृह मन्त्रालयमा पेश गर्ने निर्णय भएको बताए ।

हालसम्म भएको छलफलअनुसार आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिनेछ । ‘निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने भन्ने छ’, एक अधिकारीले भने ।

तर, यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि नै हुनेछ । ‘हामी एकखाले निर्णयमा पुगिसकेका छौं, भोलि यसबारे गृहमा छलफल गरेर निर्णय हुन्छ’, काठमाडौंका सीडीओ दाहाल भन्छन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

दोस्रो पटक निषेधाज्ञा थप्ने निर्णय पनि निषेधाज्ञा सकिने दिन मात्र गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *