काठमाडौं उपत्यकामा पीसीआर परीक्षण ४८०० को गर्दा कोरोना पोजिटिभ ३ जना मात्र

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ साउन

काठमाडौं उपत्यकाबाट बाहिर नगएका (ट्राभल हिस्ट्री) व्यक्तिलाई समेत कोरोना पोजिटिभ देखिएपछि सरकारले समुदायमा कोरोनाको स्थिति पत्ता लगाउन परीक्षणलाई तीव्र बनाएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हालसम्म गरिएको ४ हजार ८ सय जनाको पिसिआर परीक्षणमा ३ जनाको मात्र पोजिटिभ आएको छ। टोखा क्षेत्रका ३ जनामा कोरोना पोजिटिभ आएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती ३ जनामध्ये २ जनाको ट्राभल हिस्ट्री देखिएको छ भने एकजना ब्युटिपार्लरमा काम गर्ने महिलालाई देखिएको हो। उनको सम्पर्कमा आएका अन्य १५० जनाको पनि नमुना परीक्षण गरिएको थियो। उनीहरुको रिपोेर्ट आउन बाँकी छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले उपत्यका विभिन्न स्थानबाट लिइएको नमुना परीक्षण गर्दा आएको रिपोर्टका आधारमा समुदायमा संक्रमण नभएको तर उच्च जोखिम भने रहेको बताए।

उपत्यका ४ हजार ७ सय ९७ जनाको नेगेटिभ रिपोर्ट आएको डा पाण्डेले बताए। उनले भने, ‘यो समुदायका व्यक्तिबाट लिइएको नमुनाको रिपोर्ट हो। यसमा विभिन्न अस्पताल र बाहिरबाट आउने मानिसहरुको परीक्षणको संख्या समावेश गरिएको छैन।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन १ गते सामाखुसी क्षेत्रबाट संकलन गरेको २ सय ३९ नमुनाको भने परीक्षण हुन बाँकी छ। आज मनमैँजु क्षेत्रमा नमुना संकलन गर्ने कार्य भइरहेको महाशाखाले जनाएको छ।

ट्राभल हिस्ट्री नभएका व्यक्तिमा समेत संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको आंशका गरिएको थियो। परीक्षणको दायरा पर्याप्त नभएको भन्दै सरकारको आलोचना भएपछि उपत्यकाभित्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा पाँच हजार र उपत्यका बाहिर सिसिएमको नेतृत्वमा ४० हजार गरी ४५ हजारको पिसिआर परीक्षण गर्ने निर्णय भएको थियो।

महाशाखाले नख्खु, कोटेश्वर, बोडे, सहिद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका,  शंखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, मनोहरा, टोखा लगायतका स्थानबाट नमुना लिइएको थियो।

यस्तै उपत्यकामा महाशाखाले मानिसहरुको बढी भिडभाड हुने स्थान र कार्यालयहरु जस्तैः बैंक, अस्पताल, मालपोत, कर कार्यालय लगायतका स्थानबाट स्वाब संकलन गरेको हो।

डा पाण्डले अहिलेको अवस्थामा समुदायमा संक्रमण नदिएपछि संक्रमणको जोखिम उच्च रहेको बताउँछन्। उनले मानिसहरु लकडाउन अगावैको जस्तो गरी सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाई भीड जम्मा गरेर बस्ने, हातको सफाइमा ध्यान नदिने धेरै देखिएकोले संक्रमणको उच्च सम्भावना यथावत रहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमणको जोखिम अझै रहिरहेकाले अरुबाट आफूलाई संक्रमण नहोस र अरुलाई पनि आफूबाट संक्रमण नहोस भनेर सतर्क रहनुपर्ने बताए।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर पनि लकडाउन खुकुलो बनाइनुको अर्थ कोरोना भाइरसको संक्रमण आउनुभन्दा अघिको जस्तो सामान्य अवस्था नभएकाले हाम्रो वरिपरि अझै पनि कोरोना भाइरस रहिरहेकाले पुनः यसको संक्रमण फैलन सक्ने बताउँछन्।

उनी अहिलेको अवस्थामा थप सचेत हुँदै अन्य मानिससँग दूरी कायम गर्न, भीडभाडमा नजान, मास्क प्रयोग गर्न, बारम्बार साबुनपानीले हात धुन र खोक्दा वा हाछ्युँ गर्दा कुहिनोले नाकमुख छोप्न सुझाव दिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *