नेता बिजुक्छेँद्वारा गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २१ फागुन


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. ७ स्थित गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन गरे । शनिबार आयोजित एक समारोहबीच नेता बिजुक्छेँले गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन गर्दै शिलापत्र अनावरण पनि गरेको छ । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हावी भइरहेको बताउँदै देश विकासको नाममा माग्ने प्रवृत्ति विकास हुँदा देशको सार्वभौमिकता नै खतरामा पर्दै गइरहेको बताए ।

भक्तपुर नगरपालिकाले आफ्नै स्रोत र साधनको उपयोग गर्दै विकास निर्माणका गतिविधिहरु सञ्चालन गरी देशकै उदाहरणीय नगरपालिकाको रुपमा आफ्नो परिचय कायम गरेको बताउँदै अध्यक्ष बिजुक्छेँले सम्पदा संरक्षण तथा विकास निर्माणमा भक्तपुर नगरपालिकाले गरेको पारदर्शी काम उल्लेखनीय भएको बताए ।

भक्तपुरका जनप्रतिनिधिको सक्रियता र इमानदारिताले गर्दा भक्तपुर आज देशकै नमुना नगरको रुपमा विकसित भएको उनको ठहर छ ।
भक्तपुर नपाले नगरबासीहरुको हितको निम्ति नयाँ नयाँ नीतिहरु बनाउँदै लानुपर्ने बताउँदै उनले सडक छेउका फुटपाथ बनाउने र व्यवस्थापन गर्ने, ठाउँठाउँमा सवारी पार्किङको व्यवस्था गर्नेलगायतका कामहरुलाई प्राथमिकतामा राखेर अगाडि बढनुपर्ने विचार व्यक्त गरे ।

ठेकेदारहरुको काम विश्वसनीय नहुने बताउँदै उनले ठेकेदारहरुले कमसल निर्माण गर्दै देशको अरबौं रकम लुटिरहेको अध्यक्ष बिजुक्छेँले प्रष्ट पारे ।
जनतालाई झुक्याउन एमाले र माओवादीले आफ्नो पार्टीको नाममा कम्युनिष्ट राखेको उल्लेख गर्दै नेता बिजुक्छेँले प्रमुख शासक दलहरुका देशघाती गतिविधिका कारण देश चौतर्फी ढंगले समस्यामा पर्दै गइरहेको बताए ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्परा भएको बताउँदै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको बताए । नगरपालिकाको अगुवाई र स्थानीय जनताको सहभागितामा निर्मित भक्तपुरकै ठूलो गय् भिंद्यो पुल निर्माणबाट स्थानीय जनताहरुको आवागमनमा समेत सहज भएको र पुल निर्माणसँगै यस ठाउँको आकर्षण बढेको छ, प्रमुख प्रजापतिले औंल्याए ।

देशघाती एमसीसीको प्रसंग जोड्दै उनले जनता राजनैतिक रुपमा सचेत नभए देश नै नरहने खतरा हुने उल्लेख गर्दै शासक दलले सत्ताको लोभमा गरेका देशघाती कामको सचेत जनताले विरोध गर्नुपर्ने धारणा उनले राखे । सम्पदा जीर्णोद्धार तथा पुनःनिर्माणको जिम्मा ठेकेदारहरुलाई दिनु सम्पदा विनास गर्नुसरह भएको बताउँदै उनले ठेकेदारहरुले देशका धेरै संरचनाहरु अलपत्र छाडेर राज्यको अरबौं रुपैयाँ लुटिरहेको प्रष्ट पारे ।

त्यस्तै भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खोला पुनःनिर्माणमा निकै चुनौतीहरु सामना गर्नुपरेको स्मरण गर्दै पुल निर्माणमा अथक रुपमा सहयोगी भूमिका निर्वाह गर्नुहुने उपभोक्ता समिति, अनुगमन समिति र प्राविधिक समूहलाई धन्यवाद ज्ञापन गरे । वडाबाट सञ्चालित विकास निर्माणका बारेमा अवगत गराउँदै वडाध्यक्ष कवांले ७ वडामा खानेपानी व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको र वडाले खानेपानी समस्या समाधान गर्न ठाउँ ठाउँमा डीप बोरिङ र ट्याड्ढकी निर्माण गरी खानेपानी लाइन विस्तारलाई जोड दिइँदै आइरहेको बताए ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर नपा वडा नं. ५ र ७ वडा जोड्ने गय् भिंद्यो पुल निर्माणले आवातजावतमा सहज बनाएको बताउँदै नगरभित्र प्रवेश गर्ने भारी सवारीसाधनमा रोक लगाउनुपर्ने धारणा राखे । आदर्श आजाद माविका प्रअ तथा पूर्व वडाध्यक्ष श्रीकृष्ण किसीले पुल निर्माणमा स्थानीय जनताको सहयोग र योगदानको उच्च मूल्यांकन गर्दै पुल निर्माणसँगै स्थानीय जनता निकै लाभान्वित भएको बताए ।

गय् भिंद्यो हनुमन्त्ते खोला पुल उद्घाटन उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद कवांले पाँच चरणमा उपभोक्ता समितिबाट निर्मित पुल निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भक्तपुर नपाको रु. ३ करोड २ लाख ४४ हजार ९६४।१२ र बागमती प्रदेशबाट रु. १ करोड आर्थिक सहयोगमा निर्मित उक्त पुलको कूल खर्च रु. ४ करोड २ लाख ४४ हजार ९६४।१२ रहेको अवगत गराए ।

कार्यक्रममा नेमकिपा ७ वडा गोल्मढीका इन्चार्ज बलराम गोसाइँले धन्यवाद ज्ञापन गरेको थियो भने उपभोक्ता समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद ढुकुछुले स्वागत मन्तव्य राखेको थियो । सोही अवसरमा प्रमुख अतिथि बिजुक्छेँले गय् भिंद्यो पुल निर्माण उपभोक्ता समिति, अनुगमन समितिका पदाधिकारीहरुलाई प्रशंसा पत्र प्रदान गरे । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छेँ (रोहित)ले गय् भिंद्यो पुल २०७५ असार २ गते शिलान्यास गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *