भारतीय विस्तारबादको अतिक्रमण

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ५ साउन


भारतले एउटा दुईटा कुराहरुमा मात्रै होइन कि विभिन्न मामलामा वारम्बार नेपाल प्रति अतिक्रमण र आक्रमणका घटनाहरु दोहर्‍याइरहेको पाइन्छ । यो समयमा ठाउँ ठाउँमा दुबान शुरु भएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा एकतर्फी रुपमा ठाउँ ठाउँमा बाँध निर्माण गरेका कारण बर्षाद् मौसम आएसँगै सधैं दुबानमा पर्ने सम्भावना बढ्ने गरेको हो । वास्तबमा दुई देशको सीमा क्षेत्रमा त्यसरी एकतर्फी रुपमा निर्माण गर्न नहुने वा गर्नु परेको खण्डमा पनि दुवै देशको सहमति लिएर मात्रै नयाँ संरचना निर्माणको कार्य अगाडि बढाउनु पर्ने प्रावधान छ । यो अन्तर्राष्ट्रिय नियम नै हो । तर भारतले आफू अत्यन्तै ठूलो विस्तारबादी देश सम्झेर यसो गरे पनि नेपालले केही पनि गर्न सक्दैन, केही पनि भन्ने वाला छैन भनेर यसरी नियम विपरीत बाँध बनाएर प्रत्येक वर्ष झैं नेपाली भूमिलाई जलमग्न गराउँदै आइरहेका छन् । एक हिसाबले यो अपराध नै हो । जग्गा, जमिन र मानिसहरु समेत त्यसै दुबानमा पारेर मार्ने, नोक्सान पुर्‍याउने र जन्तु जनावरहरुको पनि ज्यान जाने क्रम निरन्तर जारी रहेको छ । यो क्रम जारी रहे तापनि नेपाल सरकार भने अहिले सम्म मौन रहेको देखिन्छ ।
सरकार मौन बसिदिएकै कारण भारतले एकतर्फी रुपमा ठाउँ ठाउँमा यस्ता बाँध बाँधेर बढी पानी बहने बेला पानी थुन्ने र पानी नहुने सुक्खा मौसम हुने बेलामा आफूहरु कहाँ सिँचाइ गर्नको लागि नेपाली भूभागमा रहेको पानी खोल्ने कार्य गर्दै आएको छ । लक्ष्मणपुर बाँध, खुर्दलोटन बाँध सहित दर्जनौं त्यस्ता अबैध बाँधहरु नेपालको भूमिमा पानी थुपार्नका लागि भारतीय पक्षले एकलौटी रुपमा निर्माण गरेका छन्, जसको कारण प्रत्येक वर्ष झैं बिघाका बिघा, कठ्ठाका कठ्ठा जग्गा भारतीय पक्षले नेपालपट्टि सित्तैमा प्रयोग गरी दुःख दिइरहेका छन् । नेपालका शासकहरु प्रबुद्ध, सचेत र प्रतिरोध गर्न सक्षम भइदिएको भए त्यसरी भारतले एकतर्फी रुपमा बाँध बनाउन सक्ने थिएन । पूर्व तयारी नभएको र नमिल्ने स्थानमा बाँध बनाएकै कारण यो समयमा नेपालका भूभागहरु दुबानमा पर्ने गरेका हुन् । यो साउन भदौ महिनासम्म निरन्तर जारी रहने छन् । सडक बाटोमा हिड्न मिल्दैन, स्थानीय जनताले पालेका जन्तु जनावरहरु पनि सो चौर वा खुला घाँसे मैदानसम्म पुगेर चराउन सकिन्न । सबै पानीले भरेको हुन्छ । यो हाल मात्रै होइन कि लामो समयदेखि तराइमा देखिने गरेको समस्या हो ।
यो समयमा नेपाली जनताले देशमा सरकार छ कि छैन भन्ने प्रश्न गर्ने गरेका छन् । सरकार भनेकै जनतालाई समस्या पर्दा समाधान गर्नको लागि गठन गर्ने गरिन्छ । तर हाल त्यसो भएको देखिन्न । यहाँ त सरकार खाली जनतासँग कर उठाउन, दण्डा खुवाउन, कुनै समूहले आफ्नो हक अधिकारका लागि माग अगाडि सारेर संघर्षमा उत्रियो भने पनि जेलमा कोच्न मात्रै गठन गरेको देखिन्छ । जलमग्न भएको तराइ भूभाग र अबैध भारतीय बाँध भत्काउन जन्मेको होइन जस्तो लाग्छ । होइन भने भारतीय पक्षले दैनिक रुपमा बाढी आएको खाली तुलुतुलु हेरेर आफ्नो जमिनमा जलमग्न गराई पानी थुनेको हेरेर मौन बस्ने कार्य नेपाल सरकारले नगर्नु पर्ने थियो । यहाँ काम गरी खाने दुःखी गरीब मेहनेती जनताको कसैले पनि कदर गरेको छैन । सरकारले उनीहरुको उचित बन्दोबस्त गर्ने, कृषकलाई सुबिधाहरु बढाइ दिने र कृषि प्रधान देशमा हुनुपर्ने सहुलियत र सुविधा दिन सकिरहेको छैन । खोकना र बुंगमती क्षेत्रका कृषकहरुको कुरा गर्ने हो भने किसानहरुलाई उल्टै लाठी, अश्रुग्याँस र हवाई फायर गरी यहाँ रोपाईं नगर्नु, अनिकाल परे तापनि होस् तर जनताले सरकारको आदेश पालन गर्नुपर्छ भन्दैछन् ।
विकासको नाममा संस्कृति सम्पदा स्थल र उत्पादनशील जग्गा सबै अतिक्रमण भएको हेरेर बस्ने, कृषि उत्पादन बढी हुने तराइ क्षेत्रमा जग्गा जमिन जलमग्न भएपनि सरकारले पटक्कै वास्ता नगर्ने र ठेकेदारहरुको कमिशनका कारण कच्चा निर्माण गरी सम्पन्न भएको प्रतिवेदन बुझाए पनि मौन बस्ने प्रबृत्तिले भारतले कहाँ कहाँ बाँध बनाए त्यहाँ त्यहाँ हामी आफै पुगेर भत्काउनु पर्दछ भन्ने धारणा कसरी पैदा हुन सक्ला र ? वास्तवमा राजनीतिक पार्टीको दवाव र प्रभावले मात्रै कतै कतै लक्ष्मणपुर बाँध, खूर्दलोटन बाँध जस्ता अबैध रुपमा बनाइएका बाँधहरु हुन् भनेर कहिले काहीं नेपाल सरकारले बोल्ने गरेको हो । होइन भने यो समयमा कुनै पनि खालको कार्य सरकारले गरिरहेको छैन । यसको दोष भारतप्रति सदा झैं नतमस्तक हुने नेपाली नेताहरुको स्वभावलाई दिनु पर्ने हुन्छ ।
हाले झापाको दक्षिणी भूभाग भारतीय सीमावर्ती क्षेत्रमा भारतीय सेना नेपाल प्रवेश गरी त्यहाँको गौरीगञ्ज गाउँपालिका–५ मा रहेको सशस्त्र प्रहरीको पोष्टलाई भारतीय अज्ञात समूहले प्रवेश गरेर आक्रमण गरेको समय दुई नेपाली प्रहरी जवान घाइते भएका छन् । यस्ता घटना यो नै पहिलो भने होइन । वानेश्वरमा समेत भारतीय सेनाले खुलम खुला प्रवेश गरी उनीहरुको बूथले हाम्रो जमिन कुल्चने काम गरेको थियो । यसो गर्नुको अर्थ खाली उनीहरु प्रवेश गरेर अतिक्रमण गरेको मात्रै नभै नेपाल आमाको छातीमा बूथले कुल्चेको सरह नै अत्यन्तै निन्दनीय कार्य हुने गरेको छ । हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनताका लागि यो अत्यन्तै असह्य काम कुरा भएको छ । हामीले यस्तो कार्यको लागि छुट दिनु हुन्न । गत शनिवार राति ९ बजे चालीस पचास जना भारतीय पक्षबाट नेपाल प्रवेश गरेका ती अज्ञात समूहले सीमा क्षेत्रको नेपाली प्रहरी पोष्टमा अतिक्रमण गरेको घटनालाई साधारण रुपमा हेर्ने वा गम्भीर रुपमा लिने भन्ने कुराले नै नेपालको सार्वभौमिकता रक्षाका लागि नेपाल सरकार कतिको सम्वेदनशील छ भन्ने देखाउँछ । घरेलु हतियार लिएर आएका भारतीय अज्ञात समूहको यो अतिक्रमणले चौकीका दुई नेपाली सशस्त्र प्रहरीहरु घाइते भएका छन् । यो भोलि गएर नेपालप्रति अतिक्रमण गर्ने शुरुआत पनि हुन सक्दछ । हामीले शुरु भएकै बखत त्यसको उचित जवाफ दिनु पर्दछ । कुटनीतिक रुपमा समस्याको समाधान गर्न सक्नु पर्दछ । यदि त्यसो गर्न सकिएन भने समस्याले विकराल रुप लिनेमा दुई मत हुन्न । त्यसैले पनि यो सामान्य घटना हो भनेर नबसिकन केन्द्रीय सरकारलाई समस्या अवगत गरी समाधानको लागि उचित मार्ग बनाउनु पर्दछ ।
यो क्षेत्रमा रहेको डाँगीटोलको पिलर नम्बर १५२ को त्यस्तै तीन सय मिटरजति पूर्वमा रहेको अस्थायी प्रहरी पोष्टमा एक्कासी आक्रमण गरेको हो । भारतीय पक्षले त्यो बेला भाला, खुकुरी, रड, दाउराको चिर्पट लिएर आएका थिए । त्यस प्रकारको जस्तो सुकै हतियार लिएर आएको भए तापनि आफूलाई पर्दा हामी नेपालीहरुले पनि भारतीय पक्षको अतिक्रमणको कडा सामना गर्न सक्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *