एमसीसी सम्झौताविरुद्ध नेमकिपाको सङ्घर्ष चालु,  एमसीसी सम्झौता पारित गर्न देउवा सरकार बनेको पुष्टि

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १७ फागुन

नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताविरूद्ध सङ्घर्षको कार्यक्रमलाई निरन्तरता दिएको छ । आइतबार संसद्बाट शासक दलले जनभावनाविपरीत सम्झौता अनुमोदन गरेपछि त्यसबारे जनतालाई सचेत बनाउन नेमकिपाले अभियान र साम्राज्यवादविरोधी सङ्घर्षलाई जारी गर्ने भएको छ । नेमकिपाले दुई वर्षभन्दा पहिलेदेखि संसद् र सडकमा लगातार एमसीसी सम्झौताविरूद्ध सङ्घर्ष गर्दै आएको छ ।


एमसीसी सम्झौताविरूद्ध सङ्घर्षको क्रममा सोमबार पनि नेमकिपाले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा विरोध सभा गरेको छ ।
भक्तपुरमा आयोजित विरोध सभामा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्न प्रथमतः नेपाली काङ्ग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल दोषी भएको बताउनुभयो ।


भक्तपुरको दत्तात्रयमा आयोजित जनसभामा उहाँले आफू प्रधानमन्त्री बने एमसीसी सम्झौता पारित गर्ने देउवाको सर्त मानेर पुष्पकमल दाहाल र माधव नेपालले पाँचदलीय सत्ता गठबन्धन बनाएको बताउनुभयो ।

उहाँले ‘व्याख्यात्मक टिप्पणी’ लाई नै एमसीसी सम्झौतामा संशोधनको रूपमा परिभाषित गर्नु झूठ र नेपाली जनतालाई झुक्याउने जालझेलमात्र भएको बताउनुभयो । “संरा अमेरिकाले एमसीसी सम्झौतामा कुनै पनि संशोधन नहुने कुरा पटकपटक बताइसकेको छ । त्यसकारण, ‘व्याख्यात्मक टिप्पणी’ अमेरिकाले स्वीकार्ने छैन । त्यो नेपाली जनतालाई झुक्याउने खेलमात्र हो”, सांसद सुवालले प्रस्ट पार्नुभयो ।

उहाँले सुगौली सन्धि गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्याय जसरी देश फर्किन सकेका थिएनन्, एमसीसी सम्झौता गर्ने नेपालका शासक दल र नेताहरू पनि इतिहासमा कलङ्कित हुने बताउनुभयो । प्रम देउवाले एमसीसी सम्झौता बिफल बनाएर महाकाली सन्धि गर्दा लगाएको कलङ्कको टीका मेट्ने मौका गुमाएको चर्चा गर्दै सांसद सुवालले देशभक्त नेपालीले कहिल्यै पनि एमसीसी सम्झौता गर्न नसक्ने बताउनुभयो ।

“अमेरिकी स्वतन्त्रता आन्दोलनको क्रममा बेलायतको समर्थन गर्ने अमेरिकीहरूलाई जसरी देश निकाला गरिएको थियो, एमसीसी सम्झौताजस्तो देशघाती सम्झौताको पक्षमा उभिने नेपालका दल र नेताहरूलाई नेपाली जनताले सजाय गर्नुपर्छ”, सांसद सुवालले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेपाली जनताको विरोधकै कारण शासक दलहरूले चार वर्षअघि नै अनुमोदन गर्न खोजेको एमसीसी सम्झौता अहिलेसम्म पछाडि धकेलिएको बताउनुभयो ।


उहाँले एमसीसी सम्झौतामार्फत भारतीय विस्तारवादले नेपालको विद्युत् आफ्नो नियन्त्रणमा पार्न खोजेको बताउनुभयो ।

“एमसीसी सम्झौता नेपालको लागि मात्र होइन, भारतको लागि पनि घातक हुनसक्छ । राजनीति सधैँ एउटै लयमा अघि बढ्दैन । एमसीसी सम्झौताको आधारमा नेपाली भूमिमा टेकेर संरा अमेरिकाले भारतलाई पनि अप्ठ्यारो अवस्थामा पु¥याउन सक्छ”, काफ्लेले भन्नुभयो ।
उहाँले भारतीय एकाधिकार पुँजीले नेपालसँग क्षमता भएर पनि रासायनिक मल कारखाना स्थापना गर्न नदिएको बताउनुभयो ।

केन्द्रीय सदस्य काफ्लेले भारतीय एकाधिकार पुँजीले नेपालका तराईका जनतालाई पनि नकारात्मक प्रभाव पारिरहेकोले नेपालका सबै जनताले भारतीय एकाधिकार पुँजी र विस्तारवादविरूद्ध सङ्घर्ष जारी राख्नुपर्ने धारणा राख्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले संरा अमेरिकाले नेपालमा जबरजस्ती अनुदान दिएर नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउन खोजेको बताउनुभयो ।


उहाँले एमसीसी सम्झौतामा ढुलमुले नीति लिएर एमालेले पनि आफ्नो देशघाती चरित्र उदाङ्गिएको बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजूले एमसीसी सम्झौता पारित गरेर काङ्ग्रेस, माओवादी र एमाले गाँसेगुसे एकैनासे प्रमाणित भएको बताउनुभयो । उहाँले २५ वर्षअघि देशघाती महाकाली सन्धि पारित गर्ने दलहरू नै मिलेर एमसीसी सम्झौता पारित गरेर अर्को देशघात गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शासक दलले अमेरिकाको दबाबमा एमसीसी सम्झौता अनुमोदन गरे पनि नेपाली जनताले यो देश हितविपरीतको सम्झौता अनुमोदन गरेका छैनन् ।”
सांसद सैंजूले ‘व्याख्यात्मक टिप्पणी’ माओवादी केन्द्र र एकीकृत समाजवादीको लाज छोप्ने टालो भएको चर्चा गर्दै महाकाली सन्धिमा चारबुँदे सङ्कल्प प्रस्तावजस्तै ‘व्याख्यात्मक टिप्पणी’ को पनि कुनै सार्थकता नभएको बताउनुभयो ।


नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय संयोजक प्रकाश गुरूङले संरा अमेरिकाले संसारभर युद्ध र आतङ्क फैलाइरहेको बताउनुभयो । उहाँले एमसीसीविरूद्ध नेमकिपाको आन्दोलनले नेपाली जनतालाई संसारभर साम्राज्यवादी शक्तिले गरेका विध्वंसबारे सचेत बनाएको चर्चा गर्दै साम्राज्यवादविरोधी सङ्घर्षमा नेपाली जनता अझ सक्रिय हुनुपर्ने बताउनुभयो ।


काठमाडौँ, बलम्बु
एमसीसीकै विरोधमा सोमबार बलम्बुदेखि गुर्जुधारासम्म जुलुस गरी विरोध सभा भयो ।
नेमकिपा बलम्बु एकाइ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलहरूले एमसीसीको ‘व्याख्यात्मक परिभाषा’ को नाटक गरेर जनतालाई छक्याई संरा अमेरिकी सरकारको दलाली गरेको बताउनुभयो ।

सत्ता गठबन्धनले एमसीसी संसद्बाट पारित गरे पनि नेमकिपाले सडक र संसदबाट निरन्तर विरोध जारी राख्ने बताउँदै उहाँले विदेशी पुँजीबाट नेपालको हित नहुने स्पष्ट पार्नुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “शासक दलहरूमा सिद्धान्त र व्यवहारमा एकरूपता छैन । नेकपा माओवादीको कारण भारतले नेपालको सार्वभौमिकतामा प्रहार गरिरहेको छ । सत्ता स्वार्थको लागि एमसीसी पारित गरेर शासक दलहरूले फेरि एकपटक देशघात गरेका छन् ।”

संरा अमेरिकी सहयोगले संसारमा कुनै पनि देशको हित नगरेको स्पष्ट पार्दै उहाँले जहाँ जहाँ साम्राज्यवादी अमेरिका पस्छ त्यहाँ त्यहाँ अशान्ति र द्वन्द्व भएको छ भन्नुभयो ।

नेपालको राजनीतिलाई नेमकिपाले दिशा निर्देश गर्दै प्रकाश स्तम्भको भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्दै केन्द्रीय सदस्य प्रजापतिले देशलाई आत्मनिर्भर बनाउनेतर्फ शासक दलहरूको चिन्तन नपुगेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा किरण महर्जन र शान्त महर्जनले पनि बोल्नुभएको थियो ।

कालीकोट
नेमकिपा कालीकोट जिल्ला समितिको आयोजनामा आइतबार देशघाती एमसीसी सम्झौताविरूद्ध विरोध र्‍याली तथा सभा भयो ।

सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले शासक दलहरूले एमसीसी सम्झौतामार्फत देशघात गर्न लागेको बताउनुभयो । उहाँले देशघाती शासकहरूलाई जनताले राम्रोसँग चिन्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले राजनैतिक चेतनाविना गरिने जस्तोसुकै सङ्घर्ष बलिदानमा टुङ्गिने हँुदा हरेक कार्यकर्ता राजनीतिकरूपमा प्रशिक्षित हुन जरूरी छ भन्नुभयो ।


नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीले देशभक्त नागरिक एकजुट भएर लड्नुपर्ने अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कालीकोटका उपाध्यक्ष गोरख शाही र नेमकिपा कालीकोटका सचिव धनन्जय अधिकारीले पनि बोल्नुभएको थियो  ।

काठमाडौँ, तारकेश्वर
नेमकिपा तारकेश्वर नगर समितिको आयोजनामा सोमबार माछापोखरीमा एमसीसी सम्झौताविरुद्ध कोणसभा भयो ।

सभामा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले शेरबहादुर देउवाले पटक–पटक देशघात गरेको र देउवाको नयाँ देशघातमा पुष्पकमल दाहाल र माधव नेपालले पनि साथ दिएको बताउनुभयो ।


उहाँले शासक दलले देश र जनताको हितभन्दा आफ्नो सत्तासुखलाई ध्यान दिँदा एमसीसी सम्झौताले देशको सार्वभौमिकता कमजोर बनाउने बताउनुभयो ।

केन्द्रीय सदस्य कोइरालाले देशभक्त र सचेत नेपाली जनता जागरुक भएपछि साम्राज्यवादका दलाल शासक दलहरू सकिने बताउँदै देश हितविपरीतका सम्झौता जनताको सङ्घर्षले च्यातचुत पार्ने बनाउनुभयो ।

नेपाल क्रान्तिकारी युवा सङ्घका मीनबहादुर बाटाले एमसीसी सम्झौता पारित गरेर काङ्ग्रेस, एमाले, माओवादीलगायतका शासक दल देश र जनताको विरुद्ध भएको पुस्टि हुन्छ भन्नुभयो ।
उहाँले संरा अमेरिकी साम्राज्यवादले संसारभर आफ्नो प्रभुत्व कायम राख्न लोभलालच, युद्ध र हमलाको औजार प्रयोग गर्ने गरेको बताउनुभयो ।

कोणसभामा नेक्रायुसङ्घका धर्मसेन महर्जनले शासक दलले एमसीसी सम्झौता अनुमोदन गरे पनि साम्राज्यवादविरोधी सङ्घष नसकिएको बताउनुभयो । कार्यक्रममा नेक्रायुसङ्घका रामलाल महर्जन, श्रीकुमार महर्जन र श्यामकुमार महर्जनले बोल्नुभएको थियो ।

काभ्रे, बनेपा
एमसीसी सम्झौतामा शासक दलहरूबाट भएको देशघातको विरोधमा बनेपा चारदोबाटो चोकमा सोमबार विरोध सभा भयो ।

सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सांसद सुरेन्द्रराज गोसाईले एमसीसी सम्झौताको चर्चा परिचर्चासँगै नेमकिपाले सडक र सदनमा औपचारिक विरोध गरेको बताउनुभयो ।

२०७६ फागुन १३ गते काठमाडौँ महाराजगन्जस्थित अमेरिकी दूतावासमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नाउँमा अमेरिकी राजदूतमार्फत एमसीसी स्वीकार्य छैन भन्ने उल्लेख गरी पठाएको पत्रको स्मरण सुनाउनुभयो । हिमाल, पहाड, तराईमा पुगेर नेमकिपाले एमसीसी सम्झौता देशघाती भएको र नेपालको हितमा नभएको उहाँले प्रस्ट पार्नुभयो ।


उहाँले भन्नुभयो, “युक्रेनको जस्तो दुर्दशा नेपालले भोग्न नपरोस् । अफगानी जनता शान्ति चाहन्थे तर अमेरिकाले शान्तिसँग बस्न दिएन । नेपालको १५ वर्षको बजेटभन्दा बढी रकम अफगानिस्तानमा खन्यायो । तर, अफगानिस्तानमा शान्ति भएन, विकासको कुरा त धेरै परको भयो । नेमकिपाले काठमाडौँलाई अर्को काबुल बनाउन पाइँदैन भनेर खबरदारी गरेको हो ।”
“अमेरिकाले एमसीसी माध्यम बनायो, ५५ अर्ब रूपैयाँ बहानामात्र हो । कुनै सहयोग र अनुदान होइन । यो सीधै लगानी हो । नेपाल पस्ने बहाना हो । शासक दलहरूले एमसीसी स्वीकारे पनि देशभक्त जनताले स्वीकार नगर्ने र खारेजीको लागि निरन्तर सङ्घर्ष गरिरहनेछ ।” सांसद गोसाईले बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्लाका अध्यक्ष कृष्णकुमार वैद्यले दुई वर्ष अगाडिदेखि एमसीसीका देशघाती सर्तहरू जनतासमक्ष राख्दै काभ्रे जिल्लाका विभिन्न पालिकाहरूमा जुलुस र सभा गरेको बताउनुभयो ।

विरोधसभामा हेमशङ्कर गिरी, दिनेश खड्गी, भोला खरेल, मुना तामाङ, ओमप्रसाद मानन्धरलगायतले बोल्नुभयो ।

लतिलपुर
नेमकिपा ललितपुर जिल्ला समितिको आयोजनामा देशघाती एमसीसीको विरोधमा सोमबार भत्र्सना कार्यक्रम भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाले संसद्मा एमसीसी पेश गरेदेखि देशको १०० भन्दा बढी ठाउँमा एमसीसीको विरोधमा जनतालाई सचेत पार्दै जनताको इमानदारीपूर्वक सेवा गर्ने कर्तव्य निर्वाह गरेको बताउनुभयो ।

महाकाली सन्धि गरेर राष्ट्रघातको कलङ्क पाएको शासक पार्टीले फेरि एमसीसी पारित गरी देश र जनहितले धोका दिएको छ, उहाँले स्पष्ट पार्नुभयो ।


पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले शासक पार्टीहरूले देशलाई अमेरिकी पाउमा चढाउने ठूलो देशघात गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शासक पार्टीहरूले असंलग्न नीतिविपरीत अमेरिकी सैन्य गठबन्धनमा संलग्न भएको एमसीसी ससद्बाट पारित गरी ठूलो भूल गरेका छन् ।

विश्वमा आतङ्कवाद बढ्नुमा संरा अमेरिका मुख्य जिम्मेवार रहेको धारणा राख्दै केन्द्रीय सदस्य चवालले अमेरिका युद्ध निर्यात गरी हातहतियारको व्यापार गर्न चाहन्छ भन्नुभयो ।
कार्यक्रममा खेमराज दाहाल, सविता त्वानाबासु र कवीन्द्र डंगोलले पनि बोल्नुभएको थियो ।

कैलाली
एमसीसी पारित गरेको विरोधमा नेमकिपा कैलालीको आयोजनामा सोमबार विरोध जुलुस तथा सभा भयो ।

मोतिपुरदेखि सुरू भएको जुलुस बस पार्क परिक्रमा गरी लम्कीमा पुगी सभामा परिणत भएको थियो । सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले एमसीसी आईपीएसअन्तर्गत हिन्द–प्रशान्त सैन्य रणनीतिसँग सम्बन्धित रहेको स्पष्ट हुँदाहुँदै संसद्बाट पारित गर्नु देशको असंलग्न नीतिविपरीत रहेको बताउनुभयो ।


सत्ता स्वार्थको लागि अराजनीतिक गठबन्धन देशको लागि घातक हुने स्पष्ट पार्दै उहाँले गठबन्धनमा केन्द्रित शासक पार्टीहरूले देश र जनताको हित नगर्ने स्पष्ट पार्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले एमसीसीको विरोधमा नेमकिपाले निरन्तर आन्दोलन गरिरहने स्पष्ट पार्दै पार्टीको हरेक कार्यक्रममा साथ दिन आग्रह गर्नुभयो ।
एमसीसी पारित गर्ने पार्टीहरूलाई आउने निर्वाचनमा हराई सजाय दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेमकिपा अछामका उपाध्यक्ष ज्योति बडुवालले एमसीसी पारित गर्ने विदेशी दलालहरूलाई एक दिन जनताले सजाय दिनेछन् भन्नुभयो ।

कार्यक्रममा लक्ष्मी पुन, धनबहादुर थापा, सविन पण्डित, गगनबहादुर थापालगायतले एमसीसीको विरोधमा बोल्नुभएको थियो ।

कीर्तिपुर
एमसीसी सम्झौताको विरोधमा सोमबार कीर्तिपुरमा विरोध जुलुस र सभा भयो ।
कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले महाकाली, टनकपुर, कोसी सम्झौता गरेर देशघात गर्ने नेकाले एमसीसी सम्झौता पारित गरेर अर्को देशघात गरेको बताउनुभयो ।

उहाँले ‘व्याख्यात्मक टिप्पणी’ मार्फत सत्ता गठबन्धनले नेपाली जनताबीच भ्रम फैलाउन खोजेको बताउनुभयो ।

उहाँले एमसीसीजस्तो देशको भविष्यमा दीर्घकालीन प्रभाव पार्ने एमसीसीमाथि छलफल हुँदै गर्दा एमालेले देखाएको दोधारे नीतिले देशको अहित गरेको भन्दै एमाले पनि दोषी भएको बताउनुभयो ।


नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजूले संरा अमेरिकाले संसारको जुन भूमि टेक्छ, त्यहीँ हिंसा र अशान्ति फैलिएको चर्चा गर्दै अमेरिकाले संसारलाई नै आफ्नो करेसाबारी ठानेर प्रभुत्ववादी लाद्न खोजेको बताउनुभयो ।

उहाँले नेपालको जलविद्युत्को साँचो भारतको हातमा पार्न एमसीसी सम्झौताले भूमिका खेल्ने बताउँदै कीर्तिपुरका जनता इतिहासदेखि नै साम्राज्यवादको विरोधमा भएकोले अहिले पनि साम्राज्यवादविरुद्ध एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य हृदय दाहालले एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुँदैमा साम्राज्यवादविरोधी सङ्घर्ष नसकिने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका युवराजविक्रम शाही, दीपक अधिकारी र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

रूपन्देही
दलाल शासक दलहरूले देशघाती एमसीसी सम्झौता संसद्बाट पास गरेको विरोधमा नेमकिपा रूपन्देहीले सोमबार गृहमन्त्री बालकृष्ण खाणको गृहनगर तिलोत्तमाको मणिग्राम चोकमा विरोधसभा सम्पन्न गर्यो ।

विरोधसभामा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले एमसीसी सम्झौता खारेज नभएसम्म जनताको आन्दोलन जारी रहने उल्लेख गर्दै अब दलाल पुँजीवादी प्रजातान्त्रिक व्यवस्था ध्वस्त पारी जनताको प्रजातन्त्रको निम्ति सङ्घर्ष अगाडि बढ्छ भन्नुभयो ।


देशको संविधानभन्दा एमसीसी माथि हुन खोजे तीस दिनभित्र सम्झौता खारेज गर्ने भनी गरेको व्याख्यात्मक घोषणाको नाटकले सचेत नेपाली जनतालाई झुक्याउन नसक्ने दाबी गर्दै अध्यक्ष वासीले बिना कुनै कारण तीस दिनभित्र कुनै पनि पक्षले सम्झौता रद्द गर्न र नेपालले अमेरिकी सरकारको नीति उल्लङ्घन गरेमा एमसीसीले कुनै पनि बेला पूरै वा आंशिक सम्झौता रद्द गर्नसक्ने सम्झौताको दफा ६ मा रहेको प्रस्ट पार्नुभयो ।

नेपाल क्रान्तिकारी युवा सङ्घ रूपन्देहीका अध्यक्ष हिमलाल पाण्डेले देशघाती सम्झौता पास गर्ने देशद्रोही सांसदहरूलाई चारभङ्ज्याङबाट मात्र होइन देशको सीमाबाटै लखेट्नेछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका कृष्ण पोखरेलले देशको स्वाधीनता र स्वाभिमानको लागि अनन्तसम्म सङ्घर्ष गर्ने बताउनुभयो ।

काभ्रे, मन्डन देउपुर
नेमकिपा मन्डन देउपुर नगर समितिको आयोजनामा काभ्रेको बालुवापाटीमा सोमबार एमसीसी सम्झौताको विरोधसभा भयो ।

सभामा पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले भन्नुभयो, “व्याख्यात्मक टिप्पणी झूटो हो । अब पनि शासक दलहरूलाई मतदान दिनु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर हुनेछ ।”
गाउँमै विद्यालय र कलेज खोल्नमा बाधा हालेर स्थानीय शासकहरूले भविष्यका देशका कर्णधार बालबालिकालाई भ्रष्ट बनाएकोमा उहाँले भत्र्सना गर्नुभयो ।
उहाँले समाजमा देखिएका विकृतिहरू चिर्नुपर्नेमा जोड दिनुभयो ।

नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका सहसंयोजक सुरेश परियारले एमसीसीले अनुदान दिएका विभिन्न देशहरूबारे चर्चा गर्नुभयो । एमसीसी सहयोग पाएका देशहरूको उदाहरणबाट सो सम्झौता गैरप्रजातान्त्रिक र साम्राज्यवादी भएको पुष्टि हुने उहाँले बताउनुभयो ।


शोषितपीडित जनता नेमकिपामा आबद्ध हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशभक्त नेता कार्यकर्ता रूनुपर्ने देशका जनता कहिल्यै हाँस्न सक्दैनन् ।”

नेक्राविसङ्घ केन्द्रीय सम्मेलन तयारी समितिका सचिव रमेश प्रजापतिले अब हरेक शासक पार्टीका कार्यकर्ताले देशघाती नेताहरूको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा अमेरिकी स्वार्थबारे प्रकाश पार्दै उहाँले भन्नुभयो, “भारत र चीनलाई भिडाएर संरा अमेरिका हतियार बेच्न चाहन्छ र आफू शक्तिशाली बन्न चाहन्छ । यसमा हिजो खाएको अमेरिकी नुनको सोझो गर्न शासक दलका नेताहरूले देशलाई झुकाएर एमसीसी पास गरे ।”
कार्यक्रममा तारा तामाङले पनि बोल्नुभएको थियो ।

स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *