धरान, २५ फागुन
पर्यटन प्रवर्धनका लागि प्रदेश १ मै पहिलो पटक धरानको भेडेटारबाट देवीथानसम्म व्यावसायिक रुपमा जीपलाइन संचालनमा आएको छ ।
साहसिक खेल मध्येको जीपलाइनको शनिवार एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले जीपलाइनले प्रदेश १ को मात्रै नभएर समग्र पर्यटन क्षेत्रमा टेवा पुर्याउने बताए । कार्यक्रममा मुख्यमन्त्री राईले एक नम्वर प्रदेश सरकारको साहसिक खेलमा पर्यटन प्रवर्धन गर्ने लक्ष्यलाई निजी कम्पनीहरुले पूरा गरिदिएको बताए । साहसिक खेलको माध्यमबाट प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएर अघि बढिरहेको बेलामा निजी कम्पनीहरुले धमाधम साहसिक खेलको क्षेत्रमा लगानी गरी अघि बढेकोले यसले सरकारको लक्षमा साथ दिएको मुख्यमन्त्री राईले बताए । उनले प्रदेशमा पर्यटन उद्योगको क्षेत्रमा प्रदेशमै नयाँ साहसिक पर्यटन भित्रिएको भन्दै खुशी पनि व्यक्त गरे ।
भेडेटारको प्रवेशद्वारबाट टेकअफ गरेर धरान–४ देवीथानमा ल्याण्डिङ प्वाइन्ट राखिएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, साँघुरीगढी गाउँपालिकाका प्रमुख कुमारजंग याक्खा, होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान–४ का वडाध्यक्ष मानबहादुर राई लगायतले साहसिक पर्यटनमा अर्को इँटा थपिएको बताए । यसले भेडेटार र धरानको आर्थिक समृद्धिमा टेवा पुग्ने उनीहरूको भनाइ थियो ।
जीपलाइनको आकर्षण थपिएसँगै यसको मज्जा लिने पनि बढ्दै गएका छन् । पर्यटन प्रवर्धनका लागि सुरु गरिएको जीपलाइन अर्थात् डोरीमा झुण्डिएर खेलिने खेलले भेडेटार–धरानमा रौनक बढाउने निश्चित रहेको वल्र्डवाइड प्रालिका केदारबहादुर थापाले जानकारी दिए । प्याराग्लाइडिङ पछि यो साहसिक खेल भित्रिएको हो । यो बञ्जीजस्तै साहसिक खेल हो ।
सञ्चालनमा आएको ‘जीप लाइन’ मा तीन प्रकारका साहसिक खेल रहेका छन् । कम्पनीले एकजना मात्र खेल्न मिल्ने गरी क्लासिक जीपलाइन, दुईजना अर्थात् प्रेमजोडी एकैपटक खेल्न मिल्ने गरी कपल जीपलाइन र सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यान गरी तीन प्रकारको साहसिक खेल सञ्चालनमा ल्याएको छ । पर्यटकहरुको आफ्नै रोजाइ र इच्छाका आधारमा ‘जीप लाइन’ को मज्जा लिन सकिने व्यवस्था भएको प्रालिका सञ्चालक विवश भण्डारी बताउँछन् । अन्य खेलको तुलनामा ‘जीपलाइन’ अर्थात् डोरीमा झुण्डिएर खेलिने यो खेल निकै रोमाञ्चक मध्येको एक हो । यो धरान–भेडेटारको लागि नयाँ प्रोडक्ट नै पनि हो ।
६ सय ५० मिटर लामो जीपलाइनमा करिब ३५ देखि ४५ सेकेण्ड रमाइलो गर्दै मज्जा लिन सकिन्छ । करिब ७ महिना अघिदेखि वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान–४ ले निर्माण सुरु गरेर अहिले सञ्चालनमा ल्याइएको हो । प्रालिका सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवश भण्डारीले भेडेटारमा २ वर्ष देखि अध्ययन गरेर जीपलाइनको सुरूवात गरेका हुन् । करिब ३ करोडको लगानीमा यो सञ्चालन भएको हो ।
त्यस्तै, जोडीले बसेर फ्लाइङ गरे १८ सय, सुपरम्यानको १५ सय र क्लासिकको १२ सय रूपैयाँ मूल्य तोकिएको छ । जीपलाइनमा १० वर्षदेखि ७५ वर्ष उमेरसम्मकाले मज्जा लिन सकिने जनाइएको छ ।