उपत्यकामा मंगलबार साँझसम्म ८० जनामा कोरोना संक्रमण, एक तिहाई बाहिरबाट आएका

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० साउन

संक्रमितको संख्या बढ्दा व्यवस्थापनमा कठिनाई

मंगलबार साँझ ७ बजेसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा  ८० जना कोरोना भाइरसको संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी समेत रहेको छन्।

बाँकी संक्रमितहरुमध्ये एक तिहाई संक्रमित उपत्यका बाहिरबाट आएका हुन्। तीमध्ये पनि प्रदेश नम्बर २ का सबै जिल्ला र भारतबाट आउने बढी संक्रमित  छन्।

संक्रमण देखिनेमा लकडाउनका समयमा घर गएर फर्किएकाहरु नै बढी छन्। जसमा कपाल काट्ने, तरकारी तथा फलफूल बेच्ने, मजदुरी गर्ने र अन्य व्यवसाय गर्ने व्यक्तिहरु बढी रहेका महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार केही व्यक्तिहरु भने कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा परीक्षण गर्दा संक्रमित पाइएका हुन्।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या हुन थालेको छ।

प्रदेश नम्बर २ बाट काठमाडौं छिर्नेमध्ये धेरैजना काभ्रे र भक्तपुरको साँगाहुँदै आएको देखिन्छ। जसका कारण भक्तपुरमा संक्रमित बढी देखिएको महाशाखाले जनाएको छ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डे उपत्यकाका बुढानिलकण्ठ, कपन, शंखमूल, कालीमाटी, नख्खु, गोदावरीका साथै भक्तपुरका विभिन्न ठाउँहरु संक्रमण देखिएको बताउँछन्।

उनले भने,‘अहिलेको अवस्थामा धेरैजसो बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण देखिएको छ। अहिले यो ठाउँ भन्नेर छुट्याएर बस्ने अवस्था छैन। किनभने जोखिम सबै ठाउँ तिर छ। सबै तिर सर्तक भएर बस्नुपर्छ।’

दिनहुँ संक्रमितको संख्या बढ्दै जाँदा कोरोना उपचारका लागि छुट्टाइएका अस्पतालका बेड भरिएका छन्। जसले नयाँ संक्रमितलाई कहाँ  राख्ने भन्ने अलमल बढाएको छ।

उपत्यकाका संक्रमितको व्यवस्थापन गर्ने जिम्मेवारीमा रहेका महाशाखाका उत्तम कोइरालाले भने,‘हाम्रो अहिलेको व्यवस्थापनले अब निकै गाह्रो भएको छ। अस्पतालमा आइसोलेसन वेड बढाउनुपर्छ।’

‘होम आइसोलेसनमा बस्ने मापदण्ड भएपनि जनता संक्रमित भएपछि घरमा बस्न मानेका छैनन्। हरेक दिन ७० भन्दा बढी संक्रमित देखिन थालेका छन्। कसरी व्यवस्थापन गर्ने?’, उनले प्रश्न गरे।
उनले उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ३९१ आइसोलेसन बेड रहेको  जानकारी दिए।  उनले भने,‘सबै वेड संक्रमितले भरिएका छन्।’

लक्षण नभएका संक्रमितलाई तोकिएको मापदण्ड पालना गरेर घरमै आइसोलनसमा बस्न सरकारले भनेको छ। संक्रमित व्यक्तिले बस्न चाहेपनि समुदायले बस्न नदिँदा समस्या आइरहेको महाशाखाका कर्मचारी बताउँछन्।

महाशाखाका एक कर्मचारी भन्छन्,‘भाडामा बस्नेलाई त घरबेटी बस्न दिँदैनन्। काठमाडौंमै घर भएका ती जनालाई देखिएको थियो। उनीहरु घरमै आइसोलेसन बस्न चाहेका थिए तर समुदायले विरोध गरेपछि अस्पताल लैजानुपर्‍यो।’

हालसम्म काठमाडौं बसिरहेका ८ परिवारका सदस्यहरुलाई कोरोना संक्रमण देखिएको छ। उनीहरुको ट्राभल हिष्ट्री नभएपनि बाहिर जिल्लाबाट आएका व्यक्तिबाट संक्रमण सरेको देखिएको महाशाखाले जनाएको छ।

संक्रमितको व्यवस्थापनमा खटिएका स्वास्थ्य कर्मचारीले उपत्यकामा केही समय लकडाउन गरिनुपर्ने बताएका छन्। उनीहरुले उपत्यकामा अत्यावश्यक काम बाहेक अन्यलाई प्रवेश निषेध गर्नुपर्ने बताए।

त्यसबाहेक प्रभावित जिल्ला र पालिकाले आफ्ना नागरिकलाई बिनाकारण बाहिरी जिल्ला निस्कन कडाई गर्ने, उपत्यका छिर्ने नाकामा स्वास्थ्यकर्मीले स्वाब संकलन गर्ने र स्वाब लिइएको व्यक्ति कहाकहाँ गएको छ भने निगरानी नगर्ने हो भने संक्रमण फैलनबाट रोक्न कठिन हुने उनीहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *