चार जना कोरोना संक्रमित उपचाररत अस्पताल : न पर्याप्त जनशक्ति, न उपकरण संक्रमितको अवस्था सामान्यः अस्पताल

विशेष समाचार समाचार स्वास्थ्य

सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरी चारजना कोरोना संक्रमित देखिइसकेका छन्। संक्रमित चारैजनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पताललाई सरकारले डेडिकेटेड कोरोना अस्पतालमा रुपान्तरण गरेको छ । तर, अस्पताल भने समस्या नै समस्यामा बल्झिएको छ । प्रदेशमा संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी राख्न अस्पतालहरूमा आइसियू र भेन्टिलेटर पर्याप्त छैनन् भने आवश्यकता अनुसारको जनशक्ति पनि छैनन्।

सेतीमा पाँच बेड सघन उपचार कक्ष (आइसियू) र एउटा भेन्टिलेटर मात्र छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सेतीमा २३ वटा आइसोलेसन वार्ड बनाइएका छन् । अस्पतालका चिकित्सक डाक्टर जगदीश जोशीले संक्रमण फैलिएको अवस्थामा यो तयारी पर्याप्त नरहेको बताए । उनले भने, ‘अहिलेलाई पर्याप्त भए पनि संक्रमण फैलिएको अवस्थामा भने भेन्टिलेटर, आइसियू र आइसोलेसन वार्डहरू थपिनुपर्छ।’

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठ भन्छन्, ‘अहिले हामीसँग एउटा मात्रै भेन्टिलेटर छ । अब तत्काल दुईवटा किन्ने तयारी भइरहेको छ।’

सेती प्रादेशिक अस्पतालमा तीनजना कन्सलट्यान्ट फिजिसियन र क्रिटिकल कन्सलट्यान्ट फिजिसियन छन् । ११ तहका ३० जना चिकित्सकको दरबन्दी भएपनि १४ जना मात्रै कार्यरत छन्,’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने।

अस्पतालमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ र मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त छ । बालरोग विशेषज्ञ हेमराज पाण्डेले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन्।

‘हामीकहाँ पहिलेदेखि नै चिकित्सकको अभाव थियो । त्यसैमाथि कोरोनाको परीक्षण र उपचार हुँदा थप समस्या परेको छ,’ उनले भने, ‘उपकरण पठाएको सरकारले चिकित्सक नपठाउँदा हामीलाई कठिनाई भएको छ।’

चैत १४ गते दुवइबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टी भयो । युवकमा कोरोना पुष्टी भएपछि उपचारमा संलग्न चिकित्सकहरु नजिक जान पनि डराए । कारण थियो– ‘व्यक्तिगत सुरक्षा कवच(पिपिइ) अभाव ।’ समयमै सरकारले चिकित्सकलाई आवश्यक सामाग्री उपलब्ध नगराउँदा उनीहरु जिम्मेवारीबाट पन्छिनुपरेको थियो । अहिले संघीय सरकारले सामाग्री उपलब्ध गराएपनि प्रयाप्त नभएको चिकित्सकहरु बताउँछन्।

प्रदेशमै छैन आवश्यक जनशक्ति र उपकरण
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २८ लाख बढी जनसंख्या रहेको २०६८ सालको जनगणनामा उल्लेख छ। प्रदेशमा कोरोनाको संक्रमण फैलिए आवश्यक भेन्टिलेटर र आइसियू यहाँस्थित सरकारी तथा नीजि अस्पतालमा छैनन्। सुदूरपश्चिममा सरकारी र निजी अस्पतालमा गरी २५ बेड आइसियू र १० वटा भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशको महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र माया मेट्रोमा पाँच–पाँच तथा निसर्गमा ६ बेडको आइसियू छन् । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटर रहेको मेडिकल अधिकृत  भुषण मिश्रले जानकारी दिए । उनले बाँकी ६ वटा भेन्टिलेटर निजी अस्पतालमा रहेका बताए ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले प्रदेशमा २५ वटा आइसियू र १० वटा भेन्टिलेटर हात्तीको मुखमा जिराजस्तै भएको बताए । ‘अहिले नै उपकरण र जनशक्तिको न्यूनतम तयारी नगरे संक्रमण फैलिएको अवस्थामा हुने परिस्थितिको कल्पना पनि गर्न सकिन्न,’ उनले भने, ‘तर पूर्वतयारी नै भएको देखिँदैन ।’

प्रदेशमा चिकित्सकीय जनशक्ति र औषधिउपकरण तथा सामग्रीको पनि अभाव छ । प्रदेशमा उपचारमा खटिने कन्सल्ट्यान्ट फिजिसियन, क्रिटिकल केयर फिजिसियनको संख्या प्रदेशभरिका सरकारी अस्पतालमा ९ मात्र छ । यस्तै, मेडिकल अफिसर ५९ जना, स्टाफ नर्स एक सय ५२ जना, अनमि ८७ जना र ल्याब टेक्नेसियन ५३ जना रहेका मेडिकल अधिकृत मिश्रले जानकारी दिए ।

प्रदेशको महाकाली अस्पतालमा ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्नेमा नवौं तहका स्त्रीरोग विशेषज्ञ डा. हरि श्रेष्ठले निमित्त चलाइरहेका छन् । प्रदेशभित्र सञ्चालित १४ सरकारी अस्पतालमा जम्मा एक सय ३४ जनाको दरबन्दी छ । तर, पदपूर्ति ४१ मात्रै छ । स्थानीय तह र अन्य निकायहरुले वैकल्पिक स्रोतको व्यवस्था गरी ५८ चिकित्सक करारमा राखेका छन् । प्रदेशभित्रका सरकारी अस्पतालहरुमा एक सय २९ स्टाफ नर्सको दरबन्दी छ । तर, ४१ प्रतिशत रिक्त छन् । करारमा ४९ जना स्टाफ नर्स भर्ना गरिएको छ ।

कोरोना उपचार अस्पताल छुट्टै हुनुपर्छ : चिकित्सक
कोरोना अस्पताल बनाउने निर्णयसंगै सुदूरपश्चिमका हरेक  जिल्लाका संक्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा हुन थालेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरु सन्त्रासमा छन्।

उनीहरुले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउदा अन्य बिरामी र स्वास्थ्यकर्मीहरु अत्यन्त जोखिममा पर्ने भएकोले कोरोना बिरामीहरुको उपचार अन्यत्र गर्न आग्रह गरेका छन् । सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितहरुको उपचारको लागि छुट्टै संरचना र स्थान तोकिने पर्ने प्रतिक्रिया दिइरहेका छन्।

सेती अस्पतालका चिकित्सक डाक्टर जगदिश जोशीले भने, ‘या त सरकारले कोरोनाको उपचारका लागि अलग्गै अस्पतालको व्यवस्था गर्नुपर्यो होइन भने सेती अस्पतालमा आउने नियमित र आकस्मिक विरामीहरुको उपचारको तुरुन्त विकल्प खोज्नुपर्यो।’

सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी कक्ष इञ्चार्ज सिनियर अहेव कृष्णबहादुर बोहराले आफ्नो फेसबुक वालमा स्टाट्स लेखे, ‘सेती प्रादेशिक अस्पताललाई डेडिकेटेड कोरोना अस्पतालमा रुपान्तरण गरिएको हो भने नियमित र आकस्मिक बिरामीहरुको उपचारको तुरुन्त बिकल्प खोजौं।’

अस्पतालमा कार्यरत प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. प्रतिक्षा सिंह राठौरले आफ्नो फेसबुक वालमा प्रश्न गरेकी छन्, ‘कोरोनाको कहर बीच हामी जुध्यौं। सुदूरपश्चिमको एक मात्र रेफरल सेन्टरको रूपमा रहेको सेती प्रादेशिक अस्पताल जुन अब कोरोना अस्पताल बनाउनुपर्छ भन्नेहरू लाई मेरो प्रश्न– कोरोनाको कहर त छँदैछ तर यी निर्दोष आमाहरूलाई बचाउने जिम्मा कसको?’

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखाका सचिव डा. प्रदीप मिश्रले अन्य बिरामीहरुसंगै संक्रमितहरुको समेत उपचार सुरु गरेपछि सेती प्रादेशिक अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताए ।

‘सेती प्रादेशिक अस्पतालमा जति सुविधा र साधन, स्रोतहरु छन्, त्यो अन्यत्र छैन’, डा, मिश्रले भने, ‘यो सबै स्रोत यहाँ छोडेर अन्य नियमित रुपमा आउने बिरामी, गर्भवती महिलाको उपचार अन्यत्र गर्न संभव छैन । त्यसैले कोरोनाको छुट्टै उपचार केन्द्र हुनुपर्छ ।’

अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचार हुन लागेपछि अन्य बिरामीहरु उपचारका लागि न्यून गइरहेका छन्। धनगढीमै एक नीजि अस्पताल सञ्चालन गरिरहेका सञ्चालकले भने, ‘सेतीमा अन्य बिरामी उपचार गर्न जान मानिरहेका छैनन्। यस्तो बेलामा नीजि अस्पतालहरुले पनि सेवा सहज रुपमा दिइरहेका छैनन्।’

संक्रमितको अवस्था सामान्यः अस्पताल
सेती प्रादेशिक अस्पतालमा उपचाररत चारैजना कोरोना संक्रमित बिरामीको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

गत चैत्र ७ गते दुबइबाट दिल्ली हुँदै काठमाडौ भएर धनगढी आएका धनगढी उपमहानगरपालिका ५ का युवा, उनकी भाउजू र चैत्र ११ गते भारतबाट गौरिफन्टा नाका हुँदै आएका लम्किचुहा नगरपालिका एकजना र चैत्र १४ गते कञ्चनपुरको ब्रम्हदेव नाका हुँदै आएका बेदकोट नगरपालिकाका एकजनाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका फिजिसियन डा शेरबहादुर कमरले जानकारी दिए ।

डाक्टर कमरले सामान्यतया कोरोना भाइरसको लक्षण देखिएको ८÷१० दिनमा बिरामीमा परिवर्तन देखिने गरेकोमा यहाँ उपचाररत चारैजनाको अवस्था भने पहिलेको जस्तै सामान्य रहेको बताए ।

धनगढीका पहिलो कोरोना संक्रमीतको दोस्रो पटकको रिपोर्ट पनि पोजेटिभ देखिएको थियो ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले बाकी ३ जनाको नमुना संकलन गरेर काठमाडौ पठाएको बताउदै रिपोर्ट आइनसकेको बताए ।

सेती अस्पतालमै उपचाररत दुवइबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षिय युवकले भने, ‘कोरोना पोजेटिभ देखिएसँगै सुरुमा चिकित्सकहरु पनि नजिक आउँन डराए । तर, अहिले उनीहरु नियमित मेरो स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक सल्लाह दिइरहेका छन्।’  उनले स्वास्थ्यमा सुधार भइरहेको बताए ।

‘यो सामान्य रोग हो । यसले कमजोर व्यक्तिमा आक्रमण गर्छ । यो रोग लागेपछि खुशी हुनुपर्छ, हाँसिरहनुपर्छ । म त्यस्तै गर्छु’ उनले भने, ‘डाक्टरले भने अनुसार औषधि खाइरहेको छु । केही दिनमै ठिक हुन्छु भन्ने लागेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *