भक्तपुरमा विदेशी पर्यटकको घुइचाे

कला/साहित्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २९ साउन

कोरोनाकालमा प्रभावित भएको भक्तपुर नगरको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । आर्थिक वर्ष २०७९।८० मा बाह्य पर्यटक ह्यात्तै बढेका छन् ।

गत आर्थिक वर्षमा १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूले भक्तपुरका ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको अवलोकन गरेका भक्तपुर नगरपालिकाले जनाएको छ । त्यसमध्ये ८६ हजार ३ सय ३४ जना गैर सार्कराष्ट्रका रहेका छन् भने ८१ हजार ३ सय १८ जना (सार्क राष्ट्र र छिमेकी चीनका पर्यटकहरू मात्र रहेका छन् ।

उनीहरुको आगमनले पर्यटन शुल्कबाट मात्र भक्तपुर नगरपालिकाले १८ करोड ४० लाख भन्दा बढी रुपैयाँ संकलन गर्न सफल भएको छ । जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ ।

आर्थिक वर्ष २०७८।७९ को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा जम्मा ५३ हजार ५६० जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । जसमा आ.व. २०७८/७९ मा गैर सार्क २२ हजार ८७ जना र सार्क राष्ट्र र चीनका ३१ हजार ४७३ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ । आ.व. २०७८/७९ मा ४ करोड ८९ लाख भन्दा बढी पर्यटन शुल्क उठेको थियो । जसमा गैरसार्क पर्यटकबाट ३ करोड २७ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट १ करोड ५७ लाख ३६ हजार ५०० रुपैयाँ पर्यटन शुल्क उठेको थियो ।

आ.व.२०७८/७९ को तुलनामा यस आ.व. २०७९/८० मा १ लाख १४ हजार ९२ जना पर्यटकहरुको संख्या वृद्धि भएको हो । जसअन्तर्गत गैरसार्कमा ६४ हजार २४७ जना र सार्क र चीनका ४९ हजार ८४५ जना पर्यटकहरु रहेका छन् । त्यस्तै आ.व.२०७८/७९ को तुलनामा यस आ.व. २०७९/८० मा रु. १३ करोड ३१ लाख ३६ हजार ४ सयले पर्यटन शुल्कबाट नपाको आय वृद्धि भएको नगरपालिकाका कर अधिकृत प्रभाष चालिसेले प्रष्ट पारेका छन् ।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रति पर्यटक ने.रु. १५०० लाई रु. १८०० कायम गरी शुल्क संकलन गर्दै आएको हो । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरुलाई रु. ५००।– शुल्क संकलन गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर प्रवेश गर्ने पर्यटकहरुले तिर्ने पर्यटन सेवा शुल्क नगरपालिकाको मुख्य आयस्रोत भएको बताउदै यसलाई भक्तपुरको सम्पदाहरू संरक्षणमा खर्च गर्ने गरिएको जानकारी गराए । शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूतआवश्यकता पूरा गर्न पनि पर्यटन शुल्कको आम्दानीले सहयोग पुग्ने गरेको नगर प्रमुख प्रजापतिले प्रष्ट पारेका छन् ।

हाल दैनिक औसतमा ४ देखि ५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ । भक्तपुरमा पर्यटकहरूको आगमनसँगै भक्तपुरका स्थानीयहरु पनि खुशी छन् र भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढेको अवस्था छ ।

भक्तपुर नगरपालिकालेले पर्यटकहरुलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सुचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रुपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामको लागि बस्ने सुविधाको व्यवस्था गर्दै सोही केन्द्रका कर्मचारी मुरज दिदियाले बताए । हाल भक्तपुर नपाको पर्यटक सूचना तथा सेवा केन्द्रमा ३६ जना कर्मचारीहरु कार्यरत रहेको र भक्तपुर नपाले स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय टुरिष्ट गाईडहरुलाई आवश्यक तालिम दिई व्यवस्थापन गर्दै आइरहेको छ ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ३४ वटा भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न गरिसकेको छ भने दर्जनौं सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य चालु छ ।

समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरूलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरूसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको छ । भक्तपुर नपाले हालै भक्तपुर भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्राको सुरुवात गरेको छ भने हरेक वर्ष विश्व पर्यटन दिवस, विश्व सम्पदा दिवस, टुरिष्ट गाईड दिवसजस्ता नियमित दिवसहरु मनाउँदै आएको छ । भक्तपुरको कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण गर्ने समूहहरुलाई आर्थिक सहयोग र सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । भक्तपुर नपाले सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रयास समेत गरिरहेको छ ।

पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हारी प्रदर्शनी, प्रगतिशील भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गर्यो । साथै नयाँ आर्थिक वर्षमा पनि यस्ता गतिविधिलाई चालु राख्दै नयाँनयाँ कार्यक्रमहरु थपिदै लाने नगरपालिकाको योजना रहेको सूचना अधिकारी दामोदर सुवालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *