यसपालिकाे सापारू (गाईजात्रा) पर्व औपचारिकतामा सीमित गरिने

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २९ साउन


कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिहरुसहितको बैठकले सापारुको दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको थियो ।
बैठकमा नगर प्रमुख प्रजापतिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण भक्तपुरमा पनि दैनिक रुपमा बढ्दो क्रममा रहेको बताउँदै नेपालमा १० हजार भन्दा बढीले कोभिडबाट ज्यान गुमाइसकेको बताए ।

सामान्य अवस्थामा खपत हुने अक्सिजन पनि कोभिड महामारीबीच चरम अभाव हुँदा धेरैले ज्यान गुमाउनुपरेको यथार्थबारे प्रष्ट पार्दै उनले कोभिडबाट बच्ने उपाय भनेकै कोभिडविरुद्धको खोप लगाउने बताए । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोभिड संक्रमितहरूको लागि सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको सेवा प्रभावकारी भएको बताउँदै विगतमा गाईजात्रामा सांस्कृतिक प्रतियोगिता गर्दै आएकोमा भक्तपुर नगरपालिकाले कोभिड संक्रमण जोखिमका कारण यस पटक पनि औपचारिकतामा सीमित गर्न नगरबासीहरूलाई अनुरोध गर्दै आइरहेको पनि जानकारी दिए ।
बढी भीड जम्मा हुने जात्रा, पर्वहरूले संक्रमण फैलिने खतरा रहने बताउँदै उनले भने — ‘कोभिडलाई हेलचेक्र्याइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ ।’

बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको र हाल ख्वप अस्पताल कोभिड युनिटमार्फत कोभिड संक्रमित तथा अन्य बिरामीहरूको उपचार सेवा प्रभावकारी ढंगले अगाडि बढाइरहेको बताए ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले यहाँका जात्रा, संस्कृति, पर्व र सभ्यता जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए । धर्म, पर्व, संस्कृतिलाई भौतिकवादी दृष्टिकोणबाट व्याख्या गर्नुपर्नेमा जोड दिँदै उनले कोभिड संक्रमणको दर उच्च रहेको हुँदा गत वर्ष जस्तै यस पटक पनि गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न आग्रह गरे ।

बैठकमा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समूहका प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाई र क्लोरिन छर्कनुपर्ने, भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत पार्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयम्सेवकहरू परिचालन गर्नुपर्नेलगायतका राय—सुझावहरू प्रस्तुत गरेका थिए ।

बैठकमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोलेको थियो भने प्रत्येक वडाबाट बढीमा ५ वटा सांस्कृतिक समूहका प्रतिनिधिहरुलाई बैठकमा आमन्त्रित गरिएको थियो ।

गाईजात्राबारे भक्तपुर नगरपालिकाले गरेको निर्णयः

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण भक्तपुरमा पनि दैनिक रुपमा बढ्दो क्रममा रहेको र काठमाडौं उपत्यकामा यही २०७८ भदौ ८ गते राति १२ बजेसम्म खुला रुपमा सभा, सम्मेलन, जात्रा, भोजभतेर गर्न जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञासमेत जारी गरिएको अवस्थामा यस वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्वलाई सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न नगराउन मृतकको स्मरणमा लगिने ताहा साँ परिक्रमाको क्रममा बढीमा २० जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलःलगायत सबैमा अनुरोध गर्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *