एसईईको मूल्यांकन गत वर्ष भन्दा फरक हुने, नयाँ कार्यविधि बनाइँदै

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट

काठमाडाैं, २५ जेठ

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ ।

यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

उनले भने ‘कार्यविधिको ड्राफ्ट तयार भइरहेको छ । यो महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिन्छौं ।’

गतवर्ष एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो ।

सोही कार्यविधि अनुसार विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी विद्यार्थीको मूल्यांकन गरिएको थियो ।

समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी परीक्षाफल प्रकाशित गरेको थियो ।

यस वर्षको मूल्यांकन विधि गत वर्षकोभन्दा फरक हुने अध्यक्ष पौडेलले बताए । के-के फरक हुन्छ भन्ने नखुलाएका उनले भने, ‘गत सालको भन्दा अलि-अलि फरक हुन्छ ।’

कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएपछि जेठ १३ गतेबाट तय भएको एसईई परीक्षा स्थगित भएको थियो ।

आन्तरिक मूल्यांकन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेपछि बोर्डले मूल्यांकन कार्यविधि तयार गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *