विद्युतीय सामग्रीको भाउ कति घट्ला ?

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १८ जेठ

फाइल तस्वीर
आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सरकारले घरायसी विद्युतीय सामग्रीको भन्सार दरमा छुटको घोषणा गर्‍यो ।

यसअघि बिलासिताको सामानको रुपमा अन्त: शुल्क र ३० प्रतिशतसम्म भन्सार महसुल लगाइएको यी वस्तुमा सरकारले अन्तशुल्क र पाँचदेखि १० प्रशितसम्म भन्सार महसुल घटाएको छ । विद्युतीय उपकरणको प्रयोग बढाएर विद्युत खपत बढाउन सरकारले यस्तो निर्णय लिएको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले दाबी गरेका छन् ।

भन्सार घटेका विद्युतीय सामग्री

सरकारले आर्थिक अध्यादेशमार्फत वासिङ मेसिन र भाँडा माझ्ने डिस वासर, फ्रिज, राइस कुकर, विद्युतीय केट्ली, पानी तताउने जग र किरा मार्ने ट्रयापको भन्सार दर र अन्तशुल्क घटाएको छ ।

यस्तै टोस्टर, इलेक्ट्रोथर्मिक कफी र चिया बनाउने मेसिन, माइक्रोवेब ओभन, हेयर ड्रायरसहित हेयर ड्रेसिङ उपकरणहरु, कोठा तताउने हिटर, इमर्सन हिटर, स्टोरेज हिटिङ रेडियटर र पानी तताउने हिटरको भन्सार दर घटेको छ ।

आइरन, हात सुकाउने उपकरण, फुड ग्रान्डर र मिक्चर्सको भन्सार दर पनि घटेको छ भने इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर एक प्रतिशतमा झारिएको छ ।

कहिलेदेखि लागू हुन्छ घटेको मूल्य

सरकारले भन्सार र अन्तशुल्क घटाएपछि वस्तुको सामान स्वतः पहिले भन्दा सस्तो हुने भन्सार विभागले जनाएको छ । शनिबार बजेट भाषण सकिनेवित्तिकै भन्सार यार्डबाट भन्सार पास नभएका सामानमा नयाँ भन्सार दर लागू हुने विभागका प्रवक्ता एवं निर्देशक शिशिरकुमार घिमिरेले बताए ।

अन्त शुल्क र भन्सार दर गरेर कम्तीमा पाँच देखि १५ प्रतिशतसम्म कर घटेका कारण उपभोक्ताले घरायासी विद्युतीय सामग्रीमा राम्रै छुट पाउने उनको दावी छ ।

कुन वस्तुमा कति मूल्य घट्छ भन्ने यकिन विवरण भने अहिल्यै थाहा नहुने घिमिरेले बताए । ‘एउटै वस्तुको उत्पादन र गुणस्तर अनुसार मूल्य फरक पर्ने भएकाले करको दरका कारण ठ्याक्कै कति मूल्य घट्छ भन्न चाहिँ सकिन्न,’ घिमिरेले भने,‘ ब्यापारीले खरिद मूल्य, ढुवानी खर्च, सरकारलाई तिरेको कर र आफ्नो नाफा राखेर बजार मूल्य निर्धारण गर्ने हो ।’

कति घट्छ मूल्य ?

नेपालमा घरायसी विद्युतीय सामग्रीको कारोबार गर्ने एक कम्पनीका उच्च अधिकारीका अनुसार विद्युतीय उपकरण ६ प्रतिशतसम्म सस्तो हुनेछ । नाम खुलाउन नचाहेका ती अधिकारीकाअनुसार सरकारले अन्त शुल्क र भन्सार दर १० प्रतिशत छुट गर्दा बजार मूल्य ६ प्रतिशत कम हुने उनको दावी छ ।

‘विगतमा भन्सार बढ्दा र घट्दा हामीले यस्तो हिसाब निकाल्थ्यौं त्यो सूत्र अहिले पनि लागू हुन्छ । सरदर अब घट्ने मूल्य त्यही नै हो,’ ती अधिकारीले भने ।

सरकारले भन्सार शुल्क घटाएका सामानको बजार मूल्य स्वाभाविक रुपमै घट्ने नेपालको ठूलो घरायसी विद्युतीय सामग्रीको वितरक सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । नयाँ भन्सार पास भएर आएका सामान सस्तो हुने चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलले बताए ।

‘बजार खुलेपछि सरकारले घोषणा गरेका सामानमा छुट कार्यान्वयनमा आउँछ तर कुन वस्तुमा कति मूल्य छुट हुने भन्ने चाहिँ अध्ययन गरेर मात्रै भन्न सक्छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *