काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था? टिचिङले लिए चिन्ता

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १ जेठ

त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा शुक्रबार साँझसम्म सरकारले कोटामा पठाउने भनेको अक्सिजन सिलिण्डर आइपुगेन। अस्पतालमा अक्सिजन सकिनै  लागिसकेको थियो।

‘अब तत्काल अक्सिजन कहाँबाट कसरी ल्याउने?’ कोरोना व्यवस्थापन समितिमा रहेका चिकित्सक तथा अस्पताल प्रमुखलाई तनाव सुरु भयो।

अस्पतालका निर्देशक, कोभिड फोकल पर्सन, आइसीयू इञ्चार्ज लगाएत अस्पतालका चिकित्सकहरुको आकस्मिक बैठक राखियो।

अक्सिजन व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आकस्मिक बैठक चल्दै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ सूचना भाइबरमा आयो।

‘कोभिड–१९ अस्पतालहरुमा अक्सिजनको आपूर्तिलाई सहजीकरण गर्नुपरे २४ घण्टा खुला रहने ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गर्नुहोला।’

अक्सिजनको अभाव भइरहेको समयमा उक्त म्यासेज पाएपछि बैठकमा सहभागीहरुले केही राहत महसुस गरे। तत्कालै एक चिकित्सकले अक्सिजन सकिन लागेको जानकारी गराउन सोही नम्बरमा फोन गरे।

स्वास्थ्य मन्त्रालयको सो नम्बरमा फोन उठाउने अधिकारीले ‘मिलाउछौं’ भनेर आश्वासन दिए तर, अक्सिजन आएन।

केही समयअघि अक्सिजन पाइन्छ भन्ने आसामा केही हसिँलो भएको उनीहरुको अनुहारमा फेरि निराशा छायो।

तत्काल अक्सिजन नपाए बिरामीको ज्यानै जानसक्छ कसरी व्यवस्थापन गर्ने? मिटिङमा रहेका चिकित्सकहरु गम्भीर छलफलमा जुटे र निष्कर्ष निकाले, ‘अब गृह मन्त्रालयका सचिवलाई सम्पर्क गर्ने।’

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डाक्टर सन्त कुमार दासका अनुसार गृह मन्त्रालयका सचिवसँग सम्पर्क भएपछि केही थान सिलिण्डर अक्सिजन आपूर्ति भयो। यस्तै रातभरीमा ३०० वटा अक्सिजन सिलिण्डर पठाउने प्रतिबद्धता गृह सचिवले गरे।

‘गृह सचिवसँग कुरा गरेपछि ३५ वटा अक्सिजन सिलिण्डर आइपुग्यो, अहिले त्यसैले  काम चलाइरहेका छौं,’ डा दासले भने, ‘रातभरीमा ३०० सिलिण्डर पठाउने भन्नुभएको छ, त्यो आएन भने चाँही भोली बिहानलाई अक्सिजन पुग्दैन।’

सिसिएमसीले हरेक दिन ३०० वटा सिलिण्डर तोकेकोमा दुई दिनमा बल्ततल्ल २५ वटा मात्रै अक्सिजन सिलिण्डर अस्पतालमा आइपुगेको डा दासको भनाइ छ।

आवश्यकता भन्दा कम सिलिण्डर कोटामा परेको र कोटामा परेको पनि पुरा मात्रामा नआएपछि शुक्रबार साँझ अक्सिजन अभावको अवस्था देखिन लागेको उनले जानकारी दिए।

अहिले कोरोना व्यवस्थापन समितिमा रहेका चिकित्सकहरुको समय अक्सिजन व्यवस्थापनमै व्यतित हुने गरेको उनले सुनाए।

‘अहिले त समय पनि अक्सिजन व्यवस्थापनमै गइरहेको छ,’ डा दासले भने, ‘हामीलाई त अक्सिजन कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता मात्र हुन्छ।’

उनका अनुसार टिचिङ अस्पतालमा प्रति मिनेट २ हजार लिटर र मनमोहन कार्डियोभास्कुलर थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरको प्रति मिनेट ५ सय लिटर गरी अस्पतालमा प्रति मिनेट २ हजार ५०० लिटर अक्सिजन उत्पादन हुन्छ।

तर हाल अस्पतालमा उपचाररत बिरामीका लागि प्रति मिनेट ७ हजार लिटर अक्सिजन आवश्यक छ। अस्पतालमा भएको प्लान्टले नधान्ने भएपछि अस्पतालले सिलिण्डरमार्फत अक्सिजन आपूर्ति गर्नुपर्ने हुन्छ।

सिसिएमसीको निर्णय अघि टिचिङ अस्पतालमा हरेक दिन १५० वटा अक्सिजन सिलिण्डर नियमित रुपमा आइरहेको थियो। तर, सरकारले कोटा तोकेपछि दुईदिनमा २५ वटा मात्रै सिलिण्डर आपूर्ति हुँदा अभावको अवस्था आएको डा दासको भनाइ छ।

गृह सचिवले रातभरीमा ३०० अक्सिजन सिलिण्डर पठाउने भनेपनि शुक्रबार राती साढे ९ बजेसम्म अस्पतालमा अक्सिजन आइपुगेको छैन। अक्सिजन अस्पतालमा नआइपुगेसम्म डा दास लगायत अक्सिजन व्यवस्थापनमा खटिएका चिकित्सकहरु ढुक्क भएर बस्न सकेका छैनन्।

‘रातभरीमा अक्सिजन आउँछ कि भन्ने आसा छ, नआएसम्म त मन ढुक्क छैन,’ डा दासले भने, ‘रातभरीलाई पुग्ने त व्यवस्थापन गरिएको छ, राती थप अक्सिजन आएन भने भोलि बिहानबाट फेरि अभाव हुन्छ।’

डा दासका अनुसार अस्पतालमा नयाँ लिक्विड अक्सिजन प्लान्ट पनि जडानको प्रक्रियामा छ।

२० टनको लिक्विड अक्सिजन जडान भएर सञ्चालनमा आएमा अस्पतालमा अक्सिजनको अभाव नहुने उनले बताए।

‘लिक्विड अक्सिजन प्लान्ट जडान गर्न जग बनाइसकेका छौं, जग बलियो बनाउन दुईसाता लाग्ने रहेछ,’ उनले भने, ‘अब एकसातामा सञ्चालनमा आउछ होला, त्यो सुरु भएपछि अक्सिजनको समस्या हुँदैन।’

टिचिङ अस्पतालले सुरेश वाग्ले क्यान्सर सेन्टरको नयाँ भवनमा पनि ४० जना कोरोना संक्रमितलाई राखेर उपचार सुरु गरेको छ।

अस्पतालमा अहिले ३४० जना कोरोना संक्रमित उपचाररत रहेको डा दासको भनाइ छ।

‘हामीले अक्सिजन सपोर्टमा राख्नुपर्ने बिरामीलाई मात्र भर्ना लिएका छौं,’ उनले भने, ‘अक्सिजन आवश्यक नपर्नेलाई डिस्चार्ज गरिहाल्ने र नयाँ बिरामी भर्ना गर्ने गरेका छौं, हिजोमात्र ६६ जना नयाँ बिरामी भर्ना गरेका थियौं।’

उपत्यकाका अन्य सरकारी अस्पतालमा के छ अवस्था?
टिचिङ अस्पतालमा मात्र होइन वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन, सशस्त्र बल र शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालका चिकित्सकहरुले पनि अक्सिजन अभावको समस्या नसुल्झिएको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुसार अस्पतालमा हालसम्म अक्सिजन सप्लाइमा समस्या नभए पनि बिरामीको चाप बढिरहेकाले अक्सिजनको समस्या आउन सक्ने बताए।

उनले भने, ‘हामीसँग अहिलेसम्म अक्सिजन सक्किएर हाहाकार नै त भइसकेको छैन, तर सबै बिरामी हाम्रो अस्पतालमा मात्र आइरहँदा भोलिका दिनमा अभाव नहोला भन्ने सकिन्न।’

डा राजभण्डारीका अनुसार अस्पतालमा हाल १२४ जना कोरोना संक्रमित उपचाररत छन्। ती मध्ये करिब ८० प्रतिशत बिरामीलाई अक्सिजन सापेर्टमा राखिएको छ।

उनीहरुका लागि हरेक मिनेटमा १५ लिटर अक्सिजन खपत भइरहेको छ। अस्पतालमा हाल दैनिक १५० वटा अक्सिजन सिलिण्डर आपूर्ति हुने गरेको छ। अस्पतालसँग आफ्नै लिक्विड अक्सिजन सिलिण्डर पनि छ।

बिहीबार बिहान अक्सिजनको हाहाकार भएको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले करिब ३ दिनलाई पुग्ने लिक्विड अक्सिजन प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले बताए ।

‘हिजो लिक्विड अक्सिजन करिब साढे ७ हजार लिटर आएको छ,’ उनले भने, ‘अब तीन दिनलाई समस्या नहोला।’

उनले अब स्वास्थ्य मन्त्रालयले अक्सिजन व्यवस्थापन गर्ने निर्णय गरेको भन्दै फेरि अक्सिजनको हाहाकारको अवस्था नआउने अपेक्षा गरे।

‘स्वास्थ्य मन्त्रालयले अक्सिजन अभाव भए सम्पर्क गर्नु भनेर आज नयाँ नोटिस निकालेको छ, अबका दिनमा समस्या नआउला भन्ने आसा गरौं,’ उनले सुनाए।

ट्रमा सेन्टरमा १२७ जना कोरोना संक्रमित उपचाररत रहेको डा पौडेलको भनाइ छ।

वीर अस्पतालकी कोभिड आइसीयूमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा अहिले अक्सिजन अभावकै अवस्था छैन।

‘अहिले पनि सप्लाई त कम नै छ, तर, आइसीयूमा भने व्यवस्थापन गरिएको छ,’ उनले भनिन्, ‘अस्ति रातीको जस्तो बिरामीको रुवाबासी नै हुने अवस्था भने छैन।’

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा अक्सिजन अभावको अवस्था नरहेपनि सप्लायर्सबाट अक्सिजन ल्याउन भने सहज नभएको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीण नेपालले जानकारी दिए।

‘हाम्रो अस्पतालमा आवश्यक पर्ने अक्सिजन आपूर्ति भइरहेको छ, हामीसँगै पनि प्लान्ट छ, तर अहिले सप्लायर्सबाट ल्याउन भने समस्या नै छ,’ उनले भने, ‘पहिलाजस्तो एकैपटकमा धेरै ल्याउन पाइदैन, रातभरी लगाएर अलिअलि गर्दै ल्याउनुपर्छ।’

उनले आफ्नो अस्पतालमा समस्या नभएपनि धेरै अस्पतालहरुले अक्सिजन अभावकै कारण बिरामीलाई भर्ना लिनै छाडेको भन्दै चिन्ता व्यक्त गरे।

‘हामीले अहिलेसम्म त व्यवस्थापन गरिरहेका छौं, तर धेरै अस्पतालहरुमा अहिले अक्सिजन अभावकै कारण बिरामीलाई भर्ना नै लिन छाडेका छन्,’ उनले भने।

पाटन अस्पतालमा पनि हाल उपचाररत बिरामीका लागि अक्सिजन अभाव नभएपनि अस्पतालले योजना बनाए अनुसार थप शय्यामा संक्रमितको उपचार गर्न भने अक्सिजन नपुग्ने अवस्था छ।

अस्पतालका निर्देशक डा रवि शाक्यले ३०० बेड कोरोना संक्रमितको लागि छुट्याए पनि अक्सिजन अभाव हुने देखिएर नै २०० बेड मात्र सञ्चालन गरेको जानकारी दिए।

‘अस्पतालमा भएका बिरामीलाई अभाव नै त छैन, कामचलाउन भइराखेको छ, हामीले फुल फेजमा ३०० बेड सञ्चालन गर्ने योजना बनाएका थियौं’, डा शाक्यले भने, ‘तर अक्सिजन नपुग्ने भएर नै अहिले २०० बडेमा मात्र बिरामी छन्।’

उनले सरकारले दैनिक ३०० वटा सिलिण्डर अक्सिजनको कोटा तोकेकोमा २५० वटा मात्र आपूर्ति भइरहेको पनि जानकारी दिए।

अस्पतालको योजना अनुसार ३०० बेडमा नै कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न दैनिक ५०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने डा शाक्यको भनाइ छ।

अस्पतालले आफ्नै अक्सिजन प्लान्ट पनि निर्माण गरिरहेको जानकारी दिए। ‘उक्त प्लान्ट सञ्चालनमा आएमा दैनिक २५० वटा सिलिण्डर भर्न सकिन्छ’, डा शाक्यले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *