किन गर्नुपर्छ नियमित स्वास्थ्य परीक्षण ?

विशेष समाचार समाचार स्वास्थ्य
डा विकास श्रेष्ठ
काठमाडाैं, २२ चैत

कुनै पनि रोग लाग्नु भन्दा अगाडि समय समयमा गरिने स्वास्थ्य परीक्षणलाई नियमित स्वास्थ्य परीक्षण भनिन्छ। नियमित स्वास्थ्य परीक्षणबाट हामीले रोग लाग्न भन्दा अगाडि स्वास्थ्यमा कुनै जोखिमहरु छन् की कुनै रोगको लक्षण नहुँदा पनि हुने संकेतहरु छन् कि भनेर हेरिन्छ। यदि रोग लागेको देखि हाले पनि समयमा नै उपचार गरि त्यसको जटिलताहरुबाट बच्न सकिन्छ। नियमित स्वास्थ्य परीक्षण वालक जन्मनु भन्दा पहिले गरिएको भिडियो एक्सरेबाट सुरु हुन्छ।

नियमित स्वास्थ्य परीक्षण कस्तो व्यक्तिलाई आवश्यक छ?

जुन व्यक्तिमा कुनैपनि रोगको जोखिम छ त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। जस्तै उदाहरणको लागि मोटोपन भएका व्यक्ति जसले सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन गर्नुहुन्छ भने त्यस्ता व्यक्तिको स्वास्थ्य परीक्षण आवश्यक हुन्छ। यसका अलावा अन्य जुनसुकै उमेर समूहका व्यक्तिले स्वास्थ्य परीक्षण गर्न सकिन्छ।

कुन समूहले कहिले गर्ने?

नियमित स्वास्थ्य परीक्षण हरेक वर्ष गरिन्छ। जसअन्तर्गत सुगर जाँच, प्रेसर परीक्षण, चिल्लोपन (कोलेस्टोर), मुटुको जाँच, किड्नीको जाँच, कलेजोको जाँच आदि पर्दछन्। यस्तै, उमेर समूह अनुसार पनि विभिन्न प्रकृतिका जाँचहरु गर्न सकिन्छ। ५० वर्ष उमेर नाघेका व्यक्तिले हरेक वर्ष पेट र आन्द्राको समस्याको लागि दिशाको जाँच गरिन्छ। महिला समूह अन्तर्गत हरेक दुई देखि तीन वर्षको अन्तरालमा पाठेघर मुखको क्यान्सरको जाँच गर्न सकिन्छ। यसैगरी, ५० वर्ष नाघेका महिलाहरुमा स्तनको क्यान्सरको जाँच अन्तर्गत हरेक दुई वर्षको अन्तरालमा म्यामोग्राम गरिन्छ। ६५ वर्ष नाघेका महिलाहरुमा हडी कत्तिको बलियो छ भनेर वोन मिनिरल डेन्सीटी (वि एम डि) गरिन्छ। बच्चाहरुको स्कुल जानुभन्दा अगाडि (३ वर्षदेखि ५) वर्षको उमेरमा कान, दाँत र आँखाको जाँच गर्नु उपयुक्त हुन्छ।

नेपालमा नियमित स्वास्थ्य परीक्षणको किन महत्व छ?

नेपालमा सरुवा रोगको विगविगी विगतदेखि भइरहेको छ। त्यसमा पनि अहिले आएर जीवनशैली परिवर्तन भएको कारणले गर्दा नेपालमा नसर्ने रोगको भार पनि थपिएको छ। सर्ने रोगभन्दा नसर्ने रोगको जटिलताहरु झन् भयानक हुँदै गएको छ। जसले गर्दा मान्छेको काम गर्ने क्षमतामा कमी आउनका साथसाथै उहाँहरुलाई यो जटिलताको उपचार गर्नका लागि आर्थिक भार थपिँदै जाने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ। युवा जनशक्तिमा नसर्ने रोगको प्रकोप बढ्दै गएमा पछि गएर राष्ट्रलाई नै चुनौती थपिने भएकाले सरकारले सुरुवाती चरणमै यससम्बन्धी सोच्नुपर्ने आवश्यक देखिन्छ। नियमित स्वास्थ्य परीक्षणमा देखिएको भ्रमको अन्त्य गर्नुपर्ने देखिन्छ। नियमित स्वास्थ्यपरीक्षण एकपटक गरेर वर्षौँसम्म ढुक्क हुने अवस्था छैन। यो नियमित रुपमा गर्नुपर्दछ।

नियमित स्वास्थ्यपरीक्षणका फाइदाहरु

नियमित स्वास्थ्य परीक्षण गर्दा व्यक्तिलाई त फाइदा पुग्छ नै अझ बढी फाइदा राज्यलाई हुने गरेको छ। कुनैपनि व्यक्ति स्वस्थ भयो भने देश स्वस्थ्य रहन्छ। स्वस्थ मान्छेले देशमा योगदान गर्न सक्छ। जीवनको गुणस्तर राम्रो र रोग लागे पनि समयमा उपचार हुने भएकाले आर्थिक व्ययभारसमेत कमी हुन्छ।

स्राेतः स्वास्थ्य खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *