भक्तपुर नपाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ असार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।
सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले जनपक्षीय कार्य गरेमा जनताले साथ दिने उल्लेख गर्दै काम गर्दा भएका कमी कमजोरीहरुलाई सच्याई ५ वर्षे कार्यकालको अन्तिम वर्षलाई अझ जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने बताए ।
नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै नगर प्रमुख प्रजापतिले सभाबाट आएका सुझावहरु सकारात्मक रहेको र धेरैजसो सुझावहरु वडा बजेट, समितिगत बजेटमा समेटिने तथा केही ठूला योजनाहरु आ.व. २०७८/७९ को बजेटमा समेटिने स्पष्ट पारे ।
वर्तमान राजनीतिक घटनाक्रमबारे बताउँदै उनले सरकार कमजोर भएको अवस्थामा देशमा अराजकता र अस्थिरता बढ्ने सम्भावना भएको बताए ।


नीति तथा कार्यक्रममाथि छलफलमा सभासद्हरु पूर्णगोपाल राजचलले पराम्परागत धानको बीउको सट्टा प्रयोगमा रहेको चाइनिज धानको गुणस्तर परीक्षण गर्नुपर्ने, सभासद् हरिरत्न गोर्खालीले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्नुपर्ने र सभासद् जितेन्द्र मुनंकर्मीले ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा विकास गरिनुपर्ने सुझाव दिए ।
त्यस्तै सभासद् रन्जना त्वातीले नगरको विभिन्न स्थानमा खानेपानीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए भने हेरा ख्याजुले भनपामा भेटेरेनरी र कृषि शाखा स्थापना गर्नुपर्ने सुझाव दिए ।
सभासद् शिवप्रसाद बालाले ख्वप अस्पतालमा अपरेसन थिएटरको व्यवस्था गरिनुपर्ने र सभासद् श्यामसुन्दर मातांले नगरकोट सडक अन्तर्गत हाकुफोहीटीको पश्चिममा सडक बत्ती नबलेको हुँदा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
अर्का सभासद् सिद्धिराम अवालले एक विद्यालय एक सांस्कृतिक एक सांस्कृतिक केन्द्र सरसफाई कार्यक्रम सञ्चालन गर्नुपर्ने राय व्यक्त गरे । सभासद् राजेन्द्र माकले व्यावसायिक कृषकहरु पहिचान गरी कृषिमा सहुलियत दरमा ऋण वितरण गर्नुपर्ने, सभासद् बलराम न्हिसुतुले भनपाद्वारा सञ्चालित खेलकुद प्रशिक्षणलाई कायम गर्दै नया“ नया“ खेलकुदको प्रशिक्षण दिनुपर्नेमा आप्mनो धारणा राखेका थिए ।


सभासद् सूर्यप्रसाद श्रेष्ठले ईशानेश्वर मन्दिर पुनःनिर्माणको लागि बजेट व्यवस्था गर्नुपर्ने, सभासद् इन्द्रबहादुर प्याथले सरकारलाई ख्वप विश्वविद्यालय स्थापनाको लागि दबाब दिनुपर्ने र नगरभित्र सुलभ पसलको व्यवस्था गर्नुपर्ने सुझाव दिए भने सभासद् गोविन्द दुवालले नगरपालिकाले कृषि विज्ञहरु तयार गर्नुपर्नेलगायतका सुझाव राखेका थिए ।
नगरसभाको अर्को बैठक असार १० गते बिहीबार दिनको २ः३० बजे बस्ने गरी बैठक स्थगित भयो भने सो बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *