नेपालमा युवालाई किन देखियो कोरोना?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक ३५ वर्षीय युवाको मृत्यु भयो। उनको स्वाब परीक्षणमा कोरोना पोजिटिभ भेटिएको थियो।

उनी बिहान ७ बजे एक्कासी ढलेका थिए। उनको शरीरमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिएको थिएन।

नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो छ। एकै दिन सयभन्दा बढी संक्रमित भेटिन थालेको छ। संक्रमितको तथ्यांकलाई केलाउने हो भने युवा उमेर समूहमा संक्रमण बढी देखिएको छ। कोरोना पोजिटिभि भेटिएकामध्ये अधिकांशमा दैलेखका ३५ वर्षीय युवाको जस्तै लक्षण समेत देखिएको छैन।

विश्वमा कोरोनाको प्रभाव ५० वर्षभन्दा माथिको उमेर समूहमा देखिएपनि नेपालमा भने  युवामा बढी देखिएको छ। नेपालमा देखिएका संक्रमितमध्ये अधिकांश युवा उमेर समूहका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार साँझसम्मको तथ्यांक अनुसार २१ देखि ३० वर्ष उमेरका ५ सय ३० जना संक्रमित छन्। ३१ देखि ४० वर्षका ३ सय २७ जना छन्। ११ देखि २० वर्षका २ सय ९६, ४१ देखि ५० वर्षका १ सय ४३ जना संक्रमित छन्।

५१ देखि ६० वर्षका ४५, ६१ देखि ७० वर्षका १७, ७१ देखि ८० वर्षका ५ र ८० वर्षका माथिका १ जनामा मात्र कोरोना देखिएको छ। १० वर्ष सम्मका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

युवामा कोरोनाको प्रभाव किन? भन्ने प्रश्नमा विज्ञहरु भन्छन्, ‘भारतबाट आउने अधिकांश युवा छन् र बढी सक्रिय हुने पनि युवा नै छन्। त्यसैले संक्रमण पनि उनीहरुमा बढी देखियो।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनका अनुसार कोरोनाको प्रभाव विश्वभरकै युवामा बढी देखिएको छ। नेपालको सन्दर्भमा भने विदेश र भारतबाट आउने अधिकांश युवा भएकाले संक्रमण पनि युवामै बढी देखिएको उनी बताउँछन्।

उनले भने, ‘विदेश र भारतबाट आएकामध्ये अधिकांश युवाहरु छन्। युवाहरु नै दैनिक जीवनमा बढी सक्रिय पनि हुने गर्छन्। त्यही भएर पनि उनीहरुमा संक्रमण बढी देखिएको हुन सक्छ।’

युवामा संक्रमण देखिएपनि वृद्धवृद्धा र दीर्घरोगी बढी जोखिममा पर्ने उनले बताए। वृद्धवृद्धाहरु लकडाउनका कारण घरभित्रै बसेका छन्। यही कारण पनि उनीहरुमा कोरोना संक्रमण धेरै नेदेखिएको डा पुनको भनाई छ।

अर्का सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीको बुझाई पनि उस्तै छ। उनी भन्छन्, ‘विभिन्न श्रम गर्न जानेमा बढी युवा नै हुन्छन्। त्यसैले संक्रमणको जोखिममा पनि उनीहरु नै बढी पर्छन्। अहिले लकडाउनका कारण वृद्धवृद्धाहरु घरभित्रै बसेका कारण उनीहरु अन्यको सम्पर्कमा आएका छैनन्।’

युवाबाट नै वृद्धवृद्धामा कोरोना सर्ने जोखिम धेरै हुने उनले बताए। युवामा भन्दा वृद्धवृद्धामा मृत्युदर बढी भएकाले उनीहरु यसको बढी जोखिममा पर्ने उनले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला पनि युवाहरुले आगामी दिनमा वृद्धवृद्धा र दीर्घ रोगीहरुलाई पनि कोरोना सार्ने संभावना बढेको बताउँछन्। कोरोना संक्रमण समुदाय स्तरमा फैलिए भोलिका दिनमा वृद्धवृद्धा र दीर्घ रोगीहरुको संख्या पनि बढेर जाने उनले बताए।

उनले भने, ‘नेपालबाट विदेश अनि भारत जाने भनेको अधिकांश युवाहरु छन्। अहिले नेपाल फर्कनेहरु पनि उनीहरु नै छन्। लकडाउन भएपछि वृद्धवृद्धा र दीर्घ रोगीहरु घरमै बसेका छन्। त्यसैले युवामा बढी संक्रमण देखिएको हो।’

नेपालमा हालसम्म कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ७ पुगेको छ। उनीहरुमध्ये केही दीर्घ रोगी थिए। मृत्यु भएकाहरुमा पनि कोरोनाको लक्षण नदेखिएको पाइएको छ। अधिकांशको मृत्युपछि आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो।

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको विषयमा सरकारले अध्ययन अनुसन्धान गर्नुपर्ने डा. पुनको जोड छ। उनी भन्छन्, ‘यस विषयमा अध्ययनको खाँचो छ। मृत्यु भएका व्यक्तिमा कोरोना पोजिटिभ देखियो भने कोरोनाकै कारण भनिन्छ। किनभने अधिकांश संक्रमितमा लक्षण देखिएको छैन।’

कुनै पनि व्यक्तिको मृत्यु हुँदा परीक्षणका क्रममा कोरोना पोजिटिभ आए सरकारले त्यसलाई कोरानाका कारण मृत्यु भएको घोषणा गर्ने गरेको छ।

डा. सुवेदीले पनि अध्ययन बिनै यसै भन्न नसकिने बताउँछन्। उनले भने, ‘बिना लक्षण मानिसको मृत्यु भयो भनेर अनुमानको भरमा भन्न मिल्दैन। कतिपय मानिसमा फोक्सोमा असर नगरी मुटुको चाल, धड्कनमा पनि समस्या ल्याउन सक्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *