निषेधाज्ञाको असर चितवनका मौरीपालक किसानमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
चितवन, १८ जेठ


देशका अधिकांश जिल्लामा गरिएको निषेधाज्ञा १ महिनाभन्दा बढी कटिसकेको छ । निषेधाज्ञाका कारण अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र ठप्प प्रायः छन् । मानिसहरुको चहलपहल छैन । कोरोना महामारीका कारण सबै क्षेत्र सुनसान र अस्तव्यस्त भइरहेका बेला यसको आंशिक तथा पूर्ण असर कृषि क्षेत्रमा पनि परेको छ । बर्षातको मौसम शुरु भएसंँगै मल, बीउ, बिषादीको अभाव पनि उत्तिकै छ । भने दूध, अण्डा, मासु उत्पादन तथा विक्रीमा पनि यसले असर पार्दै गएको छ । अघिल्लो बर्षदेखि मह उत्पादन ओरोलो हुँदै जांँदा यसपटकको निषेधाज्ञाले मौरीपालक किसानलाई थप चिन्तित बनाएको छ । चरणको अभाव हुँदै जांँदा मह उत्पादनमा ह्रास हुँदै गएको हो ।

‘चरण पनि छैन, उत्पादन पनि छैन, विक्री पनि छैन ।’ भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरीपालक विष्णु भुषाल भन्छन् । यतिबेला वन लगायत स्थानीय बारी तथा खेतहरुमा फूल फुल्ने सिजन नहुंँदा मह उत्पादन पनि हुँदैन । भएका मौरीलाई चिनी चास्नी खुवाएर घारभित्रै पाल्नु पर्छ ।
‘अहिले हाम्रो मौरीका लागि खर्च मात्रै हो, आम्दानी शून्य छ । भएको मह पनि कहांँ लगेर बेच्ने ।’ भूषालले भने । गतसाल देखि निषेधाज्ञाको मार खेपिरहेका मौरीपालक किसान यसबर्ष थप मारमा परेका छन् । ‘के गर्नु चिनीको भाउपनि ह्वात्तै बढ्यो, हामी पनि बांँच्न गाह्रो प¥या बेला ।’ खैरहनी नगरपालिका वडा नम्बर ४ का किसान श्याम गुरुङ्गले भने । विगत केही दिन देखि परेको हावाहुरी, पानीले घारभित्रका मौरी मर्न थालेको र रानो पनि उत्पादन हुन नसकेको उनले बताए ।
जिल्लाका किसानको सबैजसो हविगत उस्तै छ । उनीहरुले कहिले चरण, कहिले विक्री, कहिल्यै मूल्यका कारण सधैजसो नोक्सान बेहोर्दै आएको बताएका छन् । जसका कारण कतिपय किसान विस्थापित हुने क्रम छ त कतिपय किसान विस्थापित भइसकेका छन् भने केही किसान आउने क्रम पनि छ ।

‘महको माग भएर के गर्नु उत्पादननै छैन, चरन पनि छैन । मौरीलाई बचाउन पनि उत्तिकै गाह्रो छ ।’ उनले भने । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न प्रोत्साहन गर्न सरकारले विशेष खालको योजना नल्याउंँदा यस व्यवसायप्रति निराशा बनाएको उनको भनाइ छ । मौरीको विस्तार र महको विक्री मात्रै होइन उत्पादनमा बर्षेनी ह्रास आएको छ । जसका कारण उपभोक्ता कि त विदेशी महँगो मह कित नक्कली मह उपभोग गर्नुपर्ने बाध्यता छ ।

‘मौसममा व्यापक परिवर्तन छ, न मौसममा फूलहरु फुलेका छन्, न त प्रशस्त रुपमा मौरीले चरन गर्न पाएका छन’ मौरी विज्ञ डाक्टर खेमराज न्यौपाने भन्छन्, न त फलफूल र बालीहरुमा प्रशस्त रस नै छ ।’ स्वदेशी उत्पादन र प्रवद्र्धनमा राज्यको नीति तथा आंँखा नपर्ने भएकोले यस व्यवसायमा थप आकर्षण हुन नसकेको उनले बताए । ‘बर्षेनी मौरी गोला विस्तार अनुपात र महकै उत्पादनमा ठूलो ह्रास आएको छ । यो चिन्ताको बिषय हो ।’ उनले भने । मौरीको भूमिका मह मात्र उत्पादन गर्ने नभई परागसेचनको कारण खाद्यान्न बाली उत्पादन पनि ठूलो प्रभाव पार्ने उनको भनाइ छ । केही बर्षदेखि महको उत्पादन घटेपछि यसको माग बढ्न थालेपछि नयांँ किसानहरु यस व्यवसायमा थपिएपनि उत्पादनमा भने कुनै परिवर्तन आएको छैन । ‘मूल्य बढ्यो, माग बढ्यो भनेर नयांँ किसानहरु आउनु भएको छ, मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले भने, तर घारको संख्यामा बृद्धि भएपनि मह उत्पादनमा बृद्धि भएन ।’ उनका अनुसार गतबर्ष भन्दा यसबर्ष ३० प्रतिशतले उत्पादनमा ह्रास आएको छ । विगतका बर्षहरुमा प्रति घार २२ केजी उत्पादन भएपनि हाल प्रतिघार १५ देखि १६ केजी महमात्र उत्पाादन हुने गरेको शर्माले बताए । चितवनमा ३५ हजार मौरीको घार रहेका छन् भने किसानको संख्या ५०० को हाराहारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *