न्यूज अपडेट
भक्तपुर, २ साउन
“अक्साई चीन फिर्ता लिएरै छाड्छौँ”, एक वर्षअघि भारतीय संसद्मा गृहमन्त्री अमित शाहले बडो फुर्तीका साथ भन्दै थिए । अक्साई चीनको वास्तविकता थाहा नपाइकन राष्ट्रवादको धङधङीमा धेरै भारतीय जनताले भारतीय जनता पार्टी र मोदीको खुब तारिफ गरे । भाजपाको रणनीति नै यस्तो छ कि भविष्यमा वाचा पूरा गर्न नसके पनि वर्तमानमा जनतालाई खुसी पार्न जस्तोसुकै झूट पनि बोलिदिने । भारतीय जनतासँग मात्र सरोकार भए त केही समयपछि जनताले बिर्सेलान् तर यो सीधै चीनसँग सरोकार भएको हुँदा मोदीले सोचेजस्तो भएन । धेरै बोल्न नचाहने तर काम गरेर देखाउने चीनले भाजपाका नेताहरूको मुखबाट निस्केको अक्साई चीनको कुरालाई मनमा राखेको हुनुपर्छ । उपयुक्त समय पर्खने र समय आएपछि देखाइदिने चीनको स्वभावअनुसार अक्साई चीनको दाबी गर्ने भारतको अधीनमा रहेको गलवान क्षेत्रसमेत चीनले दाबी गरिसकेको छ ।
मोदी सरकारले संविधानको धारा ३७० हटाएर अमित शाहलगायतका भाजपाका नेताहरूले पाकिस्तान नियन्त्रित काश्मिर र अक्साई चीन कब्जा गर्ने गरेको घोषणाले पाकिस्तानसमेत सशङ्कित भएको छ । आफ्नो कार्यकर्तालाई अखण्ड भारतको सपना देखाएर राष्ट्रवादको माहोल बनाएर हरेक चुनाव जित्ने उद्देश्य राख्ने मोदीले भारतबाहेक सबै छिमेकी मुलुकसँगको सीमा विवाद हल गरिसकेको चीनलाई विस्तारवाद भनेर विरोध गर्नु दोहोरो चरित्र हो । आफैँले एक स्वतन्त्र राष्ट्र सिक्किम निलेर विस्तारवादी भएको बिर्सेछ । अखण्ड भारत भनेर बर्मादेखि अफगानिस्तानसम्म भारत रहेको भनेर हुबहु बेलायती साम्राज्यवादी चरित्र देखाउँदै छन्, मोदी । कमजोर छिमेकी मुलुकलाई हेपाहा प्रवृत्ति देखाउने सम्पन्न मुलुक भए तिनीहरूको गुलामी गर्ने सोच भएको मोदीले अर्को देशलाई विस्तारवाद भन्नु आफ्नो कमजोरी लुकाउनुमात्र हो । अहिले पनि नेपालको सीमा विवादलाई समाधान गर्न नेपालले राखेको प्रस्तावलाई मोदीले टेरपुच्छर लाएको छैन तर अष्ट्रेलियाजस्तो देशको प्रधानमन्त्री सँगसँगै समोसा खाने भनेर ‘भिडियो गफ’ गर्न भने भ्याएका छन् ।
चीनसँगको यही तनाबको बीच भारत अमेरिकाको रणनीतिमा फस्दै छ । अमेरिकालाई बन्दुक राख्नको लागि केवल काँध चाहिन्छ । अमेरिका कसैको साथी भएको छैन, न त यो कसैको साथी नै हुनेछ । उसले आफ्नो चासोमात्र राख्छ । मित्रता स्वाङमात्र हो । चीनसँग तनाबमा रहेको भारतलाई अमेरिकाले आफ्नो महँगो हतियार बेच्न चाहन्छ । सन् १९७२ मा पाकिस्तानसँग भएको द्वन्द्वमा अमेरिकाले भारतलाई तर्साउन आफ्नो जहाजी वेदा पठाएको थियो । यस्ता मुलुकबाट भारतले चीनसँग युद्ध भए सहयोग पाउँछ भनेर आशा गर्नु मूर्खतामात्र हो । अमेरिकाको विश्वास हातपार्नु मृगमरीचिकाजस्तै हो । आफ्नो स्वार्थको लागि दशकौँदेखि आफ्नो पक्षमा रहेका मित्र राष्ट्रप्रति पनि घात गर्ने राष्ट्र हो, अमेरिका । पश्चिमी युरोपेली देशसँग अमेरिकाको मित्रता छ तर अहिले अमेरिकाले द्वन्द्व निम्त्याइरहेको छ । आफैँले तैनाथ गरेको जर्मनीमा रहेको अमेरिकी सेनामाथि हुने खर्च जर्मनीसँग मागेको छ । जर्मनीले नमानेपछि त्यहाँ तैनाथ सेना फिर्ता लग्ने ट्रम्पले घोषणा गरे । यता भारतलाई ती सेना पठाएर सहयोग गर्ने आश्वासन दिए । यस्तो कच्चा खेल खेलिरहेको छ, अमेरिका । यस्तो पृष्ठभूमि भएको देशको लहैलहैमा भारत चीनसँग जोरी खोजेर एसियामा अशान्ति मच्चाउन उद्यत देखिन्छ ।
अमेरिकाको इतिहास नै यस्तो छ, अमेरिका जहाँ जान्छ यसले सम्पूर्ण क्षेत्रलाई उजाड पार्छ । भियतनाम, इराक, सिरिया, अफगानिस्तानको उदाहरण लिनुहोस् । रसियाले अफगानिस्तानमा प्रवेश गर्दा अमेरिकाले पाकिस्तानबाट सहयोग लिएको थियो र रूस पछाडि फर्किसकेपछि उसले पाकिस्तानलाई दूधमा परेको झिङ्गालाई फ्यालेजस्तै फाल्यो । तालिवानसँग सम्झौता गरेर वर्तमान अफगानी सरकारलाई समेत बेवास्ता गर्यो । कर्णेल गद्दाफीलाई सत्ताच्युत गर्न त्यहाँका विद्रोहीलाई सहयोग गर्यो । गद्दाफीको हत्यापश्चात् लिबियाको हाल सबैलाई थाहा भएकै छ ।
आफ्नो प्रभुत्व बिस्तारै कमजोर हुँदै गइरहेको अवस्थामा अमेरिका कुनै न कुनै कारण चीनलाई युद्धमा अल्झाएर फेरि आफ्नो प्रभुत्व बढाउन सकिन्छ कि भन्ने सोचको परिणाम हो भारतलाई चीनविरुद्ध उचाल्नुको कारण । अर्को महत्वपूर्ण कारण केही महिनापछि हुन गइरहेको अमेरिकी राष्ट्रपति चुनाव हो जसमा ट्रम्पको हार हुने विभिन्न सर्वेक्षणले देखाएको छ । यो हारलाई टार्न सकिन्छ कि भनेर ट्रम्प नक्कली राष्ट्रवाद देखाएर चीनविरुद्ध कुनै न कुनै निहुँ खोज्न चाहिरहेको छ जसको लागि भारत उपयुक्त पात्र भएको छ । तर, चीनले यो कुरा बुझेर भरसक युद्धलाई टाल्ने प्रयास गरेको हुनुपर्छ । अहिलेको कोरोनाको महामारीको अवस्थामा अमेरिकाको लागि ठुलो आर्थिक क्षेत्रमा चुनौती हुन गइरहेको छ । यदि युद्ध भए आफ्नो हतियार बेचेर जर्जर आर्थिक अवस्थालाई सुधार्न सकिने सोच अमेरिकाको छ । चीनले अमेरिकाको सम्पूर्ण अर्थतन्त्रलाई हल्लाएको छ । त्यही रिसको उपज उसले चीनको विरुद्ध धेरै षडयन्त्र गरिरहेको छ । यो कुरा निश्चित छ कि यदि अमेरिका र भारत चीन युद्धमा सामेल हुन्छन् भने यसले निश्चितरूपमा विश्वयुद्ध निम्त्याउनेछ ।
यस्तो अवस्थामा अमेरिकाले चीनलाई कसरी नियन्त्रण गर्ने भनेर सोचिरहेको छ । तसर्थ, अमेरिकाले चीनलाई विभिन्न किसिमका आरोप लगाउँदै छ र ऊ चीनको प्रगति रोक्न चाहन्छ । अमेरिका दक्षिण चीन सागरमा चीनलाई नियन्त्रण गर्ने रणनीतिमा पनि काम गर्दै छ । अमेरिकाले यसको वरिपरि दक्षिण कोरिया, जापान र अस्ट्रेलिया परिचालन गर्न खोजिरहेको छ । यसमा उसले मलेसिया र इन्डोनेसिया पनि समाहित गर्ने प्रयास गरिरहेको छ । यस परिचालनमा अमेरिका भारतलाई जोड्न कडा परिश्रम गरिरहेको छ । भारत पनि यसमा सामेल हुन बिस्तारै अगाडि बढिरहेको छ । अमेरिकाले कोरोनाको सम्पूर्ण जिम्मेवारी चीनलाई बनायो र यसको अनुसन्धानको माग गर्यो र भारतले यसलाई समर्थन गर्यो । यसरी बिस्तारै भारत अमेरिकाको घेराबन्दीमा परिरहेको छ ।
‘सर्प पनि मरोस्, लट्ठी पनि नभाँचियोस्’ को रणनीतिमा अमेरिका छ । चीनसँगको युद्धमा अमेरिकाले भारतलाई सहयोग पुर्याउँछ भनी सोच्नु भारतको मूर्खता हुनेछ । अमेरिकाले भारतका लागि लडाइँ गर्न सेना पठाउँछ भनी ठान्नु गलत हुनेछ । अमेरिकालाई उपयुक्त जवाफ दिनसक्ने उत्तर कोरिया, इरान वा चीनजस्ता देशहरूलाई अमेरिकाले कहिल्यै छोएन । अमेरिकासँग आफ्नै धेरै समस्याहरू छन्, कोरोना भाइरस, अर्थव्यवस्था । चीनसँग अमेरिकासम्म मार हान्न सकिने मिसाइलहरू छन् । धेरै चीजहरूको लागि अमेरिकालाई चीन चाहिन्छ । अमेरिकी अर्थव्यवस्था चीन अर्थव्यवस्थाको समर्थनबिना बाँच्न सक्दैन तर अमेरिकाको लागि भारतको त्यस्तो कुनै महत्व छैन । त्यसकारण, अमेरिकाले सक्रियताका साथ भारतलाई सहयोग गर्ने आशा कम छ । अमेरिकाले धोका नदिइएको देश भेटाउन गाह्राे छ । अमेरिकाले मात्र अमेरिकालाई फाइदा पुर्याउँछ । अमेरिकाले चीनलाई पराजित गर्न सजिलो बनाउनको लागि भारत चीनसँग लडाउन चाहन्छ । अमेरिकामाथि भर पर्नु भनेको भारतले आफ्नो जीवन गुमाउनु हुनेछ । तर, भारतको पछिल्लो गतिविधि हेर्दा मोदी आफैँ अलमलमा छन् ।(स्राेतः अनलाइनमजदुर)

