Friday, May 17, 2024

भक्तपुरको नपली र चोखाभानेमा सङ्क्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ४ भदाै

बिहीबारको तथ्याङ्कअनुसार भक्तपुर नपा वडा नं १ नपली सल्लाघारीका एक जना २० वर्षकी महिला कोभिड–१९ सङ्क्रमित भएकी छिन् । उनी नपलीमा डेरा गरी बस्दै आएका हुन् । उनी डेरा गरेको घर प्रहरीले बिहीबार बेलुकी सिल गरेको स्थानीय वडाअध्यक्ष श्यामकृष्ण खत्रीले बताए । सङ्क्रमितलाई हाल खरिपाटीस्थित आइसोलेसन केन्द्रमा पठाइएको छ ।
भक्तपुर नपा वडा नं ९ चोखाभानेका एक जना ४२ वर्षका पुरुष पनि कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित काठमाडौं टुकुचामा तरकारी लाने गाडीका चालक भएको खुलेको छ । उनमा कुनै पनि खालको रोगको लक्षण नदेखिएको हुँदा चिकित्सकको सल्लाहमा घरमै आइसोलेसनमा रहेको बताइएको छ ।
तनहुँको दमौली घर भई हाल भक्तपुर नपा वडा नं १० कमलविनायक आवास क्षेत्रमा डेरा गरी बसेका एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । सनराइज बैङ्क गोगबुँ शाखाका कर्मचारी उनी हाल खरिपाटीस्थित आइसोलेसन सेन्टरमा रहेको भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले बताए। बिहीबार बिहान उनी डेरा बस्दै आएको घरमा प्रहरीले सिल गरेको छ । सूर्यविनायक नगरपालिकाको सुन्दरबस्ती र बालकोटका २८–२८ वर्षका एक–एक जना महिलामा कोभिड–१९ सङ्क्रमण फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले दिएको जानकारीअनुसार बिहीबार नै मध्यपुर थिमि नपामा ६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले दिएको जानकारीअनुसार मध्यपुर थिमि नपा वडा नं ८ बोडेका एक जना ३३ वर्षका पुरुषमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नपा नगदेशका ४५ वर्षका एक जना पुरुष पनि सङ्क्रमित भएको स्रोतले बताएको छ । त्यस्तै मध्यपुर थिमिका २५ र ४० वर्षका दुई जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । मध्यपुर नपा वडा नं ९ का ५४ वर्षका एक जना पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।
सप्तरी घर भई हाल मध्यपुर थिमि नपा लोकन्थली बस्दै आएका २६ वर्षका एक पुरुष पनि सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *