जोर्डनविरुद्ध नेपालको विगतलाई नियाल्दा

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाै, २३ जेठ

सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपका लागि छनोट हुने संघारमा पुगेको जोर्डन अन्तिममा प्लेअफमा उरुग्वेसँग पराजित हुँदै विश्वकप पुग्नबाट वञ्चित भएको थियो ।

त्यही विश्वकपको लागि दुई लेगको छनोटमा नेपालले जोर्डनसँग खेलेको थियो । जहाँ नेपाल जोर्डनसँग समग्रमा १०–१ गोलले पराजित भएको थियो ।

त्यो खेल नेपालको लागि बिर्सनलायक नै थियो । तर दोस्रो लेगमा नेपालले गरेको प्रदर्शनका कारण त्यो खेल याद आइरहन्छ ।

२०११ जुलाईमा जोर्डनमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो तर त्यसको एक साता नबित्दै नेपालले घरेलु मैदानमा जोर्डनलाई १–१ को बराबरीमा रोकिदियो । जोर्डन त्यो बेला साँच्चिकै बलियो थियो भन्ने प्लेअफ यात्राले पनि प्रष्ट पार्छ ।

त्यही जोर्डनसँग नेपालले फेरि एक पटक खेल्दैछ । फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी मा रहेको नेपालले सोमबार जोर्डनसँग खेल्दैछ ।

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि शुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह बी का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ । नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ ।

जोर्डन विरुद्ध पनि जितकै लक्ष्यका साथ मैदान उत्रिने नेपालका कुवेती प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आइतबार प्रिम्याच कन्फ्रेन्समा बताएका छन् ।

नेपालले विश्वकप छनोटमै यसअघि जोर्डनसँग उसैको मैदानमा खेल्दा ३–० ले पराजित भएको थियो । ५५ मिनेटसम्म जोर्डनलाई बराबरीमा रोके पनि त्यसपछि नेपालले पेनाल्टीमा गोल खायो र अन्तिम १२ मिनेटमा थप दुई गोल व्यहोरेको थियो ।

जोर्डन फिफा वरीयतामा नेपालभन्दा ७६ स्थान माथि छ । त्यसैले जोर्डन नेपालभन्दा बलियो टोलीको रुपमा रहेको छ । जोर्डन ९५औं र नेपाल १७१औं स्थानमा छ ।

नेपालले जोर्डनलाई पराजित गर्न सके यसअघिको हारको बदला मिल्नेछ भने एसिया कप छनोटका लागि अर्को चरणमा पुग्ने बाटो समेत केही सहज बन्न सक्छ । एसिया कपको अन्तिम चरणको छनोटमा सिधै पुग्न नेपालले जोर्डनलाई हराउनै पर्ने हुन्छ । अन्यथा नेपालले अन्तिम चरणको छनोटमा पुग्न पनि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

जोर्डन ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंकसहित नेपाल चौथो स्थानमा छ । नेपालले अन्तिम स्थानको चाइनिज ताइपेईलाई दुई पटक पराजित गरेको थियो ।

तर उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि हरेक समूहको चौथो र पाँचौ स्थानमा हुने टिमको नतिजा गणना हुने छैन । त्यसैले पनि नेपाललाई जोर्डन विरुद्ध अंक जोड्नुपर्ने आवश्यकता छ ।

जोर्डनसँग हेड टु हेड

जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । जसमा दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

सन् २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा अर्को खेल बराबरीमा सकिएको थियो । २०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो ।

तर त्यसको पाँच दिनपछि भरत खवासको गोलमा दशरथ रंगशालमा नेपालले जोर्डनसँग १–१ को बराबरी खेलेको थियो । त्यो दुवै खेलमा पूरै समय खेलेका गोलकिपर किरण चेम्जोङ मात्र अहिले नेपाली टिममा छन् ।

२०२२ को विश्वकप छनोट अन्तर्गत जोर्डनको मानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो । त्यो खेलमा नेपाली टिममा रहेका ११ खेलाडी अहिले पनि नेपाली टिममा छन् ।

नेपाल भर्सेस जोर्डन

खेल : ३

जोर्डन जित : २

नेपाल जित : ०

बराबरी : १

विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित

विश्वकप छनोट २०१९ अक्टोबर : नेपाल ३–० ले पराजित

विश्वकप छनोट २०२१ जुलाई : १–१ को बराबरी

गोलकर्ता : भरत खवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *