अक्सिजन अभाव कि कृत्रिम अभाव?

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ४ जेठ

वैशाख महिनामा कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिव्र रुपमा फैलियो।

वैशाख महिनामा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन्। तीमध्ये  एक हजार ६०८ जना संक्रमितको अस्पताल, आइसोलेसन, होम आइसोलेसन र उपचारका लागि अस्पताल आउने क्रममा निधन भएको छ। तीमध्ये कति संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएका छन्।

दोस्रो लहरले धेरै संक्रमितलाई गम्भीर बनायो। अधिकांश संक्रमितलाई अक्सिजन चाहिने देखिएको चिकित्सकले बताउँदै  आएका छन्।

यसैबिच गएको एक हप्ता नेपालमा अक्सिजनको चरम अभाव भयो। अक्सिजन अभावमा कति संक्रमितको मृत्यु भयो? यसको तथ्यांक भने स्वास्थ्य मन्त्रालयले खोजि गर्न सकेको छैन। केही अस्पतालहरुले अक्सिजन अभावकै कारण मृत्यु भएकाको संख्या भने पनि हालसम्म अक्सिजन अभावकै कारण कतिको मृत्यु भएको हो भन्ने तथ्यांक भने खोज्न मन्त्रालयले चासो दिएको छैन। यस्तै अक्सिजन चाहिने संक्रमित अस्पतालमा बेड नपाउने अवस्थामा अन्य अस्पतालको खोजी गर्ने क्रममा नै मृत्यु भएका घटना पनि छन्।

राष्ट्रिय मानवअधिकार आयोगले समेत ट्रमा सेन्टर लगायत अस्पतालमा अक्सिजनको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको थियो।

तर, नेपालमा एक्कासी अक्सिजनको अभाव भयो। यो अभाव साँच्चिकै अभाव हो वा कृत्रिम रुपमा गराइएको थियो? केही अभावको खबर बाहिर आउँदा आउँदै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अस्पतालहरुका लागि कोटा सिस्टम लागू गरिदियो।

सिसिएमसीको कोटा सिस्टम लागु हुने बित्तिकै कोभिड अस्पतालहरुमा अक्सिजनको चरम अभाव भयो। जसका कारण कतिपय अस्पतालमा संक्रमितले अक्सिजनको अभावमा ज्यान  गुमाए। अस्पतालहरुले भेन्टिलेटरमा रहेका संक्रमित समेत अन्यत्र सार्नुपर्ने बाध्यता भए। एक सय जना संक्रमितको उपचार गरिरहेको अस्पतालमा जम्मा ५० जना संक्रमितलाई मात्र पुग्ने अक्सिजन दिइएको थियो। यस्तो अवस्थामा केही संक्रमितका आफन्तले आफैं अक्सिजनको व्यवस्था गरे भने केही संक्रमितको मृत्यु हुन पुग्यो। यसको जिम्मा कसले लिने?

राष्ट्रिय ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेलले वैशाख ३० गते सामाजिक सञ्जालमा स्टाटस लेखे, पिडा छ हजुर जीवनमा डाक्टर भएँ! मानव जीवनलाई माया गरेँ। आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!’

उनले ट्रमा सेन्टरमा लागि ल्याउन ठिक्क पारेको अक्सिजन सिलिण्डर पुलिसले बिचबाट लगिदिएपछि अक्सिजनको अभावमा संक्रमितको मृत्यु भएपछि यो स्टाटस लेखेका थिए।

स्वास्थ्य मन्त्रालयले केही दिनको अन्तरमा बजारमा भएका हजारौँ सिलिण्डर गायब भएको जानकारी पाएको छ।

मन्त्रालयका कर्मचारीका अनुसार ती सिलिण्डर गायब भएको भन्दा पनि गायब बनाइएको हो। ‘अक्सिजन अभाव हुन थालेपछि अस्पतालमा कोटा सिस्टम लगाएर बजार भएका सिलिण्डर सुरक्षाकर्मी, ठूला नेता र हुनेखानेका घरमा सिलिण्डर थुपारिएको छ। अनि अस्पतालका बिरामीले कहाँ पाउनु सिलिण्डर?,’ स्वास्थ्य मन्त्रालय स्रोत भन्छ।

डा पौडेलको उक्त स्टाटस पछि धेरैतिरबाट आलोचना भयो। त्यसको असर गृह मन्त्रालयसम्म पुग्यो। एक बैठकमा गृह सचिवले डाक्टरले यस्तो लेख्न नहुने भन्दै गुनासो गरेको बैठकमा उपस्थित एक सहभागीले बताए।

उनले स्रोत नखुलाउन अनुरोध गर्दै भने,‘अहिले त केही बोल्नै हुँदैन। चार तिरबाट ताकेर बस्छन्। गृहसचिवले स्वास्थ्यमन्त्रीलाई उक्त गुनासो गरेपछि मन्त्रीले डाक्टरको पक्ष लिँदै गृहसचिवलाई के गल्ती ग¥यो उसले? तपाईहरुले अक्सिजन लगेको होइन? त्यसो गर्न पाइन्छ भनेर हप्काए।’

पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा बजारमा एक लाख अक्सिजन सिलिण्डर रहेको बताएको थियो।

स्रोत भन्छ, ‘तीमध्ये ६ हजार ४८४ सिलिण्डर अघिल्लो दिन बाँडेको भोलि पल्ट ती सिलिण्डर कहाँ गयो पत्तो भएन। अनि अभाव हुँदैन। घरमा अक्सिजन भरिएका सिलिण्डर थुपारे के हुन्छ। त्यो अस्पतालमा भए बिरामी बाँच्छन् तर  ठूला मान्छेका घरमा थुपारिएका छन्। त्यो पड्कियो भने के होला?

स्वास्थ्य मन्त्रालयसँग अझै पनि कहाँ कति सिलिण्डर छ वा कति गायब छ भन्ने एकीन तथ्यांक भने नभएको बताएको छ।

मन्त्रालयले पहुँचवालाकै घरमा सिलिण्डर लुकाइएको जानकारी पाएपछि सार्वजनिक रुपमा घरमा सिलिण्डर नराख्न सूचना पनि निकाले छ।

‘ठूला व्यक्ति मात्र होइन। हुनेखाने व्यक्तिले समेत ४, ५ वटाका दरले अक्सिजन राखेका छन्। हामी अब मान्छेका घरका अक्सिजन खोज्न जाने कि उपचार गर्ने? अस्पतालकै सिलिण्डर त बिचबाटै गायब बनाइदिएका छ। यस्तो बिडम्बना छ हाम्रो देशको,’ एक सरकारी अस्पतालका चिकित्सकले भने।

अर्को समस्या, सिसिएमसीले कोटा सिस्टम लागु गरिदिएपछि अस्पतालले साविकमा आफूहरुले ल्याउँदै आएको उद्योगबाट अक्सिजन ल्याउन पाएनन्। बिरामीको चाप धेरै तर अक्सिजन आधालाई पनि नपुग्ने दिँदा समस्या भएको हो।

कोटा प्रणालीकै कारण अक्सिजन अभाव भएको निष्कर्ष निकालेपछि सिसिएमसीले कोटा प्रणाली खारेज गर्दै अस्पतालहरुले  साविककै नियमित प्रक्रियाबाट आफूले ल्याउँदै आएको उद्योगबाट अक्सिजन ल्याउन पाउने निर्णय भएको छ। कोटा प्रणाली खारेज भएपछि अस्पतालमा पहिलेजस्तो अक्सिजन अभाव भने भएको छैन।

उक्त निर्णय आउने बित्तिकै अहिले अस्पतालहरुमा अक्सिजन आपूर्ति केही सहज भएको अस्पतालहरुले बताएका छन्।

अक्सिजन उद्योगले अक्सिजन उत्पादनभन्दा पनि सिलिण्डरको समस्या भनेपछि सरकारलाई चीन ओमान लगायतका देशबाट सिलिण्डर सहयोग आएको छ। सम्भवत अब अब अक्सिजनको अभाव नहुने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *