आज नागपञ्चमी , के छ यसको धार्मिक महत्व ?

पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १० साउन

काठमाडौं उपत्यकाका यी ठाउँमा गरिन्छ आज नागपञ्चमीको पूजा तथा आराधना

हिन्दु धर्म अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने चलन रहेको छ ।

नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको यस दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ ।

आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन रहेको छ ।
नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ ।

त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने चलन रहेको छ । आजको दिन नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा राख्ने गरिन्छ ।

यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास छ । आज अर्थात श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँदयाम सुरु हुने मानिन्छ ।

ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने चलन रहेको छ ।

कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा बिधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ । यो धार्मिक विधी विधान कुनै आडम्बर नभएको र कुनै अन्धविश्वास न भएको मानिएको छ । यसको आफ्नै वैज्ञानिक महत्व रहेको छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ । यसैले सर्प संगै मानिसको अस्तित्व पनि जोडिएको हुन्छ । मान्छे मात्र नभएर चराचुरुङ्गी तथा जगतमा पनि सर्पको कारण पर्यावणमा सन्तुलन मिल्ने हुन्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।

कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परिक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ ।

उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ सुरु गरे ।
यस महायज्ञमा सिद्ध ऋषिमुनी, साधु, पण्डितहरु आमन्त्रण गरियो । उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सर्प त्यही भष्म हुन्छ । तर स्वर्गमा ईन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा ईन्द्रसहित जन्मजयसम्म आइपुग्दछन् । यो देखेर सबै छक्क पर्छन् ।

तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफी मागेपछि उनले यज्ञ स्थगन गर्छन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पले पुनर्जीवन पाउँछन् ।
भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शैयमा फणको छातामुनि शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान गणेशको एक हातमा नाग छ । भगवान विष्णुको अवतारको रुपमा लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

नाग पञ्चमीमा काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी, ललितपुर मच्छेगाउँकाे नागदहलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *